‘ज्यानमारा सडक’ नामले प्रसिद्धी कमाउदै कलैया–बीरगंज सडकमा दुर्घटना कम गर्न पुलमा स्टीकर

गढी न्यूज
गढी न्यूज पाठक संख्या - 2.2k
3 मि. पढ्न लाग्ने समय

बारा– दिनहु हजारौंको संख्यामा सवारी साधन गुड्ने अति व्यस्त कलैया–बीरगंज सडक पछिल्लो समय ज्यानमारा सडकको नामले प्रसिद्धी कमाउदै छ । बढदो सवारीको चाप अनुसार सडकलाई फराकिलो बनाउने काम सम्बन्धित निकायले नगर्दा यो सडकमा दिनहुँ सवारी दुर्घटना हुने गरेका छन ।

उक्त सडक खण्डमा हुने गरेको अधिकांश दुर्घटनामा सर्वसाधारणले ज्यान गुमाउने र ठुलो क्षति व्योहोर्ने, अंगभंग हुने क्रम बढेपछि यस सडकलाई ज्यानमारा सडक भन्न थालिएको छ । रातको समयमा कुहिरो र विपरित दिशाबाट आएका ठुला सवारीेको हेडलाईको कारण उक्त खण्डमा पर्ने पुलका पीलर नदेखिदा सवारी दुर्घटना बढेको गुनासो आएपछि प्रसौनी गाउपालिकाको पहलमा अस्थायी ट्राफिक प्रहरी पोष्ट गण्डकले स्टिकर टास्ने अभियान सुरु गरेको छ ।

स्टीकर टास्ने ट्राफिक प्रहरीको अभियानको शुभारम्भ प्रसौनी गाउपालिकाका अध्यक्ष विनोद प्रसाद जैसवाल दुधौरा पुलको पीलरमा स्टीकर टासेर गरेका छन ।

केही दिन अगाडी चम्किलो स्टीर नभएकै कारण पुलमा भएको सवारी दुर्घटनामा परी दुई जनाले ज्यान गुमाएपछि गाउपालिका अध्यक्ष जयसवाल स्टीकर टास्न कम्मर कसेका हुन ।

सवारी दुर्घटना न्यूनीकरण योजना अनुसार स्टिकर टास्ने काम सुरु गरिएको गाउपालिका अध्यक्ष जयसवालले जानकारी दिए ।

‘सवारी दुर्घटना कम गर्न यसरी स्टिकर टास्न सुरु गरेका छौं,’ उनले भने, ‘स्टीकरले पक्कै सवारी दुर्घटना कम गर्न मद्दत गर्ने विश्वास लिएका छौं ।’ आफ्नो नगर भित्र रहेका सडकलाई सुरक्षित बनाउन र सवारी दुर्घटना न्यूनिकरण गर्ने अपेक्षा सहित स्टीकर टास्ने अभियानलाई तिब्र बनाईएको उनले जानकारी दिए ।

पुल एरियामा धेरै दुर्घटना पछिल्लो समय बढेको देखियो । दुर्घटना बढेपछि अस्थायी ट्राफिक प्रहरी कार्यालय गण्डकका प्रमुखले स्टीकर टास्ने सल्लाह दिए । उनकै सल्लाह बमोजिम गाउपालिकाको आर्थिक सहयोगमा स्टीकर खरीद गरी टास्ने काम सुरु गरिएको उनले बताए । तत्कालै पुल र सडकलाई फराकिलो बनाउन नसकिएपनि यही सडकलाई जोखिममुक्त बनाउन स्टीकर अभियानलाई तिब्र पारिएको उनको भनाई छ ।

सम्भावित दुर्घटनाबाट जोगिन स्टीकरले ठुलो मद्दत पुर्याउने विश्वास आफुहरुले लिएको गाउपालिका अध्यक्ष जैसवालको भनाई छ ।

कलैया–बीरगंज खण्डमा हुने सवारी दुर्घटनामा सबभन्दा दुधौरा पुलमै हुने गरेको पाईएपछि पुलमा टासिने स्टीकर माथी गाउपालिकाले फोकस गरेको उनले बताए ।

बढदो सवारी दुर्घटनाकै कारण यो सडकलाई पछिल्लो समय ‘ज्यानमारा सडक’ सडकको नामले चिन्न थालिएको उनले सुनाए । सडकको दुबै किनारामा रहेका हरेक पीलरमा समेत स्टीकर टास्ने योजना अघि बढाईएको अध्यक्ष जैसवालले जानकारी दिए ।

हालै अस्थाई ट्राफिक प्रहरी पोष्ट गण्डक कार्यालयको प्रमुखको जिम्मेवारी सम्हालेका ट्राफिक प्रहरी वरिष्ठ हवल्दार तेज कुमार मिश्रले पनि स्टीकर टास्ने अभियानलाई तिब्र बनाईएको जानकारी दिए । ‘आफु गण्डक पोष्टको जिम्मेवारी सम्हालेपछि दुधौरा पुलमै सभन्दा बढी दुर्घटना भएको पाए,’ उनले भने, ‘दुर्घटनाको प्रारम्भिक अनुसन्धानको क्रममा कारण पता लगाउदा रातको समयमा पुलको रेलिङ चालकले नदेखेको भेटयौं ।’ कारण पता लागी सकेपछि त्यसको मुख्य उपचार स्टीकर भएको निकर्षसहित स्टीकर टास्ने अभियानलाई सुरु गरिएको उनले जानकारी दिए ।

रिफ्लेक्ट स्टीकर टाढैबाट सवारीको लाईट पर्ने बितिकै टल्किने गर्छ । टल्केको स्टिकर देखेर सवारी चालक सतर्क हुन्छन र सवारी दुर्घटनाबाट जोगिन्छन । यसरी रातको समयमा हुने सम्भावित दुर्घटना कम हुने वातावरण बनाउन स्टीकर टास्ने कामलाई प्राथमिकता दिईएको उनले जानकारी दिए ।

ट्याग्स : , , , , ,
यो लेख शेयर गर्नुहोस