बारा– अदालत र प्रहरीलाई चुनौती दिदै कलैया उपमहानगरपालिका वडा नं. ११ विश्वम्भरपुर स्थित रहेको बिल्लुवा भूमी वन प्रालिको नव निर्मित पक्की वाल रातारात भत्काईएको छ ।
जग्गा मिच्ने र उपद्रो मचाउने समुहले निर्माण सम्पन्न भएको पक्की वाल रातमै आफुखुशी भत्काएर क्षति पुर्याएका हुन । लामो समय देखी प्रालिले भोग चलन गर्दै आएको उक्त जग्गामा लगाईएको वोट बिरुवा समेतमा क्षति पुर्याउदै आएको ती समुहले बाली संरक्षण गर्न लगाईएको पक्की वाल समेत भत्काईदिएको बिल्लुवा भूमी वन प्रालिका व्यवस्थापक अशोक कुमार पाण्डेले गुनासो गरे ।
‘वाल लगाउन उपद्रो मचाएका समुहको हस्तक्षेपको वावजुद पक्की वालको निर्माण गरेका थियौं,’ उनले भने, ‘ती समुहले सुरुमा वाल निर्माणमा खटिने लेवर, मिस्त्रीलाई पनि धम्काएर अवरोध पुर्याए ।’ अवरोधका वावजुद ५ लाख रुपैयाँ खर्च गरेर पक्की वाल निर्माण कार्य सम्पन्न गरियो । तर निर्माण सम्पन्न भएको पक्की वाललाई रात नबित्दै ती समुहले बल मिच्याई गरी भत्काईदिएको र निर्माण सामाग्री समेत लुटी लगेको पीडित व्यवस्थापक पाण्डेले आरेप लगाए ।
बारा जिल्ला अदालतले निषेधाज्ञा जारी गरे पनि उपद्रो मचाउने समुहले निर्माण कार्य हुन नदिएपछि अदालतको आदेश कार्यान्वयन गराउन जिल्ला प्रहरी कार्यालय बाराबाट प्रहरी टोली खटिएको थियो ।
प्रहरीको निगरानी तथा उपस्थितीमा निर्माण भएको पक्की वाल उपद्रो मचाउने समुहले भत्काएर अदालतको आदेशको मात्र अवहेलना गरेको छैन । कानुन कार्यान्वयन गराउने प्रहरी प्रशासनलाई समेत वाल भत्काएर चुनौती दिएको बिल्लुवा भूमी वन प्रालिका कर्मचारी रक्की प्रसाद यादवले बताए ।
‘हाम्रो कुरा त टेर्दै टेर्दैन, प्रहरी र अदालतको आदेश पनि मानेन,’ उनले भने, ‘प्रालिको तलब भत्ता खाएपनि प्रालिको सम्पतिको संरक्षण गर्न र आफ्नो जागिर सहित ज्यान जोगाउन समेत धौं धौं परेको छ ।’ ती समुहले मेरो घर परिवारमा पनि आएर ज्यान मार्ने, गाउबाट निकाला गरिदिने जस्ता धम्की दिने गरेको उनले बताए ।
ती समुहले प्रालीको जग्गा हड्प्ने मनशायले प्रालिका व्यवस्थापक तथा कर्मचारीलाई दुःख दिदै आएको उनले बताए । प्रहरी प्रशासन समेतलाई अटेरी गर्ने समुहलाई कानुनी कारवाही नहुदा उनीहरुको मनोवल बढदै गएको पीडित कर्मचारी यादवको भनाई छ ।
उनका अनुसार, कलैया उपमहानगरपालिकाले पक्की वाल निर्माण गर्न नक्सा पास गरी निर्माण कार्य गर्न गराउन अनुमति दिएपनि उपद्रो मचाउने समुहका अगुवा स्थानीय मकसुद मिया र जितेन्द्र यादवले स्थानीयलाई उचालेर तनाव सृजना गरेका छन ।
त्यही जग्गाबाट भाग दिलाईदिने प्रलोभन देखाई उनीहरुले स्थानीय विरेन्द्र प्रसाद यादव, रामेश्वर मण्डल, सिताराम यादव भन्ने टईट, नन्दकिशोर प्रसाद यादव, राजिव कुमार यादव, विन्देश्वरी मली समेतलाई उचालेर भदौं २५ गते राती करीब १० बजेतिर पक्की वाल भत्काएको पीडितले बताएका छन ।
वाल भत्काईरहेकै अवस्थामा कर्मचारी रक्की यादवले खबर पाई प्रहरीलाई सूचना दिएपछि बसर्पाक प्रहरी चौकीबाट खटिएको प्रहरी टोलीलाई देखेर तोडफोडमा संलग्न व्यक्ती भागेका थिए । तोडफोडमै संलग्न विन्देश्वरी मलीलाई घटनास्थलबाटै प्रहरी टोलीले नियन्त्रणमा लिएको र बाकी फरार व्यक्तीहरुको खोजतलाश भईरहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।
सो जग्गा हड्प्ने मनशायले विभिन्न समयमा जग्गा दलालहरुको चलखेल हुदै आएको पीडितले बताएका छन । सो जग्गा कम्पनीको हुदाहुदै अर्को व्यक्तले कुमारी बैंकमा किर्ते कागजात पेस गरी १९ करोड रुपैयाँ ऋण लिएर ठगी गरेको तथा कम्पनीलाई जानकारी नै नदिई दलाल प्रवृतिका व्यक्तीहरुले अरु व्यक्तीसंग बैना लिएदिएको घटना समेत बेलाबेलामा हुदै आएको प्रालिका व्यवस्थापक पाण्डेले बताए ।
यस्तै क्रियाकलाप गर्दै आएको दलाल प्रवृति भएका ठगहरुकै सहयोगमा ती स्थानीयले जग्गा भोगचलन गर्न र कम्पाउण्ड वाल निर्माणमा अवरोध पुर्याउदै आएको उनले बताए ।
उपद्रो मचाएर प्रालिका संचालकलाई मानसिक तथा भौतिक दबाब दिएर जग्गा बिक्री गर्न वाध्य तुल्याउने काम गरेको पीडितको भनाई छ ।
कानुनको राज्य हुदाहुदै पनि नागरिकले पाउने सम्पति भोग चलन तथा संरक्षण गर्न पाउने अधिकारको हनन् भएको अवस्था आईपरेको पीडितको भनाई छ ।