बारा– बाराको सिम्रौनगढ नगरपालिकाबाट प्रहरीले दुई थान पेस्तोल र १० राउण्ड गोली सहित पाच जनालाई बिहिवार पक्राउ गरेको छ ।
ईलाका प्रहरी कार्यालय सिम्रौनगढका प्रमुख प्रहरी निरिक्षक रविभूषण यादवको नेतृत्वमा खटिएको टोलीले सिम्रौनगढ नगरपालिका वडा नं. ११ भगवानपुरबाट पाचै जनालाई अवैध हतियार र गोली सहित पक्राउ गरेको हो ।
स्थानीय ४० वर्षिय उपेन्द्र पटेलले आफ्नो घरको कोठामा अवैध रुपमा हतियार लुकाई छिपाई राखेको सूचनाको आधारमा प्रहरीले घर खानतलासी गरी उक्त हतियार बरामद गरेको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता डिएसपी दधिराम न्यौपानेले जानकारी दिए ।
पटेलको घरमा बिहान ८ बजे खानतलासी गर्दा एक थान रिभाल्वर पेस्तोल र सो पेस्तोलमा लाग्ने ७ राउण्ड गोली, एक थान नलकटुवा पेस्तोल र सोमा लाग्ने एक थान गोली र के.एफ. १२ लेखिएको जंगी राउण्ड २ थान गोली समेत बरामद गरिएको डिएसपी न्यौपानेले जानकारी दिए ।
अवैध हातहतियार सहित घरधनी ४० वर्षिय उपेन्द्र पटेल, २७ वर्षिय धिरेन्द्र पटेल, ६२ वर्षिय रुपलाल पटेल, रौतहट बौधीमाई नगरपालिका वडा नं. २ बस्ने ४४ वर्षिय राजमंगल पटेल, सोही ठाउ बस्ने ८० वर्षिय शोभा राउतलाई पक्राउ गरी आवश्यक कानुनी कारवाहीको लागी जिल्ला प्रहरी कार्यालय बारामा ल्याईएको उनले जानकारी दिए ।
पक्राउ परेका पाचै जनालाई जिल्ला प्रहरी कार्यालय बाराको प्रहरी हिरासतमा राखी घटनाबारे थप अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।