राजस्व वाडफाड रकम नआउदा विकास निर्माण प्रभावित

गढी न्यूज
गढी न्यूज पाठक संख्या - 2k
4 मि. पढ्न लाग्ने समय

बारा– राजस्व वाडफाडको रकम संघ सरकारले समयमा नपठाउदा पचरौता नगरपालिकाद्वारा संचालित विकास निर्माणका कामहरु प्रभावित भएका छन ।

झन्डै ४० हजार बढी जनसंख्यासंग प्रत्यक्ष सरोकार राख्ने पचरौता नगरपालिका अहिले आर्थिक समस्याले सकसमा परेको छ । छिमेकी देश भारतको बिहार राज्यको सिमानासंग जोडिएको पचरौता नगरपालिका २०७४ सालमा स्थापना भएको हो ।

तत्कालिन पिपरपाती पचरौता, पकडिया चिकनी, बेल्दारी, बेनौली, श्रीनगर बैरिया, अमरपट्टी, बिसुनपुर गाविसको वडा नं. १ र २ तथा कुडवा गाविस मिलाएर बनेको पचरौता नगरपालिका झण्डै ४४ दशमलव ०१ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको छ ।

पचरौता नगरपालिका वडा नं. ७ लाई केन्द्र बनाएर स्थापना भएको उक्त नगरपालिका पुर्णरुपमा विकशित हुन सकेको छैन । नगर क्षेत्रमा आवश्यक पुर्वाधारको अझै कमी नै रहेको छ । विकास उन्मुख तर्फ लम्कीरहेको पचरौता नगरपालिकामा संघ तथा प्रदेश सरकारले उचित बजेट विनियोजन नगर्दा विकास निर्माणका काम प्रभावित भईरहेको छ ।

राजस्व संकलनका आधारहरु अत्यन्तै न्युन रहेको पचरौता नगरपालिकामा आउने राजस्व वाडफाडको रकममा समेत कटौती हुदा अहिले कार्यालय संचालनमा समेत समस्या भएको पचरौता नगरपालिकाका प्रमुख जलन्धर सिंहले गुनासो गरे ।

‘बजेट अभाव भएकै कारण करारका कर्मचारीलाई तलब खुवाउन समस्या भईरहेको छ,’ उनले भने, ‘तलब दिन नसक्ने अवस्था सृजना भएपछि ११ जना कर्मचारीलाई हटाउनु परेको छ ।’ कार्यालयमा कामको चाप बढी भएर कर्मचारीको आवश्यकता हुदाहुदै पनि आर्थिक समस्याका कारण स्वास्थ्य जस्तो संवेदनशील क्षेत्रका कर्मचारीलाई हटाउन वाध्य हुनु परेको उनले बताए ।

नगर क्षेत्रका जनतालाई सेवा दिन सडक, स्वास्थ्य भवन, नाला, विजुली, विद्यालय भवन, कुलो लगायतका संरचना निर्माण गर्नु पर्ने अवस्था छ । तर जनताको माग र चाहना बमोजिमको संरचना निर्माण गर्न बजेट व्यवस्थापन गर्न समस्या भईरहेको उनले बताए ।

बजेट अभाव भईरहेको बेलामा संघ सरकारले पालिकालाई पठाउनु पर्ने राजस्व वाडफाडको रकममा गत वर्ष २ करोड रुपैयाँ कटौती गरेको उनले आरोप लगाए ।

‘गत वर्ष राजस्व वाडफाडको २ करोड रुपैयाँ पठाउदै पठाएन,’ उनले भने, ‘यस वर्ष पनि त्यस्तै हाल छ ।’ सरकारले अहिले सम्म साढे ४ करोड रुपैयाँ राजस्व वाडफाडको रकम पठाउनु पर्ने हो । तर अहिले सम्म २ करोड रुपैयाँ मात्र पठाएको उनले गुनासो गरे ।

संघ सरकारबाट प्रत्येक वर्ष कम्तीमा ९ करोड ३० लाख रुपैयाँ राजस्व वाडफाडको रकम पालिकाले पाउनु पर्ने हो । तर त्यो रकम अहिले पाउन नसकिएको उनले गुनासो गरे ।

‘संघ र प्रदेशबाट छुट्याईएको बजेटकै आधारमा योजना छनौट गरेका थियौं,’ पचरौता नगरपालिका वडा नं. ५ का वडाध्यक्ष लक्ष्मी यादवले भने, ‘पर्याप्त बजेट नै नआएपछि तोकिएको योजना कसरी अगाडी बढाउने ?’ संघ सरकारको लापरवाहीकै कारण स्थानीय सरकार अनिर्णयको बन्दी बनेको उनको भनाई थियो ।

संघ सरकारले पालिकाको लागी छुट्याएको राजस्व वाडफाडको सम्पुर्ण रकम सहित थप योजना पचरौता नगरपालिकालाई उपलब्ध गराउन उनले संघ तथा प्रदेश सरकारसंग आग्रह गरे ।

नगरपालिकाले नगर क्षेत्रका किसान, विद्यार्थी, जेष्ठ नागरिक, सुत्केरी सबैलाई फाईदा हुने गरी योजनाहरु संचालनमा ल्याएको उनले जानकारी दिए ।

बाराको १६ वटै पालिका मध्ये पचरौता नगरपालिका अत्यन्तै न्यून आए भएको नगरपालिकाको सूचीमा रहेको बताईएको छ । यसलाई केन्द्र र प्रदेश दुबैले विशेष ध्यान दिनु पर्नेमा सरोकारवालाले जोड दिएका छन ।

ट्याग्स : , , ,
यो लेख शेयर गर्नुहोस