यातायात पर्साको सेवा छिटो छरितो भएको दाबी

गढी न्यूज
गढी न्यूज पाठक संख्या - 154
2 मि. पढ्न लाग्ने समय

पर्सा– श्रम तथा यातायात व्यवस्था कार्यालय बीरगंज पर्साले पहिलाको तुलनामा आफ्नो सेवा छिटोछरितो संचालनमा ल्याईएको दाबी गरेको छ ।  सेवा प्रभावकारी बनाउनुका साथै यातायात कार्यालयले बितेको साढे ६ महिनामा पौने एक्कासी करोड राजस्व संकलन गरिएको जानकारी दिएको छ ।

सवारी कर तथा लाईसेन्स करबाट कार्यालयले चालु आर्थिक वर्षको ६ महिना १९ दिनमा ८० करोड ७९ लाख ३९ हजार ८ सय १५ रुपैयाँ राजस्व संकलन गरेको श्रम तथा यातायात व्यवस्था कार्यालय बीरगंजका प्रमुख उमेश रेग्मीले जानकारी दिए ।

यस कार्यालयबाट हुदै आएको काम अन्य जिल्लामा वाडिएपछि पहिलाको तुलनामा पछिल्लो समय कामको चाप घटेको उनले जानकारी दिए ।
‘अहिले जिल्ला जिल्लामा यातायात व्यवस्था कार्यालय खुली सकेका छन,’ उनले भने, ‘त्यस कारण बीरगंज कार्यालयमा सेवाग्राहीको चाप घट्न गएको हो ।’ सेवाग्राही र कामको चाप घटेसंगै राजस्व घट्नु स्वाभाविक भएको उनले बताए ।

एउटा काम गराउन सेवाग्राहीले दुई/तीन दिन कार्यालय धाउनु पर्ने वाध्यता अहिले हटेको र एक दिनमै काम गराएर सेवाग्राही घर फर्किने गरेको उनले जानकारी दिए ।

कार्यालयबाट प्रदान गरिने सवारी नामसारी, सवारी नवीकरण, लाईसेन्स नवीकरण लगायतका काम छिटोछरितो रुपमा हुन थालेको उनले जानकारी दिए ।

अहिले नयाँ लाईसेन्स लिने सेवाग्राहीको संख्या बीरगंज कार्यालयमा बढी रहेको पाईएको उनले जानकारी दिए । लाईसेन्स सेवा पनि अनलाईन मार्फत संचालन भएपछि सेवाग्राहीको भिडभाड कार्यालयमा कम भएको उनले बताए ।

कार्यालयबाट प्रदान हुदै आएको ड्राईभिङ्ग लाईसेन्स सेवा मध्ये सबभन्दा बढी मोटरसाईकल लाईसेन्सको लागी आवेदन बढी पर्ने गरेको यातायात व्यवस्था कार्यालय बीरगंजका राजस्व शाखाका लेखापाल रघुनन्दन साहले जानकारी दिए ।

आर्थिक वर्ष २०८०/८१ को साउन देखी अहिले सम्मको अवधीमा ६ हजार ६ सय ७ वटा मोटरसाईकलको लाईसेन्स जारी भएको उनले जानकारी दिए । यो अवधीमा ६ हजार एक सय ८० जनाले मोटरसाईकलकै लाईसेन्सको लागी नयाँ आवेदन दिएको उनले बताए ।

लाईसेन्स नबोकी सवारी चलाउदा ट्राफिक प्रहरीले चर्को जरिवाना काट्न थालेपछि कार्यालयमा लाईसेन्स लिन आवेदन दिने सेवाग्राहीको संख्या बढेको उनले जानकारी दिए ।

पछिल्लो समय यातायात व्यवस्था कार्यालय बीरगंजबाट प्रभावकारी सेवा प्रदान गर्न थालिएपछि यस कार्यालयमा सेवाग्राहीको आकर्षण बढेको उनको भनाई थियो ।

ट्याग्स : , ,
यो लेख शेयर गर्नुहोस