बारा– बारा सदरमुकाम कलैयाका एक निजी विद्यालयका प्रिन्सिपल रुपेश स्वर्णकारको हत्यामा संलग्न मध्येका मुख्य सुटरलाई बारा प्रहरीले मंगलवार राती पक्राउ गरेको छ ।
रुपेशको हत्यापछि भारतमा लुकीछिपी बस्दै आएका सार्प सुटर भारतिय नागरिक सुजित कुमार सिंहलाई मंगलवार राती करीब पौने ९ बजे बाराको विश्रामपुर गाउपालिका वडा नं. ३ स्थित ड्याम नजिकैबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख प्रहरी उपरिक्षक सुरेश प्रसाद काफ्लेले जानकारी दिए ।
नेपाली भूमीमा हत्या आतंक मचाउने सिंहलाई खुट्टामा गोली प्रहार गरी नियन्त्रणमा लिईएको र उनका साथमा रहेका अन्य व्यक्तीहरु फरार भएको प्रहरी उपरिक्षक काफ्लेले जानकारी दिए ।
घाईते सुटर सिंहको प्रादेशिक अस्पताल कलैयाको आईसियू कक्षमा भर्ना गरी उपचार भईरहेको र घटनामा संलग्न अन्य फरार व्यक्तीहरुको खोजतलाश भईरहेको प्रहरीले जनाएको छ ।
दुई वटा मोटरसाईकलमा चार जनाको संख्यामा आएका अपराधी समुहले ३९ वर्षिय स्वर्णकारलाई चार राउण्ड गोली प्रहार गरी कार्तिक १३ गते मध्यान्ह साढे १२ बजे हत्या गरेको थियो ।
कलैया ६ स्थित मदर्सा टोलमा रहेको ग्रिन सिटी बोर्डिङ्ग स्कुल अगाडी ती पअराधिक समुहले छाती, टाउको र घाटीमा गोली प्रहार गरी स्वर्णकारको हत्या गरेका थिए ।
भारतिय अपराधी समुहद्वारा गोली हानी हत्या गरिएका बाल एकता ईङ्गलिस बोर्डिङ्ग स्कुल कलैयाका प्रिन्सिपल रुपेश स्वर्णकारलाई न्याय दिलाउन माग गर्दै कलैयामा केही दिन आन्दोलन समेत भएको थियो ।
प्रिन्सिपल स्वर्णकारको हत्याको कारण विषयमा बाराका प्रमुख जिल्ला अधिकारी नवराज सापकोटाले दिएको अभिव्यक्तीबाट असन्तुष्ट बनेको पीडित परिवार तथा तिनका आफन्तले घटनाको निष्पक्ष छानबीनको माग गर्दै निरन्तर दबाब दिदै आएका थिए ।
प्रमुख जिल्ला अधिकारी सापकोटाले दिएको अभिव्यक्ती पछि असन्तुष्ट बनेका मृतक परिवार सहित कलैयाका राजनीतिक दलका नेता, निर्वाचित जनप्रतिनिधी, सांसद, प्रदेशसभा सदस्य, व्यवसायी, शिक्षक, निजी विद्यालयका संचालक सबै आन्दोलित थिए ।
उनीहरुले मृतक परिवालाई न्याय दिलाउन आन्दोलनलाई निरन्तता दिदै कहले दिप प्रज्वलन त कहिले मौन जुलुश समेत निकालेका थिए ।
आन्दोलनलाई निरन्तरता दिदै प्याब्सन र एन प्याब्सनको आहवानमा निजी विद्यालय संचालक तथा निजी विद्यालयमा कार्यरत शिक्षकहरुले पेन डाउन गरी विरोध प्रदर्शन समेत गरेका थिए ।