बारा–राम मन्दिरको प्राण प्रतिष्ठाका दिन मधेश प्रदेशभरी नै दिपावली गर्ने भव्य तयारी गरिएको छ । कलैया उपमहानगरपालिका सहित मधेश प्रदेशका एक सय ३६ औं पालिकाहरुले सूचना जारी गरी छिमेकी राष्ट्र भारतको अयोध्यामा राम मन्दिरको प्राणप्रतिष्ठान हुने सोमवारका दिन भव्य दिपावली गर्न नगरवासीसंग आग्रह गरेको छ ।
पालिकाको आहवान तथा स्वस्फुर्तमै सर्वसाधारणले गाउ गाउमा भब्य दिपावली गर्ने तयारी गरेको स्थानीयले वासिन्दाले बताएका छन । पालिकाद्वारा जारी सूचनामा सोमवारका दिन माच्छामासु, मदिराजन्य पदार्थ सेवन तथा त्यसको विक्री वितरणमा पुर्ण रुपले रोक लगाईएको छ । यदि सूचनाको अवज्ञा गरी माच्छामासु तथा मदिरा जन्य पदार्थ सेवन वा बिक्री वितरण गर्ने पसले व्यक्तीलाई कानुनी कारवाही सहित जरिवाना गर्ने चेतावनी पालिकाहरुले दिएका छन ।
कलैया उपमहानगरपालिका नगर प्रमुख विनोद प्रसाद साहले पनि एक सूचना जारी गरी नगरवासीलाई आ आफ्नो घर तथा गाउ टोल समुदायमा दीप प्रज्वलन गरी उत्सव मनाउन अनुरोध गरेका छन । यस्तै महागढीमाई नगरपालिकाका मेयर उपेन्द्र प्रसाद यादवले विश्व प्रसिद्ध गढीमाई मन्दिरमा एक लाख ५१ दिप प्रज्वलन गर्ने तयारी गरेका छन ।
छिमेकी मित्र राष्ट्र भारतको अयोध्यामा नवनिर्मित भगवान श्रीराम मन्दिरको प्राण प्रतिष्ठाको उपलक्ष्यमा महागढीमाई मन्दिरको प्राङ्गणमा एक लाख ५१ हजार दिप प्रज्वलन गर्न सर्बदलिय बैठकबाटै निर्णय भएको मेयर यादवले जानकारी दिए ।
भारतको अयोध्यामा भगवान श्री राम मन्दिरको प्राण प्रतिष्ठालाई मध्यनजर गर्दै माघ ८ गते सोमबारको दिन गढीमाई मन्दिर परिसरमा एक लाख ५१ हजार दिप प्रज्वल गर्ने निर्णय गरिएको उनले जानकारी दिए ।
‘मर्यादा पुरुषोत्तम भगवान श्रीरामको मन्दिरको प्राण प्रतिष्ठामा सरिक हुनु हाम्रो लागी शौभाग्यको कुरा हो,’ उनले भने, ‘पाँच सय वर्ष पछि भगवान राम आफनो घरमा पाल्नु हुनेछ ।’ हिन्दुहरुको अराध्य देव मर्यादा पुरुषोत्तम भगवान श्रीरामको भव्य मन्दिरको प्राण प्रतिष्ठा हुने भएकोले महागढीमाई नगरपालिकाको सर्वदलिय बैठकबाट सो दिन हर्षोउल्लासका साथ दिपावली गर्ने निर्णय गरेको उनले जनाए ।
दिप प्रज्वलन तयारीको लागि विभिन्न समिति चयन गरी तयारीको काम अगाडि बढाइएको उनले जानकारी दिए । महागढीमाई नगरपालिकाको आर्थिक सहयोगमा दिप प्रज्वलन कार्य गरिने उनको भनाई छ ।
दिप प्रज्वलनका दिन मर्यादा पुरुषोत्तम राम र माता जानकी सहितको रथ यात्रा निकालिने तयारी समेत गरिएको उनले बताए ।
महागढीमाईको मंन्दिरमा रामसीताको दिपको आकृती चित्र बनाउने निर्णय समेत उनले बताए । महागढीमाई नगरपालिका १ देखि मन्दिर सम्म बाटोको दुबै छेउमा दिप प्रज्वलन गरिने तयारी गरिएको छ ।
हिन्दु तथा सनातन धर्मको सबै भन्दा ठूलो दिन रहेकोले महागढीमाई नगरपालिका सबै वडाका स्थानीयहरु आ आफ्नो घरमा सरसफाइ गरेर दिपावाली पर्व जस्तै दिप प्रज्वलन गर्नको लागि नगरप्रमुख यादवले आग्रह गरेका छन ।
सो दिन महागढीमाई नगरपालिका भरी मदिरा तथा मासु विक्री वितरणमा रोक लगाउने निर्णय गरिएको उनले बताए । यसैगरी कलैया उपमहानगरपालिकाले समेत माघ ८ गते कलैया उपमहानगरपालिका १ स्थित रामजानकी मन्दिरमा दिप प्रज्वलन गर्ने तयारी सुरु गरिएको जनाएको छ ।
हिन्दुहरुको अराध्य देव मर्यादा पुरुषोत्तम भगवान श्रीरामको भव्य मन्दिरको प्राण प्रतिष्ठा हुने सोमवार दिन हिन्दु तथा सनातन धर्मको सबै भन्दा ठूलो दिन रहेकोले सो दिन मधेश प्रदेशमा सार्वजनिक विदा दिन जानकी मन्दिरका उत्तराधिकारी महन्थ रामरोशन दासले ध्यानाकर्षण पत्र सहित मुख्यमन्त्री सरोज कुमार यादवलाई आग्रह गरेका छन ।