बारा– विगत केही दिन देखि बढेको अत्याधिक चिसोको कारण बारा, पर्सा, रौतहट लगायत मध्य तराईकै जनजिवन थप कष्ठकर बनेको छ ।
निरन्तर सुरु भएको पश्चिमी हावा र सेरेटोले अत्याधिक जाडोको अनुभूति गरिएको स्थानीयले बताएका छन ।
जाडोको कारण सब भन्दा बढी बालबालिका, वृद्धवृद्धा, मंगन्ते, फुटपाथमा रात कटाउने मान्सिक सन्तुलन गुमाएका व्यक्तहरु, चौपाया बढी प्रभावित बनेको स्थानीयले बताएका छन । दैनिक ज्यालादारी गरी हातमुख जोर्ने परिवारको लागी जाडो कहर बनेर प्रहार गरीरहेको पीडितले बताएका छन ।
ईट्टाभट्टामा काम गर्ने, राजमिस्त्री, घरमा काम गर्ने मजदुर लगायतका सबभन्दा बढी जाडोले प्रभावित भएको पीडितहरुको भनाई छ ।
‘काम नगर्दा बालबच्चको छाक टार्न मुश्किल पर्छ,’ एक मजदुरले भने, ‘काममा खटिदा चिसोले बिरामी पर्ने डर छ ।’ एकैछिनमा चलेको चिसो हावाले शरीर काम्ने र उभिनै नसक्ने अवस्था आएर काम गर्न समेत समस्या भईरहेको कलैया–१६ उत्तरझिटकैयाका मजदुर नागेश्वर मण्डलले बताए ।
हुने खानेलाई जाडोले धरै प्रभाव पार्न नसकेपनि गरीब, विपन्नलाई सबभन्दा बढी प्रभावित बनाएको उनको भनाई छ ।
जाडोकै कारण बारा सदरमुकाम कलैया, पर्सा सदरमुकाम बीरगंज लगायतका बजार क्षेत्रमा बिहिवार पनि सर्वसाधारणको भीडभाड कम देखिएको स्थानीयले बताएका छन ।
जाडो छल्न कलैया उपमहानगरपालिकाले नगरभरी बाल्दै आएको दाउरा यसपाली प्रभावकारी ढंगले वीरतरण नगरेको स्थानीयले गुनासो गरेका छन ।
कलैया उपमहानगरपालिका भित्र रहेका मठमन्दिरका पुजारीहरु जाडोले सबभन्दा बढी प्रभावित बनेको पीडितहरुले गुनासो गरेका छन ।
बिहान चार बजे देखी उठेर मठमन्दिरको सरसफाई गर्ने र पुजापाठ कर्मममा लाग्ने पुजारी तथा मठका कर्मचारीहरु जाडोको चरम मार खेपीरहेका छन ।
पुजारीलाई न्यानो पार्न र मठमन्दिरमा धुई बाल्न अहिले सम्म कलैया उपमहानगरपालिकाले दाउरा नबाडेको कलैया उपमहानगरपालिका १६ रामजानकी मठका पुजारी राजकुमार भगतले गुनासो गरे ।
‘मठमा यसपाली एक टुक्रा दाउरा उपमहानगरपालिकाले दिएको छैन,’ उनले भने, ‘पहिला पहिला मठमा दाउरा वितरण हुन्थ्यो, यसपाली कसैले ध्यान दिएको छैन ।’ मागेर गुजारा चलाउने मठका पुजारीसंग पर्याप्त कपडा पनि हुदैन । अर्को तिर आगो बाल्ने दाउराको समेत अभाव भएपछि आफुहरु थप समस्यामा परेको पुजारीहरुको भनाई छ ।
कलैया उपमहानगरपालिकासंग मठमा दाउरा वीतरण गरीदिन नगर क्षेत्रका साधुसंतले आग्रह गरेका छन ।
यता अति व्यस्त र मानवचहलपहल रहने कलैया भरतचोक, देवकोटा चोक तथा बजार क्षेत्रमा पनि आगो बाल्न कलैया उपमहानगरपालिकाले दाउरा उपलब्ध नगराएको स्थानीयले गुनासो गरेका छन ।