रोजगारीको लागी भारत पुगेका नेपाली युवकको काँटीमा रहस्यम मृत्यु

गढी न्यूज
गढी न्यूज पाठक संख्या - 1.8k
6 मि. पढ्न लाग्ने समय

बारा– रोजगारीको लागी भारत विहारको मुजफ्फरपुर काटीमा अवस्थीत एक स्टील उद्योगमा कार्यरत नेपाली युवकको रहस्यमय मृत्यु भएको छ ।

उद्योगमा काम सुरु गरेका बारा कलैया उपमहानगरपालिका १० मटिअर्वा निवासी महेश रामको १८ वर्षीय छोरा नन्दलाल रामको रहस्यमय मृत्यू भएको हो ।

राम असोज ४ गते काम गर्न मुजफ्फरपुर जिल्ला स्थित काँटीमा रहेको ‘माँ भगवती स्टील फैक्ट्री’ मा काम गर्न गएका थिए । उनी पहिला पनि दुई महिना त्यही फैक्ट्रीमा काम गरेर घर फर्किएका थिए ।

उनी माँ भगवती स्टील फैक्ट्रीमा फलाम गलाउने काम गर्दै आएका थिए । घरमा आएको केही समय पछि उनी फेरि आफनो काममा फर्किए । उनका मौसा अमिरका राम त्यही फैक्ट्रीमा फलाम गलाउने काम गर्दै आएका छन् ।

गएको ४ गते मुजफ्फरपुर पुगेका राम असोज ५ गते फैक्ट्रीमा काम गर्न पुगेको पारिवारिक श्रोतले जनायो ।

काम शुरु गरेकै दिन बिहान साढे ३ बजे फलाम गलाउने क्रममा फलामको आगोको कारण उनले लगाएको पाइन्टमा आगो लाग्यो । आगो लागेपछि उनी गुहार भनेर कराउन थालेको रामका मौसाले जानकारी दिए ।

‘म त्यही फैक्ट्रीमा कार्यरत थिए, राम गुहार गुहार गरी कराउन थालेपछि त्यतैतिर दौडेर पुगे’, उनले भने, ‘म आफनो काम छाडेर उनी नजिक आए । तबसम्म पाइन्टमा आगो लागिसकेको थियो ।’ हतार हतारमा उसको पाइन्टको आगो निभाइएको अमिरका रामले बताए ।

त्यसपछि फैक्ट्रीका म्यानेजर अजय सिंहले घाइते रामलाई फैक्ट्री नजिकै पर्ने माँ जानकी अस्पतालमा भर्ना गराउन भने । म्यानेजरको भनाई बमोजिम नै रामलाई मुजफ्फरपुर स्थित माँ जानकी अस्पतालमा भर्ना गरियो । भर्ना पछि उनको स्वास्थ्य अवस्थामा सुधार आएको अनुभुती गरिएका थियौं ।

उनको बाहिरी छाला मात्र डढेको थियो । उनी सबैसँग कुराकानी गर्थे हात खुट्टा चलाउन कुनै समस्या थिएन । राम पाँच दिनसम्म अस्पतालको बेडमा ठीक थिए । पोलेको घाउ पनि पहिला भन्दा निको भए जस्तोे थियो ।

दुई दिन अगाडी मृतकका आमा कुमारी देवी राम र उनका मामा संजय राम नेपालबाट मुजफ्फरपुर स्थित माँ जानकी अस्पताल जहाँ राम भर्ना भएका थिए त्यही पुगे । रामको घाउ पहिला भन्दा निको थियो र दुखाई पनि कम भएको थियो । रामको आमा र मामा अस्पतालमा पुगेपछि यस अस्पतालको व्यवस्थापन राम्रो नभएको कारण विरामी रामलाई अस्पतालबाट रिफर गर्न अनुरोध गरे ।

पाँचौं दिन देखि रामलाई ज्वरो आउन थाल्यो । चिकित्सक सँग सोध्दा पोलाईको कारण ज्वरो आएको हो उनी समान्य छन् । चाँडै ठीक भइहाल्छन भनि जवाफ दिएको उनले भने ।’

विरामीलाई रिफर गर्न दबाब दिएपछि अस्पतालले विरामीलाई बुधवार १३ गते रिफर गर्यो रामका मामा संजय रामले भने, ‘रिफर गरेको केही समय नवित्दै अस्पताल बाहिर ल्याई बसाएको अवस्थामा रामले वान्ता गर्न थाले । वान्तामा पानी मात्र देखियो । स्कारपिओ भाडा गरी ल्याएको केही समय नवित्दै राम शान्त भए । उनको शरीर चिसो हुन थाल्यो । त्यस पछि त्यही अस्पतालको चिकित्सकलाई रामको अवस्था किन विग्रिदै गएको हो भनि चेक गर्न भने । चिकित्सकले रामकोे मृत्यू भइसकेको भनि जवाफ दिए । हामीले अनेक प्रयत्न गर्यो आखिरमा अचानक के भयो ? भान्जा एकै छिनमा कसरी मरे । तर कसैले केही जवाब दिएन ।

आखिरमा त्यहाँ प्रहरी आयो उनीहरुले पनि हाम्रो सहयोग गरेनन् । हामी अनपढ गरीब मान्छे प्रहरीले हामीबाट एउटा कागजमा सही छाप गरायो । त्यसमा के लेखिएको थियो हामीलाई थाहा भएन । कागजमा सही गराएपछि मृतक रामलाई घर लग्न भन्यो हामी रामको लाश लिएर घर आयौ ।’

लाश लिएर आउँदा बोर्डरमा कुनै समस्या भएन उनले भने,‘हामी विहिवार ४ बजे विहान मटिअर्वा नाकाबाट प्रवेश गर्यो तर कोही कसैले चेकजाँच वा कुनै किसिमको अवरोध गरेनन् । अस्पताल बाहिर रामको मृत्यू भएकोले अस्पतालले मृत्यू प्रमाण पत्र समेत दिएन ।

लाश लिएर आउँदा कुनै किसीमको समस्या भएन् ।’ रामको विहिवार सदगद गर्ने कार्य सम्पन्न भएको छ । यता सशस्त्र प्रहरी बल १२ नम्बर गणका प्रमुख सशस्त्र प्रहरी उपरिक्षक रोविनराज कर्णजितले एम्बुलेन्स भएको कारण चेकजाँच नगरेको हुन सक्ने जानकारी दिए ।

भारतबाट लाश लिएर आउँदा समेत चेकजाँच नहुनु सशस्त्र प्रहरीको लापरवाही भएको देखिएको छ । रामको नत पोष्टमार्टम भएको थियो नत मृत्यू सर्टिफिकेट नै थियो । तर पनि उनीहरु विना रोकटोक नेपाल प्रवेश गर्न पाए । हुनत उनीहरु एम्बुलेन्समा भारतबाट नेपाल प्रवेश गरेका थिए । अकास्मीक सेवाको लागि छुट भएपनि भारतबाट नेपाल छिर्दा समेत चेकजाँच नहुनु लापरवाही भएको कलैया उपमहानगरपालिका १० का वडाध्यक्ष शंकर गुप्ताले बताए ।

उद्योगपतिले खर्च दिने डरले ईन्जेक्शन लाएर रामलाई मारेको हुन सक्ने आशंका गाउलेले गरेका छन । उद्योपतिकै ईशारामा भारतिय प्रहरीले शव परिक्षण नै नगराई सदगदको लागी जिम्मा लगाई पठाएको उनले बताए ।

‘एक दुई घण्टा अगाडी सम्म सबै ठीकै थियो,’ नन्दलालकी फुफू मिना देवीले भनिन, ‘नन्दालाललाई चढाउदै गरेको स्लाईन पानीको बोतलमा सेतो कलरको ईन्जेक्शन मिसाएको केही बेरमै उसको निधन भएको हो ।’ स्लाईनमा मिसाएको ईन्जेक्शन जहरको भएको उनले दाबी गरिन । उद्योपतिले घाईते भतिजोको हत्या गर्न लगाएको उनले आरोप लगाईन ।

बाराका प्रमुख जिल्ला अधिकारी कृष्ण बहादुर कटुवालले भारतमा निधन भएपछि त्यहीको प्रहरी मार्फत शवको परिक्षण गराउनु पर्ने बताए । ‘भारतमा मृत्यु भएकोले त्यहीकै प्रहरी प्रशासनले अनुसन्धान गर्न पाउछ,’ उनले भने, ‘नेपाली प्रहरी प्रशासनले केही गर्न सक्दैन ।’ भारतबाट शव ल्याउदा प्रहरीले धेरै सोधखोज नगरेको हुन सक्ने उनले बताए ।

यो लेख शेयर गर्नुहोस