बारा– बाराको सिम्रौनगढ नगरपालिकामा कार्यरत करारका कर्मचारी र तलब नपाएका शिक्षकहरु विगत २४ दिन देखी कार्यालयमा तालाबन्दी गरी आन्दोलन जारी राखेका छन ।
धर्नाबाट माग सम्बोधन हुने अवस्था नदेखिएपछि आन्दोलनरत शिक्षक/कर्मचारीले छठ पछि आन्दोलनलाई अझ कडा बनाउने चेतावनी दिएका छन ।
पीडित कर्मचारी तथा शिक्षकहरुको माग संम्बोधन गर्न सिम्रौनगढका मेयर किशोरी प्रसाद जयसवालले चासो नदेखाएको आरोप लगाईएको छ । सिम्रौनगढ नगरपालिकाको कार्यालयमा ताल्चा लगाएर कार्यालय नजिकैको सडक पेटीमा निरन्तर आन्दोलन गरीरहेका कर्मचारी तथा शिक्षकलाई मेयर जयसवालले वास्ता नगरेको पीडितहरुको भनाई छ ।
करारका कर्मचारी र शिक्षकहरु धर्ना सूरु गरेको झन्डै २४ दिन पुगीसक्यो र मेयर जयसवालले अहिले सम्म कुनै वास्ता नगरेको पीडित शिक्षक उमाशंर कुमार यादवले गुनासो गरे ।
नगर शिक्षा समितीका संयोजक समेत रहेका प्रधानाध्यापक यादवले आफुहरुको माग सुनुवाई नभए छठ पछि नयाँ किसिमले आन्दोलन गर्ने चेतावनी समेत दिए । ‘हामीले लामो समयदेखी धर्नामा बस्दा पनि मेयरले वास्ता गरेनन्,’ उनले भने, ‘भोकै पेट आन्दोलन गर्न वाध्य भएका छौं ।’ आन्दोलनरत कर्मचारीलाई काम गर्ने वातावरण बनाउन र नगरका शिक्षकलाई छठ पर्व भन्दा अगाडी तलब खुवाउन आफुहरु आग्रह गरेको उनले बताए ।
नगरको शिक्षक आन्दोलनमा उत्रिदा विद्यालयका पठनपाठनमा प्रत्यक्ष रुपमा असर परीरहेको छ । काम गरेको कर्मचारीले तलब नपाउदा चाडवाडमा बालबच्चा र परिवारलाई समेत असर पर्ने देखिएको उनले बताए ।
उनका अनुसार आफुहरुको दुईवटा माग मात्र छ । कर्मचारीको बक्यौता तलब भुक्तानी र कर्मचारीलाई काम गर्ने वातावरण बनाईदिनु पर्ने माग सम्बोधन मेयर साहेबले गरीदिए आफुहरु नियमित काममा फर्किने उनले जानकारी दिए ।
सिम्रौनगढका नगरपालिकाका मेयरले वास्ता नगरेपछि आन्दोलन लम्बिदै गएको र आन्दोलनलाई सट डाउन गर्ने काम नभएर छठ पछि आन्दोलनलाई अझ काडा र आक्रामक बनाउने चेतावनी समेत आन्दोलनरत करारका कर्मचारी र शिक्षकले दिएका छन ।
मेयर जयसवालले राजनीतिक प्रतिशोध साधेर काम गरीरहेको करारका कर्मचारीलाई हटाएर आफ्नो दल तथा नजिकका मान्छेलाई नियुक्त गर्न थालेपछि आफुहरु बेरोजगार हुनु पर्ने अवस्था आएको पीडित करार ज्यालादारी नगर कर्मचारी संघका अध्यक्ष नितेश कुमार यादवले बताए । ‘कर्मचारी भर्नामा विभेदकारी नीति ल्याईएपछि आफुहरु विरोधमा उत्रेका हौं,’ उनले भने, ‘करारमा कार्यरत स्वास्थ्यकर्मी, ज्यालादारी मजदुर, कर्मचारी सबै आन्दोलनमा छौं ।’ आफुहरुलाई नगर प्रमुख यादवले समस्यामा पारेपछि आन्दोलनमा उत्रिन वाध्य हुनु परेको उनले बताए ।
नगरपालिकामा कार्यरत भन्डै डेढ सय करारका कर्मचारीले विगत एक वर्ष देखी तलब नपाएको र तलब नपाएपछि वाध्य भएर आन्दोलनमा उत्रिनु परेको उनले बताए ।
छठ पछिको आन्दोलन कडा र उग्र रुप लिने चेतावनी समेत उनले दिए । यसको सबै जिम्मेवारी नगरप्रमुख जयसवालले लिने उनले जिकिर गरे ।
कार्यालयमा तालाबन्दी गरी शिक्षक कर्मचारी आन्दोलनमा उत्रिएपछि सिम्रौनगढ नगरपालिकाबाट प्रशासनिक, विकास निर्माण लगायतका सेवा ठप्प भएपछि सेवाग्राही समस्यामा परेका छन ।