सिडिओ कार्यालयबाटै समयमा सेवा पाउन कठिन

गढी न्यूज
गढी न्यूज पाठक संख्या - 1.2k
4 मि. पढ्न लाग्ने समय

पवन यादव

बारा– सेवाग्राहीलाई सेवा दिने, सरकारी कार्यालयको व्यवस्थापन तथा निगरानी गर्ने निकाय सिडियो कार्यालय बाराबाटै दुःख पाउन थालिएको पीडितहरुले गुनासो गरेका छन ।

सबैको गुनासो सुन्ने जिल्ला प्रशासन कार्यालयमा हुने गरेको गुनासो कहा सुनाउने ? पीडितहरुको भनाई छ । उक्त कार्यालयबाट सेवा पाउन धेरै कठिनाई व्योहोर्नु परेको पीडित सेवाग्राहीको भनाई छ ।

संघिय सरकार मातहतमा रहेको जिल्ला प्रशासन कार्यालयबाट सेवाग्राहीले सरल तरिकाले सेवा सुविधा पाउन नसकेको दिनहु गुनासो आउन थालेको छ ।

कार्यालयले नियमित रुपमा संचालन गर्दै आएको सेवा पाउन सेवाग्राहीहरु दिनभरी कुर्नु पर्ने बाध्यता रहेको पीडितहरुले बताएका छन ।

चुस्तदुरुस्त सेवा प्रदान नगर्ने कार्यालयलाई निगरानी गर्ने तथा पीडित सेवाग्राहीहरुको गुनासो सुन्ने कार्यालयबाटै सेवाग्राही पीडित बनेको कलैया उपमहानगरपालिका २४ सखुई निवासी आकाश यादवले गुनासो गरे ।

‘छात्रबृत्तीको लागि फारम भर्न नागरिकता अनिवार्य छ,’ उनले भने, ‘नागरिकता बिना कुनै कामै हुदैन ।’ बालिक भएपछि राज्यले नागरिकता पाउनु पर्ने कानुनी व्यवस्था छ ।

नेपाली नागरिकको पहिचान पत्रको रुपमा रहेको नागरिकता सहज रुपले पाउनु पर्छ । नागरिकता पाउनु आम नागरिकको अधिकार हो । तर नेपाल सरकारले उपलब्ध गराएको अधिकार प्राप्त गर्न सबै काम छाडेर हप्तौं दिनसम्म जिल्ला प्रशासन कार्यालय धाउनु पर्ने बाध्यता रहेको यादवले आरोप लगाए ।

निरन्तर १० दिन सम्म जिल्ला प्रशासन कार्यालय धाएपछि आफुले नागरिकता पाएको उनले बताए ।

नागरिकता बनाउन आएका प्रायः सेवाग्राहीले कम्तीमा ४÷५ दिन सम्म कार्यालयमा धाउनु परेको बाराको भोडहाका एक सेवाग्राहीले नाम नछाप्ने शर्तमा बताए ।

‘दिनभरी कार्यालयमा पालो पर्खेर लाईनमा बस्दा पनि यो पुगेन, त्यो पुगेन भन्दै कर्मचारीले कामै गर्दैन्न,’ उनले भने, ‘दिनभरी लाईन कुर्दा पनि साझमा रितै हात फर्किनु पर्छ ।’ कार्यालयका कर्मचारीबाट दिनहु यस्तो नियती दोहोरी रहेको ती सेवाग्राहीको भनाई छ ।

नागरिकता फाँटका प्रशासकिय अधिकृत अनिता कुमारी राजलवटले झर्को मानेर सेवाग्राहीसंग राम्रोसँग कुरै नगर्दा झन्न पीडित बन्नु परेको पीडिहरुको गुनासो छ ।

समयमै नयाँ नागरिकता र नागरिकताको प्रतिलिपी नपाउँदा सेवाग्रहीहरु हैरानी व्यहोर्नु परेको पीडितको भनाई छ ।

जिल्ला प्रशासन कार्यालयमा कार्यरत कर्मचारीहरुको कारणले समस्या झल्दै आएका सेवाग्रहीहरुमा निराशा बढदै गएको बारा नागरिक समाजका अध्यक्ष उमेशलाल दासले बताए ।

‘कार्यालयमा आएका सेवाग्राहीलाई सहज रुपले सेवा पाउने वातावरण मिलाउने दायित्व कार्यालय प्रमुखकै हो,’ उनले भने, ‘यसलाई कार्यालय प्रमुखले गम्भिरताका साथ लिनु पर्दछ ।’ बाराका प्रमुख जिल्ला अधिकारीले कार्यालयमा रहेका कमी कमजोरीलाई हटाउदै सेवालाई सहज बनाउनु पर्नेमा दासको जोड छ ।

नागरिकता र प्रतिलिपी लिन मात्रै दिन दिनै भरी लाइनमा उभिएका सेवाग्राहीलाई कर्मचारीहरुले अर्को दिन सम्पर्क गर्न भनी फर्काउने गरेको गुनासो आफुले पनि सुनेको उनले बताए ।

दिन भरी लाईनमा बसेपछि नागरिकता बनाई दिन वा नागरिकताको प्रतिलिपी बनाइ दिन भन्दा कर्मचारीले रिसाएर कुरा गर्ने गरेको सेवाग्रहीहरुको आरोप छ ।

जिल्ला प्रशासन कार्यालय बाराका प्रशासकिय अधिकृत मुरारी कार्कीले अहिले नागरिकता बनाउने सेवाग्राहीहरुको संख्या बढेको र कर्मचारीहरुको संख्या कम रहेकोले नागरिकता बनाउन र प्रतिलिपी लिनमा समय लाग्ने गरेको बताए ।

सेवाग्राहीहरुको संख्या बढेकोले नागरिकता लिन आउनेलाई ३÷४ दिन लाग्ने गरेको उनको भनाई छ ।

नागरिकताको प्रतिलिपी लिनमा पुरानो फाईलहरु हेर्नु परेकाले त्यसमा अलि बढी समय लाग्ने गरेको र ढिलो चाडो गरेर सेवाग्रहीहरुलाई सेवा दिने कार्य भईरहेको कार्कीले बताए ।

बाराका प्रमुख जिल्ला अधिकारी कृष्ण बहादुर कटुवालले कार्यालयबाट प्रदान हुदै आएको सेवालाई छिटोछरितो बनाउन आफु लागी परेको बताए । दुई जना अधिकृतको भरमा कार्यालयको कामकाज संचालन हुदै आएको बताउदै प्रमुख जिल्ला अधिकारी बटुवालले कार्यलयमा कर्मचारी थप्न मन्त्रालयसंग समन्वय भईरहेको बताए ।

पहिलाको तुलनामा अहिले कार्यालयबाट प्रदान गरिदै आएको सेवामा सुधार भएको दाबी उनले गरे ।

नागरिकता वीतरण कार्यलाई सहज बनाउन आफुले पनि काम गर्न पछि नपर्ने र सेवाग्रहीको पीरमर्कालाई ध्यानमा राखेको उनले बताए ।

यो लेख शेयर गर्नुहोस