बाल एकताका प्रिन्सिपल रुपेश स्वर्णकारलाई न्याय दिलाउन कलैयामा आन्दोलन जारी दुईअर्थी व्यानरले अन्यौल सृजना

गढी न्यूज
गढी न्यूज पाठक संख्या - 1.6k
3 मि. पढ्न लाग्ने समय

बारा– भारतिय अपराधी समुहद्वारा गोली हानी हत्या गरिएका बाल एकता ईङ्गलिस बोर्डिङ्ग स्कुल कलैयाका प्रिन्सिपल रुपेश स्वर्णकारलाई न्याय दिलाउन माग गर्दै कलैयामा जारी आन्दोलनले अन्यौल सृजना गरेको छ ।

प्रिन्सिपल स्वर्णकारको हत्याको कारण विषयमा बाराका प्रमुख जिल्ला अधिकारी नवराज सापकोटाले दिएको अभिव्यक्तीबाट असन्तुष्ट बनेको पीडित परिवार तथा तिनका आफन्तले घटनाको निष्पक्ष छानबीनको माग गर्दै निरन्तर दबाब दिन थालेका छन ।

प्रमुख जिल्ला अधिकारी सापकोटाले दिएको अभिव्यक्ती पछि असन्तुष्ट बनेका मृतक परिवार सहित कलैयाका राजनीतिक दलका नेता, निर्वाचित जनप्रतिनिधी, सांसद, प्रदेशसभा सदस्य, व्यवसायी, शिक्षक, निजी विद्यालयका संचालक सबै प्रहरीको पत्रकार सम्मेलनपछि झन्न बिच्किएका छन ।

उनीहरुले मृतक परिवालाई न्याय दिलाउन आन्दोलनलाई निरन्तता दिन थालेका छन । कहिले दिप प्रज्वलन त कहिले मौन जुलुश समेत निकाल्न थालेका छन ।

सोमवार पनि आन्दोलनलाई निरन्तरता दिदै प्याब्सन र एनप्याब्सनको आहवानमा निजी विद्यालय संचालक तथा निजी विद्यालयमा कार्यरत शिक्षकहरुले दिउसो एक बजे देखी पेन डाउन गरी विरोध प्रदर्शन गरेका छन । उनीहरुले सोमवार साझ पनि कलैया भरत चोकमा दिप प्रज्वलन कार्यलाई निरन्तरता दिएका छन ।

कलैया स्थित रामजानकी मन्दिर परिसरबाट आईतवार निस्केको मौन जुलुशमा सहभागीहरुले दुईअर्थी प्लेकार्ड बोकेपछि सर्वसाधारण आश्चर्यमा परेका थिए ।

एउटै जुलुशमा बाल एकता ईङ्गलिस बोर्डिङ्ग स्कुल कलैयाका प्रिन्सिपल रुपेश स्वर्णकारलाई न्याय देउ, हत्या हिंसा बन्द गर, हत्यारालाई पक्राउ गर, निर्दोशलाई रिहा गर, चरित्र हत्या गर्न पाईदैन, जस्ता प्लेकार्ड बोकेको देखेर स्थानीयहरु आश्चर्यमा परेका थिए ।

उनीहरुले जुलुश रुपेशलाई न्याय दिलाउन भएको हो कि प्रहरीले पक्राउ गरेको दुई युवकलाई छोडाउनको लागी भएको हो आफुहरु बुझ्नै नसकेको स्थानीयले स्थानीय संचारकर्मीसंग प्रतिप्रश्न गरे । आन्दोलनकारीले बोकेको ब्यानरमा रेयाज अन्सारी र जमिल अख्तर निर्दोष हुन लेखिएको थियो ।

बाल एकता ईङ्गलिस बोर्डिङ्ग स्कुल कलैयाका प्रिन्सिपल रुपेश स्वर्णकारलाई न्याय देउ भनि आन्दोलन थालेका आन्दोलनकारीले दुबै युवक निर्दोष रहेको भन्दै उनीहरुको रिहाईको माग समेत गरेका छन ।

आन्दोलनकारीले उठाएको यो मागले नागरिक नै न्यायधिश भएको धारणा स्पष्ट पारेको स्थानीयले बताए । प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरीरहेको व्यक्ती निर्दोष हुन भने दोषी को हो ? कस्ले स्पष्ट पार्ने भने प्रश्न उब्जिएको नागरिक अगुवाहरुले बताएका छन ।

मुद्दा अदालतमा पुग्न नपाउदै अनुसन्धानको लागी प्रहरी नियन्त्रणमा परेको व्यक्तीलाई आन्दोलनकारीले सफाई दिनु अनुचित भएको नागरिक अगुवाहरुको भनाई छ ।

नागरिक अगुवाहरुले हत्यामा संलग्न अपराधीलाई यथाशिघ्र कानुनी दायरामा ल्याई कारवाही गर्न माग समेत गरेका छन । घटनालाई ढाकछोप गर्न निर्दोष व्यक्तीलाई प्रहरीले फसाउन नहुने जिकिर नागरिक अगुवाहरुको छ ।

दुई वटा मोटरसाईकलमा चार जनाको संख्यामा आएका अपराधी समुहले ३९ वर्षिय स्वर्णकारलाई चार राउण्ड गोली प्रहार गरी कार्तिक १३ गते मध्यान्ह साढे १२ बजे हत्या गरेको थियो ।

कलैया ६ स्थित मदर्सा टोलमा रहेको ग्रिन सिटी बोर्डिङ्ग स्कुल अगाडी ती पअराधिक समुहले छाती, टाउको र घाटीमा गोली प्रहार गरी स्वर्णकारको हत्या गरेको जिल्ला प्रहरी कार्यालय बाराको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

ट्याग्स : , , , ,
यो लेख शेयर गर्नुहोस