बारा– ठुलो परिमाणमा भन्सारछलीको माल सामान सहित दुई वटा ट्रकलाई बारा प्रहरीले बिहिवार पथलैयाबाट नियन्त्रणमा लिएको छ ।
बीरगंजबाट मालसामान बोकेर काठमाण्डौं तर्फ जादै गरेको दुबै ट्रकलाई प्रहरी चौकी पथलैयाबाट खटिएको प्रहरी टोलीले जितपुरसिमरा उपमहानगरपालिका १ पथलैया चोकबाट चेकजाचको क्रममा नियन्त्रणमा लिएको हो ।
विशेष सूचनाको आधारमा खटिएको प्रहरी टोलीले भन्सारछलीको मालसामान बोकेको ना ६ ख ७१ नम्बर र बा ४ ख ११२५ नम्बरको ट्रकलाई रोकेर चेकजाच गर्दा बिल विजक भन्दा बढीको खुद्रा सामान बोकेको पाईएपछि दुबै ट्रकलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता डिएसपी दधीराम न्यौपानेले जानकारी दिए ।
नियन्त्रणमा लिईएको ना ६ ख ७१ नम्बरको ट्रकबाट करीब ३५ लाख २७ हजार ४ सय ७४ रुपैयाँ र बा ४ ख ११२५ नम्बरको ट्रकबाट ३६ लाख ६२ हजार ९ सय ७२ रुपैयाँ बराबरको मालसामान गरी कुल ७१ ला ९० हजार ४ सय ४६ रुपैयाँ मुल्य बराबरको मालसामान नियन्त्रणमा लिईएको डिएसपी न्यौपानेले जानकारी दिए ।
बरामद भएको अवैद्ध मालसामान सहितको दुबै ट्रकलाई आवश्यक अनुसन्धान र कानुनी कारवाहीको लागी राजस्व अनुसन्धान कार्यालय पथलैयाको जिम्मा लगाईएको प्रहरीले जनाएको छ ।
बारामा प्रहरी प्रमुख फेरिएसंगै प्रहरीले भन्सार छलीको मालसामान नियन्त्रणमा लिएर कारवाही गर्न तदारुक्ता देखाएपछि पछिल्लो समय पथलैयाबाट दिनहु भन्सारछलीको मालसामान बरामद हुन थालेको छ ।