बीरगंज– उद्योगहरुले प्रदुषण कम गर्न सावधानी नअपनाउदा पर्साको बीरगंज महानगरपालिकामा औद्योगिक प्रदुषणको कारण छाला र क्षयकुष्ट रोगीको संख्या बढेको पाईएको छ ।
उद्योगबाट निस्केको फोहोर, प्रदुषित धुवाधुलोकै कारण छालामा ईन्फेक्सन भएर छालारोगी, स्वास प्रस्वासको समस्या, क्षयकुष्ठ सहितका बिरामीहरु बीरगंज स्वास्थ्य चौकी पिपरामा उपचारको लागी आउने गरेको स्वास्थ्य चौकी प्रमुख सचितानन्द प्रसाद जयसवालले जानकारी दिए ।
बीरगंज महानगरपालिका वडा नं. १४ स्थित रहेको स्वास्थ्य चौकीमा उपचार गराउन आउने बिरामीको चाप अत्याधिक बढेको उनले बताए ।
‘हाम्रो स्वास्थ्य चौकीबाट आर्थिक वर्ष २०७९/८० मा दिनहु छालामा संक्रमण भएर सरदर ३५ जना बिरामी आउने गरेका छन,’ उनले भने, ‘उनीहरुमा प्रदुषणकै कारण छालामा ईन्फेक्सन भएको पाईएको छ ।’ औद्योगिक प्रदुषकै कारण यस क्षेत्रमा छाला सहित स्वासप्रश्वास र क्षयकुष्ट रोगीको संख्यामा वृद्धी हुदै गएको उनको भनाई छ ।
स्वास्थ्य चौकीले प्रदान गर्दै आएको विभिन्न उपचार सेवाहरु मध्ये सबभन्दा बढी छालाकै समस्या भएर बिरामीहरु आउने गरेको उनले बताए ।
उनका अनुसार, स्वास्थ्य चौकीमा पाचन, स्वास्प्रस्वास, मातृत्व सेवा, खोप सेवा, पोषण सेवा, क्षय तथा कुष्ठरोग सेवा, औलो तथा कालाजार लगायतका समस्या भएर दिनहु सरदर २० जना महिला र ३० जना पुरुष गरी ५० जना भन्दा बढी बिरामीहरु उपचार सेवा लिन आउने गरेको उनले जानकारी दिए ।
आर्थिक वर्ष २०७९/०८० मा १४ जना महिला र १८ जना पुरुष गरी ३२ जना नयाँ क्षयरोगी उपचारको लागी स्वास्थ्य चौकी आएको उनले बताए । क्षयरोग भएर उपचारमा रहेका ३३ जना पुराना रोगीहरु उपचार गराई निको भई फर्किसकेको उनले बताए ।
स्वास्थ्य चौकीले नियमित रुपमा संचालन गर्दै आएको बहिरंग विभागबाट दिनहु सरदरमा चिनी, मुटु, दम र क्यान्सरका बिरामी गरी १० जना, छाला सम्बन्धी समस्या भएर ३५ जना, पाचन प्रणालीमा समस्या भएर २० जना, स्वास प्रस्वास प्रणालीमा समस्या भएर ५ जना, पिसाब प्रणालीमा समस्या भएर एक जना बिरामी उपचारको लागी आउने गरेको कार्यालयको तथ्यांकले देखाएको उनले बताए ।
पर्सा जिल्लाको १४ वटै पालिका मध्ये सबभन्दा बढी यही स्वास्थ्य चौकीमा बिरामीको चाप बढी रहने गरेको दाबी स्वास्थ्य चौकी प्रमुख जयसवालले गरे ।
रोग नियन्त्रण कार्यक्रम गरी वर्षै भरी नियमित बहिरंग विभागबाट सेवा प्रदान गरिदै आएको उनले सुनाए । गुणस्तिरिय र विश्वनिय स्वास्थ्य सेवा प्रदान गरिएकै कारण स्वास्थ्य चौकीमा बिरामीको चाप अत्याधिक बढेको उनको भनाई छ ।
बीरगंज महानगपालिका भरी रहेको स्वास्थ्य चौकी मध्ये सबभन्दा बढी बिरामीको चाप रही रहने बीरगंज स्वास्थ्य चौकी पिपरा नै भएको जयसवालले जानकारी दिए ।
स्वास्थ्य चौकीले प्रदान गर्दै आएको सेवाहरु मध्ये कुष्ठरोगको उपचार पनि बढी प्रभावकारी रहेको सेवाग्राहीहरुको भनाई छ ।
आर्थिक वर्ष २०७९/०८० मा सरुवा कुष्ठरोगबाट बिरामी भई २ जना महिला र ५ जना पुरुष गरी ७ जना बिरामी नियमित उपचारको क्रममा रहेको स्वास्थ्य चौकी प्रमुख जयसवालले बताए । एक जना महिला र ४ जना पुरुष कुष्ठरोगी निको भई स्वास्थ्य चौकीबाट पाउने सरकारी सेवा सुविधा लिएर घर फर्किसकेको उनले बताए ।
बीरगंज महानगरपालिका १८ परवानीपुरकी १८ वर्षिया सविता देवी दास, सोही महानगरपालिका १४ का ३३ वर्षिय प्रेम यादव, ५० वर्षिय नरेश अग्रवाल, जगरनाथपुरका ३७ वर्षिय अम्बिका साह, भवानीपुरका ४५ वर्षिय राजेन्द्र साह उपचार गराई भाडा वापतको २ हजार रुपैयाँ सुविधा लिएर घर फर्की सकेको उनले बताए ।
स्वास्थ्य चौकीको गर्भवती तथा खोप सेवा पनि प्रभावकारी रहेको उनको भनाई छ । नियमित खोप सेवामा स्वास्थ्य चौकीले ६० प्रतिशत लक्ष्य प्राप्ती गरेको उनले बताए ।
साताको बिहिवार दिईने नियमित खोप लगाउन कम्तीमा एक वर्ष मुनीका एक सय देखी एक सय २५ जना बालबालिका स्वास्थ्य चौकीमा आउने गरेको उनले बताए ।
यस्तै सुरक्षित मातृत्व सेवा सातामा ५ दिन संचालन गरिएको र यो सेवा लिन दिनहु ५ जना गर्भवती तथा १० जना गर्भवती स्वास्थ्य चौकीमा आउने गरेको प्रमुख जयसवालको भनाई छ ।