नेपाल–भारत सिमा क्षेत्रमा खुलेयाम मदिरा विक्री वितरण, दोषी को ?

पवन यादव
पवन यादव पाठक संख्या - 879
3 मि. पढ्न लाग्ने समय

बारा–लामो समय देखि सिमामा अवैध घरेलु मदिरा विक्री वितरण हुँदै आएको छ । भारतको विहार राज्यमा मदिरा बन्द भएपछि सिमा क्षेत्रमा मदिरा विक्री वितरणको व्यवसाय फष्टाउँदै आएको छ । खुल्ला सिमानाका कारण मानिसहरुलाई आवत जावत गर्न समस्या छैन ।

नेपालबाट भारत र भारतबाट नेपाल आउन सजिलो भएकै कारण अपराध पनि बढेको छ । अपराधको मूल नै मदिरा हो । घरेलु मदिरा सस्तो र हरेक गल्लीमा पाउने भएको कारण विहारमा मदिरा विक्री वितरण तथा सेवनमा रोक लगाइए पनि विहारका जनताहरु नेपालको सिमामा आएका मदिरा सेवन गर्ने गरेका छन् ।

मदिरा सेवन गरी उनीहरु विभिन्न खाले अपराधमा लाग्ने गर्दछन् । अहिले नुन देखि सुनसम्मको कारोबार निर्धक्क रुपमा सिमानाकाबाट हुँदै आएको छ । सिमानाकामा रक्सी खान आउनेहरु रक्सी सेवन गरि नेपाल तथा भारतमा अपराधिक क्रियाकलाप गर्दै आएका छन् । त्यति मात्र कहाँ हो र गाउँ गाउँ डुलेर खुदरा ब्यापारमा संलग्न भारत विहारका व्यापारीहरु समेत तस्करी, चोरी, डकैती, अपहरणमा संलग्न हुँदै आएको प्रहरी तथ्यांकले देखाउँछ ।

यति हुँदा हुँदै पनि सरोकारवाला निकाय मौन देखिएका छन् । सरकारले सिमा वरिपरि ५ सय मीटरसम्म रक्सी विक्री वितरणमा बन्देज लगाएको छ । तर पनि सीमामा दिनहुँ जाडरक्सी विक्री वितरण हुँदै आएको छ । दुई चार पैसाको लोभमा प्रहरी प्रशासनले सिमामा रक्सी विक्री वितरण गराउँदै आएको छ ।

सीमा सँगै टासिएर रहेका होटेल, रेष्टुरेन्ट, साना साना छाप्रोमा समेत मदिरा विक्री वितरण हुँदै आएको छ । एकातिर घरेलु मदिरा जस्तो विष खाएर मानिसहरु दिनहुँ आफनो ज्यान गुमाइरहेका छन् भने अर्को तर्फ मदिरा खाएर हुने अपराधिक क्रियाकलाप सुरक्षाको लागि चुनौती बनेको छ ।

अपराधीक मनोबलका व्यक्तिहरु राती अबेरसम्म रक्सी सेवन गर्दछन् रक्सी सेवन पछि उनीहरु विभिन्न अपराधीक कार्यमा लाग्दछन् । एकातिर सुरक्षा चुनौती अर्को तर्फ घरेलु मदिरा जे गरेपनि समाप्त नहुने पीर । प्रहरी प्रशासनले दुई चार पैसाको लोभनमा रक्सी भठ्ठीहरु संचालन गराउँदै आएका छन् । तस्करी र भ्रष्टाचारको आखाडा अहिले जिल्ला बन्दै गएको छ ।

भारतीय अपराधिक प्रकृतिका मानिसहरु सिमामा आएर जाड रक्सी खाने र अपराधिक क्रियाकलाप गराउने गरेका छन् । तस्करी लगायतका कामहरु विशेष गरी राती राती हुने गर्दछ । यसरी अपराधिक गतिविधि बढदै गएपनि सम्बन्धित निकाय मौन देखिएको छ ।

प्रहरी प्रशासनले आफनो जिम्मेवारी पूरा नगरकै कारण बाहिरी र भित्री अपराध बढेको देखिन्छ । सबै कुरो थाहा हुँदा हुँदै पनि दुई चार पैसाको लोभमा समाजलाई नै अपराधिक गतिविधिको शिकार बनाउनु वा बनाउन खोज्नु ठूलो अपराध हो ।

दुई चार पैसा कमाउनकै लागि मदिरा र मदिराजन्य पदार्थ विक्री वितरणमा बन्देज नलगाएर छुट दिनु अपराधिक गतिविधिलाई बढावा दिनु नै हो । यस्तो परिस्थितिमा अपराध मौलाउने देखिन्छ । त्यसैले जति सक्दो चाँडो यसको निराकरण हुनु पर्ने देखिन्छ ।

यदि समयमा यसको निराकरण हुन सकेन भने भोलि गएर यो समस्या झन विकराल भएर जाने देखिन्छ । समाजबाट अपराध लगायतका कानून विपरितका गतिविधि अन्त्य गर्ने जिम्मा लिएका प्रहरी प्रशासन नै यस्तो गतिविधिमा संलग्नता देखिनु भनेको समाज र राष्ट्रको लागि खतराको संकेत हो ।

 

ट्याग्स : , , , ,
यो लेख शेयर गर्नुहोस