विनाशकारी भूकम्पमा परी एक सय २८ जनाको मृत्यु, उद्धार कार्य जारी

गढी न्यूज
गढी न्यूज पाठक संख्या - 475
3 मि. पढ्न लाग्ने समय

रुकुम– जाजरकोटको रामेडाँडा केन्द्रबिन्दु भएर शुक्रवार मध्यरातीमा गएको विनाशकारी भूकम्पमा परेर मृत्यु हुनेको संख्या एक सय २८ पुगेको छ ।

प्रहरीको पछिल्लो रिपोर्ट अनुसार जाजरकोटमा ९२ र रुकुम पश्चिममा ३६ जना गरी एक सय २८ जनाको मृत्यु पुष्टी भईसकेको जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रहरी प्रमुख डीएसपी सन्तोश रोक्काले जानकारी दिए ।

ठाउ ठाउमा सुख्खा पहिरो गएकोले जिल्लाको सडकहरु अवरुद्ध भएको र त्यसले उद्धार कार्यलाई प्रभावित बनाएको डिएसपी रोक्काले जानकारी दिए ।

भूकम्पका कारण भेरी नगरपालिका स्थित खलङ्गा बजार र नलगाड नगरपालिकामा सब भन्दा बढी क्षति पुगेको प्रहरीले जनाएको छ । ज्यान गुमाउनेहरुमा भेरी नगरपालिकाका, नलगाड नगरपालिकाका, कुशे गउँपालिका र छेडागाड नगरपालिकाका रहेका छन् ।

त्यस्तै अहिलेसम्म भूकम्पमा परी कम्तीमा ५५ जना घाइते भएको विवरण प्राप्त भएको डीएसपी रोक्काले जानकारी दिए । घाइतेहरु मध्ये ५ जनालाई थप उपचारका लागि प्रादेशिक अस्पताल सुर्खेत पठाइएको छ भने बाँकीको उपचार जिल्ला अस्पताल र अन्य स्थानीय स्वस्थ्य संस्थामा भइरहेको प्रहरीले जनाएको छ ।

त्यस्तै छिमेकी जिल्ला रुकुम पश्चिममा पनि भूकम्पले ठूलो क्षति गरेको छ । जिल्ला प्रहरी प्रमुख डीएसपी नमराज भट्टराईका अनुसार रुकुम पश्चिममा अहिले सम्म ३६ जनाको मृत्यु भएको छ ।

रुकुम पश्चिममा भूकम्पमा परी ८५ जना घाइते भएका छन् । यस मध्ये ९ जनाको अवस्था गम्भीर भएकाले हेलिकप्टर मार्फत उद्धार गर्ने तयारी भइरहेको उनले जानकारी दिए ।

बाँकी अन्य घाइतेहरुको उपचार जिल्ला अस्पताल र चौरजहारी अस्पतालका साथै विभिन्न स्वास्थ्य संस्थामा भइरहेको बताइएको छ । तीनवटै सुरक्षा निकायको सक्रियतामा घाइतेहरुको उद्धार लगायतका काम भइरहेको दुवै जिल्लाका सुरक्षा प्रमुखहरुले बताएका छन् ।

भूकम्पका कारण मध्य पहाडी लोकमार्गको कालेखोलामा सुख्खा पहिरो जाँदा सडक अवरुद्ध भएको छ भने, रुकुम पश्चिमको आठबीसकोट जाने सडक पनि दुई स्थानमा पहिरो जाँदा अवरुद्ध छ । यसकारण पनि उद्धारमा केही ढिलाइ भएको र जसोतसो घाइतेहरुको उद्धार कार्य चलिरहेको र सडक खुलाउने प्रयास भइरहेको रुकुम पश्चिमका प्रहरी प्रमुख भट्टराईले जानकारी दिए ।

भुकम्पका कारण ठुलो जनधनको क्षति भएको र मृतकको संख्या अझ बढ्न सक्ने अनुमान समेत गरिएको सुरक्षाधिकारीहरुले बताएका छन ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार शुक्रबार राति जाजरकोट केन्द्रविन्दु भएर गएको भूकम्पपछि चार घण्टाको अवधिमा ४ म्याग्निच्युडभन्दा माथिका तीनवटा परकम्प गएका छन् ।

‘गएरातिको भूकम्प आफैंमा परकम्प हो,’ केन्द्रका एक भूकम्पविद्ले भने, ‘अरु साना कैयौं परकम्पहरु गएका छन् । ४ रेक्टर भन्दा माथिका तीनवटा परकम्प मापन भएको छ ।’ जाजरकोटको रामिडाँडा आसपास केन्द्रविन्दु बनाएर ११ बजेर ४७ मिनेटमा ६ दशमलब ४ म्याग्निच्युडको भूकम्प गएको थियो । जमिनको सतहबाट करिब १० देखि १२ किलोमिटर मुनि भूकम्पको केन्द्र रहेको भुकम्पविदहरुले अनुमान गरेका छन ।

यो लेख शेयर गर्नुहोस