अस्ताउदै गरेको सुर्यलाई अर्घ दिईयो

गढी न्यूज
गढी न्यूज पाठक संख्या - 252
5 मि. पढ्न लाग्ने समय

कलैया(बारा),– तराईमा बसोवास गर्ने हिन्दुहरुको सबै भन्दा ठुलो तथा महान पर्व छठको तेस्रो अर्थात मुख्य दिन आईतवार ब्रतालुहरुले अस्ताउदो सुर्यलाई अर्घ दिएका छन ।

उनीहरुले घर नजिकको पोखरी, नदी, सरोवर आदिमा निर्माण भएको छठी घाटमा सा“झ पख अस्ताउदै गरेको सूर्यलाई बासको सुपुली र दउरामा पुजा सामग्रीहरु राखेर अर्घ दिएका हुन ।
अर्घ दिएर पुजा सामाग्री सहित घर फर्किएपछि भाकल पुरा भएका व्रतालुको घरमा आईतवार राती कोशी पुजा समेत गरिएको कलैया उपमहानगरपालिका १६ उत्तरझिटकैयाकी ब्रतालु कान्ती देवीले जानकारी दिईन ।

बारा सदरमुकाम कलैया लगायत मधेश प्रदेश सहित राजधानी काठमाण्डौ तथा देशका अन्य शहरहरुमा हर्षोउल्लाशका साथ छथ पर्व मनाईदै छ । छठ पर्वको शुक्रवार देखी विधिवत सुरु भएको थियो ।

ब्रतालुहरुले छठ व्रतको पहिलो दिन नहाय खाय विधि पुरा गरेका थिए । उनीहरु शुद्धता पुर्वक आफैले पकाएको सात्वीक भोजन ग्रहन गरेका थिए ।

ब्रत बस्ने महिला/पुरुषहरु खाना खानु अघि नुहाई धुवाई गरी पवित्र भई लसुन प्याज नहालेको शुद्ध घ्यूमा बनाईएको सात्विक खाना खाएर नहाय खाय विधी पुरा गरेका थिए ।

व्रतको दोश्रो दिन शनिवार ‘रसियाउ रोटी’ अर्थात खरना विधी पुरा गरेका थिए । उनीहरुले मिठा, सख्खर, दुध, शुद्ध चामलको प्रयोग गरी माटोको हडियामा रसियाउ र खपरी (माटोको तावा) मा शुद्धता पुर्वका गहु पानीले सफा गरेर घाममा सुकाई सफा गरेको मेसिनमा पिधेर निकालेको पीठोबाट सतर्कता पुर्वक रोटी पकाएर प्रसादको रुपमा खाने गरिन्छ ।

रसियाउ र रोटी छठी माता र घरको देवतालाई चढाए पछि पहिला ब्रतालु महिला (छठैतिन) ले रसियाउ रोटी खान्छन । त्यसपछि परिवारका अन्य सदस्यले प्रसादको रुपमा त्यही रसियाउ रोटी खाएर बस्छन । यो विधीलाई नै रसियाउ रोटी भनिन्छ ।

व्रतालुले पर्वको अन्तिम दिन सोमवार उदाउदै गरेको सुर्यको पहिलो किरणलाई अर्घ दिदै छठ पुजालाई विधिवत समापन गर्छन । पर्व समापन भएको अन्तिम दिन ब्रतालुले गाउ घरमा रहेका ईनार, चापाकल, घरमा भएका सवारी साधन, गाई, गोरु, पति तथा आफ्ना अग्रज, मठमन्दिर आदीमा पुजा गर्दै घर फर्किन्छन । पुजा समाप्त गरेपछि घरमा बनेको मिठो परिकार खाने चलन रही आएको उनले जानकारी दिईन ।‘हिन्दुले मान्ने पर्व मध्ये छठ ब्रत सबै भन्दा कठिन ब्रत मानिन्छ,’ उनले भनिन, ‘यो पर्वमा ब्रतालुले निर्जल, निराहार बस्छन ।’ ब्रत अवधीमा पानी समेत सेवन गर्दैनन । शौच गर्ने बित्तिकै नुहाई धुवाई गरेर नया“ कपडा फेर्ने चलन समेत रहेको उनले बताईन ।

व्रत समाप्त भए पछि छठ पर्वको प्रसाद छर छिमेक ईष्ट मित्र कहा पठाउने र विवाह गरेर गएका छोरी बेटीहरुलाई बायन पठाउने चलन रही आएको नेपाल भोजपुरी प्रतिष्ठान बाराका अध्यक्ष रामप्रसाद साहले बताए ।

छठ पर्व गर्दा चर्मरोग निको हुने, सन्तान प्राप्ती हुने र मनोकांक्षापूर्ण हुने जनविश्वास रहेको कारणले तराई भेगको यो पर्व विस्तारै पहाडी र हिमाली भेगमा समेत मनाउन थालिएको उनले जानकारी दिए ।

श्रद्धाभक्ति र धार्मिक सहिष्णुताको प्रतीकको रुपमा स्थापित छ । तराई मुलका ९५ प्रतिशत हिन्दु महिलाले मान्ने यस पर्वलाई तराई भेगमा बसोबास गर्दै आएका पहाडी मूल, माडवारी र बङ्गाली समुदायका महिलाहरुले समेत अत्यन्त श्रद्धा र भक्ति पूर्वक मान्ने परम्परा बढदै गएको उनले जानकारी दिए ।

खासगरी महिलाहरुले बस्ने यस ब्रत बस्न कुनै कारण घरकाने महिला असमर्थ भएको खण्डमा परिवारका पुरुष सदस्यले यो ब्रत बसेर भए पनि ब्रतलाई निरन्तरता दिनु पर्ने मान्यता रही आएको छ ।

छठ पर्वको लागी अनिवार्य मानिने पुजा सामग्रीहरुमा माटोको भाडो (ढकनी), हात्ती, दियो, बासको भाडाहरु (दौरी, सुपुली, छैंटी), उखु, नरिवल,आलसको तेल, फलफुल, चिनीको विशेष किसिमको मिठाई बतासा, पहेलो धोती आदि पर्दछन ।

रोजगारीमा बाहिरिएकाहरुबाट गाउ भरिभराउ

जिवीको पार्जनका लागी राजधानी काठमाण्डौं लगायत नेपालकै कुना कप्चा तथा भारतको दिल्ली, मुम्बई, लुधियाना लगायतका शहरहरुमा कमाउन गएका बाराका युवाहरु छठ पर्वका लागी घर आई पुगेका छन ।

गाउ बाहिर बस्नेहरु घर फर्किएपछि गाउ युवा जमातले भरिभराउ भएको छ । अहिले गाउमा निकै चहलपहल बढेको स्थानीयले बताएका छन ।
अहिले छठघाटहरुमा छठीमाताको गितहरु चोक चौराहामा घन्की रहेको छ । यहा“का छठीघाटहरु दुल्ही झै सिंगारिएका छन । धेरै स्थानमा अहिले पनि छठ घाट सिंगार्ने काम जारी रहेको स्थानीयले जानकारी दिएका छन ।

ट्याग्स : , , , ,
यो लेख शेयर गर्नुहोस