बीरगन्ज– वीरगन्जस्थित बाल सुधार गृहमा मंगलवार राती झडप भएको छ । बाल सुधार गृहमा मंगलवार राती दुई पक्षबीच झडप हुँदा ३ प्रहरी र ११ जना कैदी बन्दी सहित १४ जना घाईते भएका छन ।
बिहान स्थिति सामान्य भए पनि सुरक्षा सतर्कता कडा बनाएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक कोमल साहले जानकारी दिए ।
उक्त बालसुधार गृहमा काठमाण्डौं भक्तपुरबाट ल्याईएका कैदी बन्दी सहित एक सय ४९ जना कैदी बन्दी रहेको उनले जानकारी दिए । उनका अनुसार केही समयअघि भक्तपुर बाल सुधार गृहमा झडप भएपछि केही कैदी बन्दी वीरगन्ज स्थानान्तरण गरिएको थियो ।
भक्तपुरबाट आएका कैदी बन्दी र पहिला देखि वीरगन्जमै रहेका केदीबन्दीबीच पटक पटक झडप र विवाद हुने गरेको जनाईएको छ ।
भक्तपुरबाट आएका कैदीहरूले त्यहाँका नाइकेमाथि आक्रमण गर्नुका साथै बाल सुधार गृहमा समेत तोडफोड र प्रहरीमाथि पनि ढुंगामुढा प्रहार गरेको प्रहरीले जनाएको छ ।
घाइतेहरूको स्थानीय नारायणी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।