चन्द्रनिगाहपुर– बारा र रौतहटका ९ हजार बढी किशोर किशोरीहरुलाई सक्षम बनाउदै आरम्भ परियोजनाको पहिलो चरणको कार्यक्रम सम्पन्न भएको छ ।
आसमान नेपाल र सामााजिक संस्था जिल्ला समन्वय समितिको सयुक्त साझेदारीमा संचालित आरम्भ परियोजनाले सरोकारवाला पालिकालाई थप जिम्मेवार बन्न आग्रह गर्दै पहिलो चरणको कार्यक्रम सम्पन्न गरहेको हो ।
युके एडको गल्र्स एजुकेसन च्यालेन्जको आर्थिक सहयोग तथा पिपुल इन नीड नेपालको नेतृत्वमा संचालित परियोजनाले विद्यालय बाहिर रहेकी किशोरीलाई विद्यालय पठाउन तथा उनीहरुलाई स्वरोजगार बन्न सक्षम बनाउन प्रभावकारी भूमिका निर्वाह गरेको बताएको छ ।
चन्द्रनिगाहपुर स्थित गौतम होटलमा मंगलवार आयोजित आरम्भ परियोजना सिकाई आदान प्रदान तथा समापन कार्यक्रममा सहभागी पालिका प्रमुख, उपप्रमुख, प्रमुख प्रशासकिय अधिकृत तथा पालिकाका शिक्षा शाखा प्रमुखले परियोजनाको सराहना गरेका थिए ।
परियोजनाले अवलम्बन गरेको नीति तथा कार्यक्रमलाई थप प्रभावकारी बनाउन पालिकाले भूमिका निर्वाह गर्ने प्रतिवद्धता समेत व्यक्त गरे ।
उक्त अवसरमा परियोजनाले उपलब्ध गराएको अवसरबाट क्षतावान बनेका किशोरीहरुले मञ्चमा माईक समातेर आफ्नो अनुभव शेयर गरेपछि कार्यक्रमका सहभागीले ताली बजाएर अभिनन्दन गरेका थिए ।
रौतहटको दुर्गाभगवती गाउँपालिका, यमुनामाई गाउँपालिका, कटहरिया नगरपालिका, मौलापुर नगरपालिका, राजपुर नगरपालिका, माधवनारायण नगरपालिका, गरुडा नगरपालिका, गढिमाई नगरपालिका, परोहा नगरपालिका, बौधिमाई नगरपालिका गरी १० वटा पालिका र बारा जिल्लाको देवताल गाउँपालिका, सुवर्ण गाउँपालिका, आदर्श कोतवाल गाउँपालिका, पचरौता नगरपालिका, बारागढी गाउँपालिका, करैयामाई गाउँपालिका, फेटा गाउँपालिका, बिश्रामपुर गाउँपालिका, प्रसौनी गाउँपालिका, महागढीमाई नगरपालिका, सिम्रौनगढ नगरपालिका, परवानीपुर गाँउपालिका गरी १२ वटा पालिकामा आरम्भ परियोजना संचालित भएको आसमान नेपालका परियोजनाका प्राविधिक संयोजक अजय कुमार यादवले जानकारी दिए ।
‘विद्यालय बाहिर रहेका किशोरीहरुको सिकाई अभिवृद्धि तथा शिक्षाको मुलधारमा समावेश गर्नका लागि आरम्भ परियोजना केन्द्रित रहेको थियो,’ उनले भने, ‘परियोजनाले समाजमा प्रभावकारी छाप छोडेको अनुभव हामीले गरेका छौं ।’ सन् २०१८ देखि शुरु भएको यो परियोजना सन् २०२३ को डिसेम्बरमा औपचारिक रुपमा सकिएको उनले जानकारी दिए ।
केही समयका लागि परियोजना अभिलेखहरु संकलन, परियोजनाद्धारा गरिएका गतिविधिहरुलाई सम्बन्धित पालिकाहरुलाई औपचारिक रुपमा हस्तान्तरण गर्ने तथा दीर्घकालिन रुपमा समेत लाभान्वित विधार्थीहरुलाई पालिकाहरुबाट सहयोग भईराखोस् भने उद्देश्यले विभिन्न कार्यक्रम भईरहेको उनले बताए ।
१० देखि १९ वर्ष उमेर समूहका विवाहित तथा अविवाहित विद्यालय बाहिर रहेका किशोरीहरुमा गणितीय शिक्षामा पहुँच र साक्षरता वृद्वि साथै जीवन उपयागी सीपको विकास गरी जीवन स्तरमा सुधार गर्ने उद्देश्य बोकेको यो परियोजनाले यस पाँच वर्षको अवधिमा विद्यालय बाहिर रहेका किशोरीहरुको सामुदायिक सिकाइ केन्द्र मार्फत साक्षरता र गणित सीप विकास गर्ने एवमं भविष्यका लागि जीवन योजना बनाउने, जीवन उपयोगी सीप मार्फत किशोरीहरुको नेतृत्व, सञ्चार आदि सीपका साथै यौन तथा प्रजनन स्वास्थ्य, बालविवाह, आदिबारे ज्ञान दिने, सिकाइ केन्द्रको कक्षा पश्चात किशोरीहरुलाई विद्यालयमा भर्ना वा सीप सिक्नका लागि सहयोग गर्ने, विद्यार्थीलाई विद्यालयमा सिक्नका लागि अनुकूल वातावरण सिर्जना गर्ने, किशोरीहरुलाई उमेर पुगी मात्रै विवाह गर्न समुदाय र सम्बन्धित निकायलाई सकारात्मक सामाजिक मान्यताका लागि प्रोत्साहन गर्ने र सीप सिकेका किशोरीहरुलाई व्यवसाय सञ्चालनका लागि अनुकुल वातावरण निर्माण गर्ने, आदि महत्वपूर्ण कामहरु परियोजनाले गरेको जिल्ला शिक्षा समन्वय ईकाई रौतहटका प्रमुख रामविनय सिंहले जानकारी दिए ।
‘हामीले सोचे भन्दा प्रभावकारी भूमिका परियोजनाले खेलेको देखिएको छ,’ उनले भने, ‘यो परियोजनाको निरन्तरता दिनु पर्ने अवस्था छ रौतहटमा ।’ परियोजनाले अवलम्बन गरेको नीति नियमलाई पालिकाले अवलम्बन गरिदिए जिल्लाका कोही किशोर किशोरीहरु विद्यालय बाहिर रहने अवस्था नआउने उनले ठोकुवा समेत गरे ।
यस परियोजनाले परियोजना अवधिभरमा ४ सय ६२ सिकाइ केन्द्र मार्फत विद्यालय बाहिर रहेका ९ हजार ४ सय ९७ जना किशोरीहरुलाई गणितीय शिक्षामा पहुँच, साक्षरता वृद्वि र जीवन उपयोगी सीपको विकासमा प्रत्यक्ष रुपमा सहयोग गरेको आसमान नेपालका परियोजना प्रबन्धक संजिव कुमार गुप्ताले जानकारी दिए ।
यस अवधिसम्म ४ हजार ९ सय ८६ किशोरीहरुलाई विद्यालय भर्ना गराउन र २ हजार ३ सय ४७ किशोरीहरुलाई सिलाइकटाई, हाते कडाई, डल कुशन, अगरबत्ती, पशुपालन आदि विधामा सीप सिकाउन सफल भएको उनले जानकारी दिए ।
यसैबीचमा परियोजनाले २ सय ५२ किशोरीहरुको अपांगता पहिचान गर्न र त्यस मध्ये ७७ जनालाई उपचारमा सहयोग गर्न पनि सफलता प्राप्त गरेको उनले बताए ।
त्यसैगरी परियोजनाले बालिका तथा किशोरीहरुलाई विद्यालयमा भर्ना गराउन सहजीकरण, प्रोत्साहन, जीविकोपार्जनका लागि विभिन्न क्षमता अभिवृद्धि तालिमहरुको दौरानमा ७ सय ७३ जना सहजकर्ता, २ सय ९० जना चेन्ज च्यापिन्यन र २ सय ९६ मेन्टरलाई परिचालन गरेको थियो । यी सबै स्थानीयले रोजगारी समेत पाएको बताईएको छ ।
परियोजनाले विद्यालय स्तरमा लैंगिक रुपान्तरण कार्यशाला मार्फत ८ हजार ७ सय ५१ विद्यालयका किशोरकिशोरीहरुलाई यौन तथा प्रजनन् स्वास्थ्य, महिनावारी सरसफाई तथा स्वास्थ्य, विद्यालयभित्र सुरक्षा, लैंगिक हिंसा, बालविवाह, नेतृत्वविकास आदि विषयमा सचेत बनाई विद्यालयमा समावेशी र सुरक्षित वातावरण तथा समुदायमा सकारात्मक परिवर्तनका लागि पहल गरेको सामाजिक संस्था जिल्ला समन्वय समितीका परियोजना प्रबन्धक रामसुन्दर नेपालीले जानकारी दिए ।
यस परियोजनाले नेपाल सरकार शिक्षा तथा मानव स्रोत विभागको नेतृत्वका रहेको बालिका तथा समावेशी शिक्षा सञ्जाललाई केन्द्र, प्रदेश र पालिका स्तरमा लागु गर्न पनि महत्वपूर्ण भुमिका खेल्दै मधेश प्रदेशका ६२ सहित देशभरका ८२ वटा स्थानीय तहमा सञ्जाल समेत गठन गर्न सफल भएको उक्त अवसरमा जानकारी गराईएको आयोजक संस्थाका अरविन्द कुमार साहले जानकारी दिए ।
कार्यक्रममा स्थानिय तहहरुसँगको सहकार्यमा परियोजनाले ती पालिकाहरुमा गरेका गतिविधिहरुबारे छलफल, परियोजना अवधिभर गरेका गतिविधिको प्रस्तुति तथा सरोकारवालाहरुसँग सिकाई आदान प्रदान गरेको थियो ।
त्यसैगरी, सहजकर्ता, चेन्ज च्यापिन्यन तथा केही बालबालिकाहरुलाई समेत सम्मान गर्दै तथा पालिकालाई कार्य प्रतिवेदन हस्तान्तरण समेत गरिएको थियो ।
उक्त अवसरमा सम्बन्धित पालिकाका प्रमुख, उपप्रमुख, शिक्षा अधिकृत तथा प्रशासकिय अधिकृतहरुसँग आगामी दिनमा विद्यालय बाहिर रहेका किशोरीहरुलाई शिक्षाको मुलधारमा ल्याउनका लागि सम्बन्धितपालिकाहरु पनि सकृय हुनु पर्ने विषयमा दीर्घकालिन योजनाबारे छलफल समेत भएको आयोजक संस्थाले जनाएको छ ।