बारा– अपराधी समुहद्वारा गोली हानी हत्या गरिएका बाल एकता ईङ्गलिस बोर्डिङ्ग स्कुल कलैयाका प्रिन्सिपल रुपेश स्वर्णकारलाई न्याय दिलाउन माग गर्दै कलैया भरतचोकमा शनिवार सामुहिक दिप प्रज्वलन गरिएको छ ।
जिल्लाका विभिन्न राजनैतिक दलका नेता, कार्यकर्ता, शिक्षक, व्यवसायी, समाजसेवी, विद्यार्थी लगायतले मृतक स्वर्णकारको तस्विर उल्लेखित व्यानर सहित भरत चोकमा विशाल दिप प्रज्वलन गरेका हुन ।
उनीहरुले साझ पौने ६ बजे देखी पौने ७ बजे सम्म एक घण्टा चोकमा दिप प्रजवलन गरेको कार्यक्रममा सहभागी शिक्षिका मिरा अधिकारीले जानकारी दिईन ।
दुई वटा मोटरसाईकलमा चार जनाको संख्यामा आएका अपराधी समुहले ३९ वर्षिय स्वर्णकारलाई चार राउण्ड गोली प्रहार गरी कार्तिक १३ गते मध्यान्ह साढे १२ बजे हत्या गरेको थियो ।
कलैया ६ स्थित मदर्सा टोलमा रहेको ग्रिन सिटी बोर्डिङ्ग स्कुल अगाडी ती पअराधिक समुहले छाती, टाउको र घाटीमा गोली प्रहार गरी स्वर्णकारको हत्या गरेको जिल्ला प्रहरी कार्यालय बाराको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
घटनापछि मृतक परिवारले प्रेस वक्तव्य जारी गरी मृत्युपरान्त प्रहरी प्रशासनले रुपेशको चरित्रहत्या गर्ने किसिमको तथ्य बाहिर ल्याएको र घटनालाई अन्यत्र मोड्न खोजेको आरोप लगाएका छन ।
पीडित परिवारको प्रतिक्रियापछि दबाबमा परेको जिल्ला प्रशासन कार्यालय बाराले कार्तिक १७ गते एक प्रेस विज्ञप्ती जारी गरी अज्ञात व्यक्तीबाट गोली हानी हत्या भएको सम्बन्धमा बाराका प्रमुख जिल्ला अधिकारी नवराज सापकोटाले मिडियामा प्रस्तुत गर्नु भएको निज रुपेश कुमार स्वर्णकार र निजी विद्यालय संचालक, बारावासी जनतामा पर्न गएको दुःखलाई मध्यनजर गर्दै उक्त विवरण फिर्ता लिदै कडाईका साथ अनुसन्धान गरी सो घटनाको यथार्थ विवरण यथाशक्य चाडो जानकारी गराईने जनाएको छ ।
प्रमुख जिल्ला अधिकारीले दिएको वक्तव्यलाई फिर्ता लिएको भनी जारी भएको विज्ञप्तीको विषयलाई लिएर आम नागरिक समाज, राजनीतिककर्मी, बुद्धीजिवी जिल्लाको शान्ती सुरक्षाप्रति थप चिन्तित बनेका छन ।