राष्ट्रसंघका महासचिव भन्छन् : गाजामा अन्तर्राष्ट्रिय कानुनको उल्लंघन भयो

गढी न्यूज
गढी न्यूज पाठक संख्या - 224
2 मि. पढ्न लाग्ने समय

काठमाडौँ — संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले गाजा क्षेत्रमा बिना सर्त दुवै पक्षले तत्काल युद्धविरामको घोषणा गर्नुपर्ने बताएका छन् । उनले इजरायली सेना र प्यालेस्टाइनको हमास समूह बिच चर्किएको द्वन्द्वले अन्तर्राष्ट्रिय कानुनको उल्लंघन भएको पनि बताएका छन् ।

हमासले अक्टोबर ७ का दिन दक्षिणी इजरायलमाथि अप्रत्यासित आक्रमण गरेर १४ सय नागरिकको ज्यान लिएसँगै इजरायलले विशेष गरेर गाजा क्षेत्रमा आफ्नो जल, थल र वायु सेनाको प्रयोग गरेर निरन्तर आक्रमण गरिएको छ । इजरायलको आक्रमणका कारण हजारौं प्यालेस्टाइन नागरिकको ज्यान जानुका साथै लाखौं घरबार विहिन भएका छन् ।

१५ सदस्यीय राष्ट्र संघको सुरक्षा परिषद्‍लाई सम्बोधन गर्दै गुटेरेसले निर्दोष सर्वसाधारणहरूको अधिकारलाई दुवै पक्षले कुण्ठित पार्न नहुने र यसले द्वन्द्वलाई चर्काउन मात्रै मद्दत पुग्नेमा सचेत रहन समेत आग्रह गरेका थिए ।

हमासले गरेको हमला शून्यतामा भएको होइन भनेर पनि बुझ्न जरुरी छ । प्यालेस्टिनी जनता ५६ वर्षदेखि दमनकारी कब्जामा परेका छन्, उनले भने ,तर प्यालेस्टिनी जनताको गुनासोलाई हमासको डरलाग्दो आक्रमणलाई न्यायोचित ठहराउन सक्दैन । र त्यो डरलाग्दो आक्रमणहरूका कारण प्यालेस्टिनी जनता सामूहिक दण्डको भागी हुन सक्दैनन् ।

इजरायलको नाम नलिइ आलोचना गर्दै गुटेरेसले भने, नागरिकहरूको सुरक्षा गर्नु भनेको दश लाखभन्दा बढी मानिसहरूलाई आश्रय, खाना, पानी, औषधि र इन्धन नै नभएको दक्षिणतिर लखेट्नु होइन । र, त्यहाँ पनि आक्रमण र बम विष्फोट गर्न जारी छ ।

इजरायली अधिकारीहरूले महासचिव गुटेरेसको सम्बोधन प्रति आपत्ति जनाउँदै उनले राजिनामा दिनुपर्ने बताएका छन् । इजरायली विदेश मन्त्रालयका प्रवक्ता लिअर हयातले बीबीसीसँग कुराकानी गर्दै महासचिव गुटेरेसले मंगलबार दिएको भाषणलाई अपमानजनकु भनेर टिप्पणीसमेत गरेका छन् । हयातका अनुसार गुटेरेसको भनाइले आतंकवादलाई बढावा दिएको छ ।

यो लेख शेयर गर्नुहोस