वीरगन्ज– मधेस आन्दोलनका क्रममा सहादत प्राप्त गरेका ६३ जना सहिद परिवारलाई सोमवार मधेस प्रदेश सरकारले आर्थिक सहयोग उपलब्ध गराएको छ ।
आन्दोलन पछि राजनीति पृष्टभूमीमा प्रवेश गरेपश्चात मधेशी दलका शिर्ष नेताले सार्वजनिक मञ्चमा गरेको प्रतिवद्धतालाई साकार पार्न मधेस आन्दोलनका सहिदका परिवारलाई जनही ३/३ लाख रुपैयाँ आर्थिक सहयोग उपलब्ध गराईएको हो ।
बलिदानी दिवसको अवसरमा वीरगन्ज स्थित टाउनहलमा आयोजित कार्यक्रममा सहिद परिवारलाई अर्थिक सहयोग प्रदान गरिएको थियो ।
मधेश प्रदेश सरकारको गृह सञ्चार तथा कानून मन्त्रालय अन्तर्गत रहेको मधेसी सहिद प्रतिष्ठानले शुक्रबार आयोजना गरेको उक्त कार्यक्रममा प्रमुख अतिथी जनता समाजवादी पार्टीका राष्ट्रिय अध्यक्ष एवम पुर्व उपप्रधानमन्त्री उपेन्द्र यादवले सहिद परिवारलाई ३/३ लाख रुपैयाँको चेक हस्तान्तरण गरेका थिए ।
कार्यक्रमममा मधेस सरकारले मधेस आन्दोलनका घाइते एक सय ३० जनालाई पनि उनीहरुको शारिरिक अवस्था हरेर अवस्था हेरेर प्रति व्यक्तीलाई कम्तीमा एक लाख रुपैयाँ देखी अधिक्तम २ लाख रुपैयाँ रुपैयाँ सम्मको चेक समेत हस्तान्तरण गरिएको थियो ।
सो अवसरमा सहिद परिवार र घाइतेलाई जनही एक/एक थान कम्बल र यातायात खर्च बापत जनही ४ हजार रुपैयाँ पनि सम्मान स्वरुप प्रदान गरिएको थियो ।
कार्यक्रममा मधेस आन्दोलनका केहि घाइतेहरुले प्रदेश सरकारले आँफुहरुलाई विभेद गरेको आरोप लगाउदै असन्तुष्टी व्यक्त गरेका थिए ।
मधेसी सहिद प्रतिष्ठानले तयार पारेको घाइतेको सूचीमा आफुहरुको नाम छुटाएर विभेद गरेको आरोप लगाए ।
आन्दोलनमा गोली लागेर घाइते भई कष्कटर जीवन यापन गरिरहेको भएपनि मधेस सरकारले घाइतेहरुको सूचीमा आँफुहरुको नाम नै समावेश गर्न छुटाएको पीडितले आरोप लगाए ।
जसपाका अध्यक्ष उपेन्द्र यादवसंगै मुख्यमन्त्री र मन्त्रीहरु आसिन मञ्चमै पुगेर माइकमा बोल्दै पीडितले मधेसको अधिकारका लागि हामीले पनि गोली खायौं, रगत बगायौं, तर राहत र सहयोग दिने बेला अहिले मधेसी दल र मधेस सरकारले नै विभेद गरेको भन्दै आक्रोश पोखेका थिए ।
घाइतेहरुले विरोध जनाउँदै आक्रोश पोखेपछि मञ्चमा विराजमान मधेश प्रदेश सरकारका मुख्यमन्त्री सरोजकुमार राय यादवले घाइतेको सूचीमा छुटेकाहरुको माग प्रदेश सरकारले सम्बोधन गर्ने आश्वासन दिएका थिए ।
‘घाइतेको प्रमाणपत्र बनाउनका लागि सिडिओ कार्यालयको सिफरिस आवश्यक पर्दैन,’ उनले मञ्चबाटै भने, ‘घाइते हुदाँका बखत जुन अस्पतालमा उपचार गराएको हो उक्त अस्पतालको पूर्जी पेस गरे सहिद प्रतितष्ठानले घाइतेको प्रमाणपत्र बनाईदिन्छ । त्यस अनुसारको सेवा सुविधा मधेस सरकारले उपलब्ध गराउँछ ।’ मुख्यमन्त्री यादवले मधेस आन्दोलनका सहिद र घाइतेले दिएको बलिदानीको सम्मानका लागि प्रदेश सरकारले हरेक वर्ष बलिदानी दिवसमा आर्थिक सहयोग गर्दै आएको बताए ।
यसअघि प्रदेश सरकारले दिएको रोजगारीबाट छुटेका सहिदका परिवारलाई पनि अब रोजगारी दिने भन्दै सहिद परिवार र घाइतेका लागि जे जे गर्नुपर्छ त्यो प्रदेश सरकारले गर्न तयार रहेको उनले बताए । मधेसी सहिदका सपना मधेस सरकारले नै साकार पर्ने प्रतिबद्धता पनि मुख्यमन्त्री यादवले जनाए ।
प्रदेशका गृह सञ्चार तथा कानूनमन्त्री महम्मद समिमको अध्यक्षतामा भएको बलिदानी दिवस कार्यक्रमलाई संघीय सरकारका पूर्व वन तथा वातावरण मन्त्री प्रदीप यादव, प्रदेशका पूर्व मुख्यमन्त्री लालबाबु राउत, अर्थमन्त्री सञ्जय यादव, खेलकुद मन्त्री सुनिता साह, उद्योग तथा पर्यटनमन्त्री सुनिता यादव, उर्जा सिंचाई तथा खानेपानीमन्त्री सिंहासन साह कलवार, वीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंह, प्रदेशसभा सदस्यहरु जर्नादन सिंह क्षेत्री, श्याम पटेल, प्रमोद जयसवाल लगायतले सम्बोधन गर्दै मधशको सपना साकार गर्ने मधेशी सहिदलाई आफुहरुले सदैव सहयोग गर्ने आश्वासन दिएका छन ।