अधिकारको लागी सिंह दरवारमा धर्ना दिन मधेश प्रदेशका मुख्यमन्त्री सरोज यादवको तयारी

गढी न्यूज
गढी न्यूज पाठक संख्या - 698
4 मि. पढ्न लाग्ने समय

बारा– मधेश प्रदेश सरकारले संघ सरकार विरुद्ध संघिय राजधानीमा धर्ना कार्यक्रम गर्ने तयारी सुरु गरिएको मधेश प्रदेश सरकारका मुख्यमन्त्री सरोज कुमार यादवले बताएका छन ।

बारागढी गाउपालिकाको नव निर्मित प्रशासनिक भवनको शुक्रवार उद्घाटन गर्दै मुख्यमन्त्री यादवले संघ सरकारले अल्टीमेटम अवधीमा माग पुरा नगरेकोले आन्दोलनको कार्यक्रम सुरु गर्न तयारी गरिएको जानकारी दिए ।

संविधानमा उल्लेखित अधिकार प्रदेश सरकारलाई हस्तान्तरण गर्न संघ सरकारलाई दिईएको ३० दिने अल्टीमेटमको समय शनिवार सकिदै छ । प्रधानमन्त्री पुष्पकमल दाहालले शनिवार बिहान बालुवाटारमा यसै विषयमा छलफल गर्न बैठक बोलाएको उनले जानकारी दिए ।

‘बिहानको बैठकमा सहभागी हुन आजको अन्तिम फ्लाईटबाट काठमाण्डौं जादै छु,’ उनले भने, ‘छलफलमा माग पुरा हुने यथेष्ट आधार नदेखिए धर्ना सुरु गर्छु ।’ अधिकारको लागी आफुले काठमाण्डौंमा र यहाका हरेक नागरिकले सदरमुकाम केन्द्रित शान्तिपूर्ण आन्दोलन गर्ने उद्घोष समेत मुख्यमन्त्री यादवले गरे ।

संघ सरकारले अधिकार प्रत्योजन नगरेकै कारण प्रदेश सरकारलाई काम गर्न कठिनाई भईरहेको उनले बताए । प्रदेश सरकारलाई कर्मचारी भर्ना र प्रहरी परिचालनको अधिकार अविलम्ब हस्तान्तरण गर्नु पर्नेमा उनको जोड थियो । मधेश प्रदेश सरकारले उठाएको अधिकार हस्तान्तरणको आवाज जायज भएको प्रधानमन्त्री दाहालले बताएपनि माग पुरा गर्न कुनै कदम नचालेको उनले आरोप लगाए ।

देशमा संघियता लागु भए पनि संघिय सरकारले अधिकारलाई आफ्नै नियन्त्रणमा राखेर संघियता कार्यान्वयनमा असहयोग गरीरहेको उनले गुनासो गरे । अधिकार हस्तान्तरणको विषयमा आफुले मधेश प्रदेशमा रहेका सबै दलका प्रमुखहरुसंग राय सल्लाह लिएर प्रधामन्त्रीलाई ध्यानाकर्षपत्र सहित ३० दिने अल्टीमेटम दिएको उनले बताए ।

तीन दिन अघि मात्र मधेश प्रदेश सभाबाट संघियताको विषयमा संकल्प प्रस्ताव समेत पास गरिएको उनले बताए । संकल्प प्रस्तावको प्रस्तावक एमाले रहेको र यो प्रस्तावमा सबै दलको समर्थन रहेको उनले बताए । संकल्प प्रस्ताव मधेश प्रदेशमा रहेको सबै दलको समर्थनमा पास समेत गरीसकिएको र यसको लागी सबै दलका नेता राजधानी काठमाण्डौं पुग्ने जानकारी उनले दिए ।

‘शनिवार बिहान १० बजेको समय प्रधानमन्त्री दाहालले सबै दललाई दिएको र सबै दल मिलेर प्रधानमन्त्रीसंग छलफल गर्छौं,’ उनले भने, ‘अधिकारको माग कार्यान्वयन प्रति प्रधामन्त्रीको सन्तोषजनक प्रतिवद्धता आए हामी सोच्छौं, नत्र निर्धारित कार्यक्रम अनुसार सिहदरवारमा धर्ना सुरु गर्छौ ।’ काठमाण्डौंमा धर्ना सुरु गरिएपछि त्यसको समर्थनमा सदरमुकाम केन्द्रित सबै दलले शान्तिपुर्ण आन्दोलन सुरु गर्न मुख्यमन्त्री यादवले आग्रह समेत गरे ।

संघर्ष बिना संघिय अधिकार प्राप्त गर्ने अवस्था नदेखिएपछि आफुहरु अधिकारको लागी आन्दोलन गर्ने कदम उठाउन लागेको उनले बताए ।
उक्त अवसरमा उनले सदरमुकाम कलैयामा देशकै नमुना यातायात कार्यलय स्थापन गर्ने तयारी जुटेको बताए । स्थानीयको आग्रह अनुसार खोपवा–कलैया सडक मर्मत गर्न ५० लाख रुपैयाँ बजेट यसै वर्ष दिने घोषणा समेत उनले गरे ।

लागु औषध दुव्र्यसनीमा फसेका युवालाई कुलतबाट जोगाउन बाराको निजगढ नगरपालिकामा सुविधा सम्पन्न सुधार गृह निर्माणको लागी प्रदेश सरकारले बजेट छुट्याएको उनले जानकारी दिए ।

उक्त अवसरमा एमालेका नेता एवम सांसद अच्युत मैनाली, जनता समाजवादी पार्टीका केन्द्रिय सदस्य रामकिशोर यादव, प्रदेश सांसद त्रिलोकी चौधरी, जसपा नेपालकी नेत्री एवम पुर्व अर्थ राज्यमन्त्री उषा कुमारी यादव, कलैया उपमहानगरपालिकाका प्रमुख विनोद साह लगायतकाले मन्तव्य व्यक्त गर्दै अधिकार प्राप्तीको लागी संघर्ष जायज रहेको बताए ।

बारागढी गाउपालिकाका अध्यक्ष अशोक जयसवालको अध्यक्षतामा भएको उदघाटन समारोहमा बाराका प्रमुख जिल्ला अधिकारी नवराज सापकोटा, प्रहरी उपरिक्षक सुरेश काफ्ले, विभिन्न राजनीतिक दलका नेता, पालिकाका प्रमुख, कर्मचारी, शिक्षक, विद्यार्थी, सुरक्षाधिकारी लगायतको सहभागिता रहेको थियो । नवनिर्मित कार्यालयको प्रशासनिक भवनको मुख्यमन्त्री यादवले फिता काटी शिलालेख अनावरण गरी उदघाटन गरेका थिए ।

यो लेख शेयर गर्नुहोस