बारा– समयमा विजुलीको बील नतिर्नेहरुको लाईन काट्ने र जरिवाना सहित बक्यौता असुल गर्ने कामलाई नेपाल विद्युत प्राधिकरण कलैया वितरण शाखाले तिब्र पारेको छ ।
विद्युत महशुल नतिर्नेहरुको लाईन काट्न दिनहु प्राधिकरणको टोली गाउ गाउमा खटिरहेको प्राधिकरण कलैया वितरण शाखाका प्रमुख ऋषि कुमार बरनवालले जानकारी दिए ।
विशेष गरी लामो समय देखि विधुत महसुल नतिर्ने ग्राहकहरुको लाइन काटने र उनीहरुमाथि कानून बमोजिम कारवाही प्रक्रिया समेत अगाडी बढाइएको उनले बताए । ‘शाखाको एउटा टोली बक्यौता असुल गर्नमै व्यस्त छ,’ उनले भने, ‘विद्युतको बक्यौता नतिर्ने प्रवृतिले समस्या खडा गरेको छ ।’ ग्राहकले समयमा बिजुलीको बील तिरीदिए आफुहरुलाई पनि अन्य काम गर्न सहज हुने उनले बताए ।
उनका अनुसार, नेपाल विद्युत प्राधिकरण कलैया वितरण शाखाको मात्र आर्थिक वर्ष २०७९/०८० असारसम्म ९५ करोड २५ लाख ८३ हजार ३ सय ३२ रुपैयाँ उठाउन बाँकी रहेको छ । यसमा पुरानो बक्यौता मात्र नभएर २ महिना भन्दा बढी समय देखि विद्युत महसुल नतिरेकाहरुको समेत विवरण रहेको शाखाका प्रमुख बरनवालले जानकारी दिए ।
अहिले कलैया वितरण शाखाले आफनो सेवा क्षेत्रको ९९.५ प्रतिशत एरियामा विद्युत पुर्याउन सफल भएको उनले जानकारी दिए । जिल्लामा नेपाल विद्युत प्राधिकरणको तीन वटा शाखाहरु रहेका छन् जसमध्ये कलैया वितरण शाखा अन्तर्गत ६२ हजार २ सय २५ ग्राहक रहेको उनले बताए ।
आर्थिक वर्ष २०७८/०७९ मा कुल ५८ हजार २ सय ६ जना कलैया वितरण शाखामा आवद्ध ग्राहक रहेकोमा आर्थिक वर्ष २०७९/०८० मा ४ हजार १९ जना नयाँ ग्राहक थप भएको उनले बताए ।
कलैया वितरण शाखाले गत आर्थिक वर्षमा ८ करोड ९६ लाख ९४ हजार ३२ युनियट विद्युत आयात गरेको छ । जसमध्ये ५ करोड ९९ लाख ११ हजार ५ सय ११ युनिट विद्युत विक्री गरेको छ बाँकी ३३.२ प्रतिशत विद्युत ह्रास भएको शाखा प्रमुख बरनवालले जानकारी दिए ।
विक्री गरिएको विद्युतको आम्दानी ५१ करोड ८६ लाख रहेको छ । जसमध्ये ४७ करोड ५२ लाख रुपैयाँ असुली भएको छ भने ४ करोड ३४ लाख गत आर्थिक वर्षको विद्युतको महसुल उठाउन बाँकी रहेको उनले बताए ।
गत आर्थिक वर्षमा एक हजार एक सय १४ जनाको लाइन काटिएको थियो । उनीहरुकहाँ ७ करोड ४३ लाख ७१ हजार १ सय ३८ विद्युतको महसुल बाँकी थियो । उनीहरु मध्ये ८ सय ७३ जनाको लाइन पुनः जडान गरिएको छ ।
उनीहरुबाट बाँकी रहेको विद्युतको महसुल ३ करोड ६० लाख १३ हजार ६ सय ९५ रुपैयाँ तिर्न लगाई पुनः विद्युत जडान गरिएको उनले बताए ।
यसैगरी गत आर्थिक वर्षमा विद्युत चोरीमा संलग्न रहेका २ सय ६६ जनालाई पक्राउ गरिएको र ३ सय ६५ वटा विभिन्न विद्युतीय उपकरणहरु नियन्त्रणमा लिइएको उनले बताए ।
यस वितरण शाखा अन्तर्गत २ लाख ४१ हजार युनिट विद्युत चोरी भएकोमा पक्राउ परेकाहरुबाट ३० लाख १९ हजार ८ सय ३१ रुपैयाँ असुली गरिएको उनले बताए ।
कलैया वितरण शाखा अन्तर्गत १ हजार ९७ जना विद्युत ग्राहक ब्लैक लिष्टमा परेका छन् । जस मध्ये ८ सय ७३ जनाले पैसा तिरी पुनः विद्युत जडान गराएका छन् ।ब्लैक लिष्टमा परेकाहरुबाट २ करोड ६० लाख ८८ हजार ४८ रुपैयाँ उठाउन बाँकी रहेको उनको भनाई छ ।
अन्य वर्षको तुलनामा यस वर्ष विद्युत खपत कलैयामा बढेको छ । ‘विद्युत खपत बढेसँगै चोरी पनि बढेको छ,’ उनले भने, ‘आर्थिक वर्ष २०७८/०७९ मा कलैया वितरण शाखाको २८.४ प्रतिशत विद्युतीय ह्रास रहेको थियो भने आर्थिक वर्ष २०७९/८० मा बढेर ३३.२ प्रतिशत पुगेको छ ।
आर्थिक वर्ष २०७८/७९ मा विद्युतीय भारको कारण ६४ वटा ट्रान्सफर्मर जलेको थियो भने आर्थिक वर्ष २०७९/८० मा ५३ वटा ट्रान्सफर्मर जलेको र १६ वटा नयाँ ट्रान्सफर्मर थप गरिएको उनले जानकारी दिए । १६ वटा नयाँ ट्रान्सफर्मर जडान भएसँगै ट्रान्सफर्मर जल्ने क्रम रोकिएको छ भने भार पनि कम भएको कार्यालय प्रमुख वरनवालको भनाई छ ।