बारा– बाराको कलैया उपमहानगरपालिका वडा नं. १६ उत्तरझिटकैयामा सोमवार साझ हरेन्द्र पटेलको घर आंगनमा बालिएको घुर नजिकै एक समुह बसेको भेटिए ।
तराईको महान पर्व छठ, दिपावली सकिएसंगै अहिले जोडोको अनुभव गर्न थालिएपछि उनीहरु घुर बालेर बस्न थालेका हुन । जाडोबाट राहत पाउन उनीहरु घुर अगाडी बसेर हातखुट्टा सेक्न थालेका हुन । दिउसो घाम लागेपनि बिहान र बेलुका अत्याधिक जाडो बढेको महशुस गर्न थालिएको स्थानीय हरेन्द्र कुशवाहाले बताए ।
बुढापाका हुन वा बालबालिकालाई जोगाउन र जाडोको प्रकोपबाट राहत पाउन घुर बाल्न सुरु गरिएको उनले बताए । ‘बिहान, बेलुका धेरै चिसो लागिरहा छ, त्यसैबाट बच्न घुर बाल्न सुरु गरेका छौं,’ उनले भने, ‘घुर बालेपछि वरीपरीका मान्छे आगो ताप्न आउन थालेका छन ।’ करीब दुई साता देखि घुर बाल्न सुरु गरिएको उनले बताए । प्रत्येक दिन ५/७ जना भन्दा बढीले आगो ताप्न आउने गरेको उनले बताए ।
पखले दोमास परेकाले चाडवाड पछाडी धकेलिएको र चाडवाड नसकिदै बारा, पर्सा, रौतहट, सर्लाही लगायत मधेश प्रदेशको ८ वटै जिल्लामा जाडो बढेको अनुभुति गर्न थालिएको स्थानीयहरुको भनाई छ ।
जाडो बढ्न थालेपछि सब भन्दा बढी बालबालिका, वृद्धवृद्धा, मंगन्ते, फुटपाथमा रात कटाउने मान्सिक सन्तुलन गुमाएका व्यक्तीहरु प्रभावित बन्न थालेको कलैयाका व्यवसायी शंकर साहले बताए ।
‘दोमास नपरेको भए अहिले सम्म छठ दिपावली समेत सकिसक्या हुन्थ्यो,’ उनले भने, ‘दोमासलाई नमान्ने हो भने अहिले जाडोको समय हो ।’ त्यही कारण अहिले नै जाडो बढेको महशुस गरिएको हो ।
यसपाली छठ पुजामा सहभागी भएका व्रतालु तथा तिनका आफन्त सबैले अनिवार्य सुईटर, ज्याकेट लगायतका न्यानो कपडा लगाउने अवस्था आएको व्यवसायी साहको भनाई छ ।
दोमासले जाडोको दिन आएको नआएको सर्वसाधारणलाई अलमलमा पारेको स्थानीयहरुको भनाई छ । साझमा चल्ने चिसो हावाले थप जाडो बढाएको वृद्धवृद्धाहरुको भनाई छ ।
सडकमा हिड्दा ठुलो गाडी गुडदा उसको प्रेसरले चलेको हावा धेरै चिसो रहेको अनुभूति गरिएको कलैया भरत चोकमा भेटिएका एक बटुवाले बताए । हुने खानेलाई जाडोले धेरै प्रभाव पार्न नसकेपनि गरीब, विपन्नलाई सबभन्दा बढी प्रभावित बनाउने गरेको उनको भनाई छ ।