डिएपीको बोरामा फास्फोट प्याक गरी किसान ठगिदै, प्रहरी प्रशासन मौन

पवन यादव
पवन यादव पाठक संख्या - 732
4 मि. पढ्न लाग्ने समय

बारा– लामो समय देखीको खडेरीले आक्रान्त बनेका बाराका किसान केही दिन यता पानी पर्न थालेपछि हर्षित भएका छन । सुख्खाले बन्जर परेको जमिन वर्षाको पानीले भिजेर पुनः खेती गर्न योग्य बनेको छ । धेरै किसानको खेतमा धानको बेर्ना तयारी भईसकेको छ ।

बेर्ना तयार भएपछि अहिले किसान धान रोपाई गर्ने तयारीमा जुटेका छन । रोपाई सुरु गर्न अन्तिम तयारीमा बसेका किसान आवश्यक पर्ने मलको जोहो गर्नेतिर लागेका छन । कोही नेपाली बजार त कोही सिमावर्ती भारतिय बजार सम्म युरिया, डिएपी मल खरीद गर्न दौडधुप सुरु गरेका छन ।

सरकारले किसानको माग अनुसार मल उपलब्ध गराउन नसक्दा समस्यामा परेका किसानलाई अहिले मलकै चिन्ता छ । मलको चिन्तामा डुबेका किसानको निरिहिताको फाईदा अहिले मल तस्करहरुले उठाउन थालेका छन ।

मल अभाव भएको बेला तस्करहरु नक्कली मल गाउ गाउमा पुर्याएर किसानलाई ठग्ने क्रम बढेको कलैया उपमहानगरपालिका वडा नं. २ निवासी किसान सरोज कुमार यादवले बताए । ‘तस्करहरुले डिएपीको बोरामा फास्फोट हालेर डिएपी भन्दै बिक्री गरीरहेका छन,’ उनले भने, ‘यो सूचनाबाट अन्जान किसानहरु खेतीको लागी नक्कली मल खरीद गरी स्टक गर्न थालेका छन ।’ आफ्नै गाउका एक दर्जन बढी किसान यसरी नै नक्कली मल खरीद गरी ठगीमा परेको उनले बताए ।

‘पारस सर्वोतम खाद डिएपी’ लेखिएको बोरामा फास्फोट राखिएको रहस्य आज मात्रै आफुले थाहा पाएको उनले जानकारी दिए । उनका अनुसार, किसानलाई घर दैलोमा आईपुगेको मल चाडोभन्दा चाडो हात पार्ने हतार हुन्छ । बन्द बोरा भित्र डिएपी नै होला भन्ने ठानेर किसानले त्यो मल घर भित्रियाउछन । खेतमा छर्ने बेला मात्र त्यो बोरा खोल्ने गरिएको छ । बोरा नखोलुन्जेल सम्म बोरा भित्र के छ हेर्न मिल्दैन । थाहा पनि हुदैन । त्यसले अन्जान किसानले डिएपीको बोरा भित्र राखिएको फास्फोट खरीद गरीरहेको उनले बताए ।

नेपाली बजारमा एक बोरा फास्फोटको मुल्य १५ सय रुपैयाँ पर्ने गरेको कलैया अमवाटोलाका किसान प्रभु यादवले बताए । ‘१५ सय रुपैयाँमा पाउने फास्फोटलाई डिएपी भनेर २८ सय रुपैयाँमा तस्करहरुले बिक्री गर्ने गरेका छन,’ उनले भने, ‘घर नजिकै सस्तोमा पाएको मल खरीद गर्दा अन्जानमा किसान ठगीमा पर्ने गरेका छन ।’ स्थानीय प्रहरी प्रशासनले आर्थिक प्रलोभनमा परी नक्कली कारोवारीलाई छाडीदिने गर्दा यसरी निरिह किसान ठगीमा पर्न थालेको उनले बताए ।

अहिले बजारमा युरिया र डिएपी मल नै अपुग रहेको र यसको फाईदा नक्कली मल बिक्री गर्ने कारोवारीले उठाईरहेको उनले बताए । कलैया उपमहानगरपालिका वडा नं. २ दोहोरी बजारमा फेला परेका मल भरियाले बोकेको डिएपीको बोरा भित्रको मल प्वाल पारेर झिकेर हेर्दा फास्फोट भएको खुलासा स्थानीयले गरेको उनले बताए ।

खुलासा भएपछि स्थानीयले मल भरियालाई रोकेर गाउमा यस उपरान्त नक्कली मल लिएर नआउने शर्तमा छाडेको उनले बताए । पल्टी गरिएको फास्फोटलाई १५ सय रुपैयाँ प्रति बोरामा किसानलाई बिक्री गरेर भरियालाई धपाईएको अर्का स्थानीय लालबाबु कुशवाहाले जानकारी दिए ।

किसानले मल खरीद गर्दा बोरा भित्रको मल जाचेर मात्र खरीद गर्न समयमै सचेत हुन उनले आग्रह समेत गरे । डिएपीको बोरामा अर्को मल प्याकिङ्ग गरेर बिक्री भईरहेको गुनासो आफु कहा पनि आएको बाराका प्रमुख जिल्ला अधिकारी नवराज सापकोटाले बताए ।

‘गुनासो आएपनि अहिले सम्म पल्टी गरेको नक्लली मल फेरा परेको छैन,’ उनले भने, ‘फेला पर्ने बितिकै क्वीक एक्सनका जान्छौं ।’ यसको लागी आवश्यक अनुसन्धान गर्न प्रहरीलाई निर्देशन दिईसकेको तर प्रहरीले अहिले सम्म पल्टी गरेको मल फेला पार्न नसकेको उनले जानकारी दिए ।

 

यो लेख शेयर गर्नुहोस