बारा–मधेशीलाई उपेक्षित गरी शासक वर्गले आफु अनुकुल हुने गरी जारी गरेको संविधान २०७२ आफुहरुलाई मान्य नभएको लोकतान्त्रिक समाजवादी पार्टी बाराले बुधवार कलैयामा विरोध प्रदर्शन गरेको छ ।
संविधान संशोधन गरी मधेशको माग समावेश नगरिएसम्म नयाँ संविधान २०७२ मधेशीलाई मान्य नहुने भन्दै लोसपाका नेता कार्यकर्ताले कलैयामा विरोध प्रदर्शन गरेका हुन ।
उनीहरुले हातमा कालोपट्टी तथा कालोझण्डा बोकेर विरोध जुलुश निकालेका थिए । देवकीलाल धर्मशालाबाट ब्यानर, कालोझण्डा तथा पार्टीको झण्डा सहित सुरु भएको जुलुश संविधान विरोधी नारावाजी गर्दै नगर परिक्रमा गरेको थियो ।
नगरपरिक्रमा पछि कलैया भरत चोकमा पुगेर जुलुश विरोध सभामा परिणत भएको थियो । लोसपाका बारा जिल्ला अध्यक्ष नवलकिशोर सिंहको सभापतित्वमा भएको विरोध सभालाई सम्बोधन गर्दै जनविरोधी संविधानकै कारण देशमा अस्थिरता उत्पन्न गरेको आरोप लगाए ।
संविधानमा जनविरोधी व्यवस्था भएकै कारण देशमा अराजकताले प्रशय पाएको र एमाले, कांग्रेस र माओवादीका नेताले मौजमस्ती गरीरहेको उनीहरुले आरोप लगाए ।
हतियारको बलमा सरकारले जर्बजस्ती मधेश माथी लादेको संविधान २०७२ जारी भएको दिन असोज ३ लाई मधेशवादी दलहरुले कालो दिनको रुपमा मनाउदै आएका छन ।
विगत ८ वर्ष देखी संविधानमा भएको त्रुटीलाई सच्याउन माग गरीरहदा पनि तीन ठुला दलले संविधान संशोधन गर्न नचाहेको गुनासो लोसपाका बारा जिलला अध्यक्ष नवलकिशोर सिंहले गरे ।
‘हामीले निरन्तर दबाब दिईरहेका छौं तर सरकारले कानमा तेल हालेर बसीरहेको छ,’ उनले भने, ‘संविधानमा रहेको त्रुटी नसचिएसम्म आजको दिनलाई कालो दिनको रुपमा मनाउने कार्य निरन्तर जारी रहन्छ ।’ संविधानको गलत व्याख्या गरेर सरकारले शिक्षा क्षेत्रलाई धराशायी बनाउने काम गरेको उनले बताए । शिक्षा ऐन सच्याउन शिक्षकहरुले गरेको आन्दोलन प्रति आफुहरुको समर्थन रहेको प्रतिवद्धता समेत उनले जनाए ।
उक्त अवसरमा लोसपाका नेता एवम कार्यकारिणी सदस्य श्याम गुप्ताले संविधान जारी भएको दिनलाई कालो दिनको रुपमा मनाउने आफुहरुको रहर नभएको बताए । संविधानमा मधेशीको अधिकार संरक्षण गर्न दबाब दिन असोज ३ लाई कालो दिनको रुपमा मनाउन आफुहरु वाध्यक्ष भएको उनले बताए ।
‘२०७२ को संविधानमा आफुहरु सुरु देखी नै आपत्ती जनाउदै आएका छौ,’ उनले भने, ‘दलित, महिला, मधेशी, जनजातीको अधिकारलाई बेवास्ता गरी जर्बजस्ती संविधान जारी भएको थियो ।’ एकातिर संविधान जारी भएको खुशीयालीमा रंगअविर लगाएर विजय जुलुश निकालिएको थियो । तर सोही दिन सोही संविधानको विरोधमा मधेशमा युवाहरुले प्रहरीको बर्वर दमन सहेर विरोध प्रदर्शन गरेको घटनालाई स्मरण गर्दै असोज ३ लाई कालो दिनको रुपमा मनाउदै आएको उनले बताए ।
उक्त अवसरमा लोसपाका नगर अध्यक्ष जयप्रकाश साहले मधेशीलाई अपहेलित गर्ने संविधान आफुहरुलाई मान्य नहुने बताए । संविधानमा भएको त्रुटीकै कारण देशको अर्थतन्त्र तहसनहस बनेको र मधेशी समुदाय अधिकार विहिन बनेको आरोप लगाए ।
संविधान संशोधन गरी मधेशको माग समावेश नभएसम्म असोज ३ लाई कालो दिनको रुपमा मनाउछौं
यो लेख शेयर गर्नुहोस