वीरगंज– पर्साको वीरगंज नाकाबाट नेपाल प्रवेश गर्न खोजेका एक भारतिय पर्यटकलाई बुधवार राती पुनः भारत फिर्ता पठाईएको छ ।
ती भारतिय पर्यटकमा जेएन–१ संक्रमण पुष्टी भएपछि ती भारतिय पर्यटकलाई पुनः भारत फिर्ता पठाईएको हो ।
वीरगंज मुल भन्सार नजिकै नेपाल भारत सीमा रहेको हेल्थ डेस्कमा परिक्षण गर्दा नयाँ भेरिएन्ट जेएन–१ को संक्रमण पुष्टी भएपछि ती भारतिय नागरिकलाई पुनः भारत फिर्ता पठाईएको हो डेस्क प्रमुख तथा वीरगंज महानगरपालिका कार्यालयका जनस्वास्थ्य निरीक्षक सुमनचन्द्र ठाकुरले जानकारी दिए ।
भारतको कोलकाताबाट नेपाल भ्रमण गर्न आएका भारतिय नागरिक २५ बर्षिय पुरुषमा उक्त संक्रमण पुष्टी भएको उनले जानकारी दिए ।
‘ती यूवक सहित एक दर्जन भारतीय पर्यटक नेपाल भ्रमणको लागी बीरगंजमा आईपुगेका थिए,’ उनले भने, ‘काठमाडौं घुम्न जाने तयारीमा रहेको उक्त समूहका सबैको रेपिड टेष्ट गर्दा ती युवकमा जेएन–१ संक्रमण पुष्टी भएको थियो ।’ संक्रमण पुष्टी भएपछि ती युवकलाई नेपाल प्रहरीको समन्वयमा आएको भारतबाट स्वास्थ्यकर्मीहरुको टोलीको जिम्मा लगाई फिर्ता पठाईएको ठाकुरले जानकारी दिए ।
भारतीय पर्यटकको यो टोली कोलकाताबाट रेल चढेर रक्सौल सम्म आएको उनले जानकारी दिए । यो टोलीलाई नेपालको एक ट्राभल एण्ड टुर कम्पनीले वीरगंजबाट सिधै आफ्नो गाडी चढाएर काठमाण्डौं लग्ने तयारी गरेको थियो ।
वीरगंजस्थित नेपाल भारत सीमामा रहेको हेल्थ डेस्कमा चालु आर्थिक बर्षमा कोरोना संक्रमण पुष्टी भएको यो पहिलो घटना भएको उनले बताए । भारतमा जेएन–१ को संक्रमण फैलिदैं गएपछि बीरगंज शंकराचार्य गेट नजिकै संचालित डेस्कमा उच्च सर्तकता अपनाइएको डेस्क प्रमुख ठाकुरले बताए ।
उनका अनुसार, भारतबाट नेपाल भ्रमण गर्न दैनिक जसो ५० देखि ६० जना भन्दा बढी व्यक्तीहरुको कोरोना परीक्षण गर्ने गरिएको छ । दैनिक ठूलो संख्यामा भारतीयहरु नेपाल आउजाउ गर्छन् । सबैको परीक्षण सम्भव नभएपनि दिल्ली, कोलकाता तथा दक्षिण भारतका बिभिन्न शहरहरुबाट नेपाल आउने पर्यटकहरुको परिक्षण गर्ने गरिएको उनले दाबी गरे ।