बारा– तयारी कुखुरा सहित किराना, हार्डवेयर, कस्मेटिक, खाद्यान तथा लताकपडा भारतबाट अवैद्ध रुपले नेपाल भित्रियाउने घटना सबैले सुनी राखेका थियौं । सुरक्षाकर्मीले तस्करीको माल सामान बरामद गरेर घटना सार्वजनिक गर्दै आएको थियो ।
नेपालमा महंगो पर्ने मालवस्तुको भारतबाट नेपाल तर्फ तस्करी हुने गरेको र नेपालमा सस्तो पर्ने मालवस्तु भारत तर्फ तस्करी भएको समाचार बाहिर आउने गरेको थियो । तर पछिल्लो समय भारतबाट नेपाल तर्फ कुखुराको मासुको तस्करी भईरहेको खुलासा भएको छ ।
पशु क्वारेन्टाईन कार्यालय बीरगंज अन्र्तगतका चेक पोष्ट मटिअर्वा बारा र सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट बरैनियाबाट संयुक्त रुपमा खटिएको टोलीले भारतबाट नेपाल तर्फ भित्रियाउदै गरेको अवस्थामा ५० किलो बोईलर कुखुराको तयारी मासु बरामद गरेपछि मासु तस्करीको खुलासा भएको हो ।
संयुक्त टोलीले बाराको विश्रामपुर गाउपालिका वडा नं. ३ मुसहर्वा नाकाबाट बिहिवार बरामद गरेको उक्त कुखुराको तयारी मासु करीब २० हजार रुपैयाँ मुल्य बराबरको रहेको पशु क्वारेन्टाईन कार्यालय बीरगंजका प्रमुख डा. हरेराम यादवले जानकारी दिनु भयो । बरामद भएको मासु सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट बरैनियाको प्रांगणमा खाल्डोमा पुरेर नष्ट गरिएको उहाले जानकारी दिनु भयो ।
सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट बरैनियाका प्रमुख सशस्त्र प्रहरी निरिक्षक दिपक थापा, सोही पोष्टका सशस्त्र प्रहरी सहायक निरिक्षक विशम्भर पासवान, पशु क्वारेन्टाईन कार्यालय बीरगंज अन्र्तगतका चेक पोष्ट मटिअर्वाका प्रतिनिधी विनोद यादव, विश्रामपुर गाउपालिका ३ का स्थानीय दिनेश महतो लगायतको उपस्थितीमा बरामद भएको मासु खाल्डोमा गाडेर नष्ट गरिएको जनाईएको छ ।
नेपालमा कुखुराको मासुको मुल्य चर्को र खुल्ला सिमा नाकाको फाईदा उठाउदै तस्करले पछिल्लो समय भारतबाट नेपाल तर्फ मासु तस्करी गर्न थालेको स्थानीयले बताएका छन ।
समय समयमा पशु क्वारेन्टाईन कार्यालय बीरगंजले यस्ता कार्यलाई निरुत्साहित तथा नियन्त्रण गर्न स्थानीय प्रहरी प्रशासनसंग समन्वय गर्दै आईरहेको कार्यालय प्रमुख डा. यादवले जानकारी दिनु भयो ।