वडाध्यक्षको विरुद्धमा खनिए पुरैनियावासी

गढी न्यूज
गढी न्यूज पाठक संख्या - 896
2 मि. पढ्न लाग्ने समय

बारा– बाराको फेटा गाउपालिका वडा नम्बर ६ का वडाध्यक्षले व्यापक रुपमा भ्रष्टाचार गरेको आरोप लगाउदै स्थानीय वासिन्दाले सोमवार वडा कार्यालयमा पुगेर विरोध गरेका छन ।

वडाध्यक्ष जाकिर हुसेनले आफ्नो अनुकुलको बजेट पास गराउन २ जना वडा सदस्यहरुलाई झुक्याई बोर्ड बैठकको पुस्तिकामा सही गराएको आरोप पीडितले लगाएका छन ।

वडाध्यक्ष जाकिरले विगत चार वर्ष देखी कमीशन आउने योजनामा बढी रकम विनियोजित गरेको स्थानीयले बताएका छन ।

आर्थिक अनियमितता गर्ने उदेश्यले बैठक भत्ता बुझ्न भनी वडासदस्यहरु कुदरत अन्सारी र तेतर खातुनको सही झुक्याएर बैठक पुस्तिकामा गराएको पीडित वडासदस्यहरुले गुनासो गरेका छन ।

बजेट पास गर्न भनी आफुहरुले बैठक पुस्तिाकामा सही नगरेको पीडित वडा सदस्य कुदरत अन्सारीले जानकारी दिए । ‘आफुहरुलाई अहिले सम्म कुनै बैठकमा सभागी गराईएको छैन,’ उनले भने, ‘बैठक नै नबसेको पुस्तीकामा कसरी हाम्रो सही भयो, हामीलाई आफै थाहा छैन ।’ १५ दिनको बैठक भत्ता उपलब्ध गराउन सचिवले आफुहरुबाट सही गराएका थिए । त्यही बेला आफुहरुलाई जानकारी नै नदिई बजेट पास गरिएको निर्णयमा सही गराएको दाबी वडासदस्य कुदरतले गरे ।

विद्यलयको मुख नै नदेखेका कुदरतलाई पढ्न आउदैन । सही गर्न आफुलाई आफन्तले सिकाई दिएको उनले बताए । सचिवले पुस्तिकामा लेखेको निर्णय सुनाएपछि मात्र आफुले सही गर्दै आएको उनले बताए । तर त्यो दिन सचिवले केही सुनाएन्न । हतारहतारमा सही गराएको उनले जानकारी दिए ।

झुक्याएर सही गराउनेलाई कारवाही गर्न र विकास बजेटमा भएको खर्चको सुचना उपलब्ध गराउनु पर्ने माग गर्दै स्थानीयले वडा कार्यालयमा करीब २ घण्टासम्म विरोध प्रदर्शन गरेका थिए ।

विरोध कार्यक्रममा सुखरी देवान फकिर, हुस्नैन मिया, मसहुर मिया ठकुराई, ईब्राहिम, मंसुर मिया लगायतको सहभागिता थियो ।

उनीहरुले वडाकार्यालयबाट नागरिकता बनाउन २०७४ असोज यता वडा कार्यालयबाट भएको सिफारिस र जन्मदर्ताको रेकर्ड सहितको सूचना उपलब्ध गराउन वडाध्यक्ष जाकिरलाई लिखित निवेदन समेत दिएका छन ।

झुक्याएर सही गराएको आरोप निराधार रहेको वडा सचिव संजय कुमार साहले दाबी गरेका छन ।
वडाध्यक्ष जाकिर हुसेनले आफु माथी लगाईएको भ्रष्टाचारको आरोप गलत रहेको दाबी गरेका छन । स्थानीयले मागेको सुचना प्रमुख जिल्ला अधिकारीसंग छलफल गरेपश्चात उपलब्ध गराउने उनले बताए ।

यो लेख शेयर गर्नुहोस