बारा– ‘दुअरा पर आईल बारात त सम्धीके लागल हगवास’ भोजपुरी भाषामा सबभन्दा बढी प्रयोग हुने उखान टुक्का हो । हतारमा कसैले कामको थालनी गर्यो भने जो कोहीले पनि यो उखान टुक्का भनी हाल्छन ।
बाराको करैयामाई गाउपालिकामा अहिले यो उखान टुक्कालाई चरितार्थ गर्ने काम भईरहेको छ । समयमा उपाय नखोज्ने र समस्या आईपरेपछि समाधानको उपाय खोज्ने मधेश प्रदेशकै पुरानो चलन हो ।
कृषिको लागी नाम चलेको तराई भेगमा परम्परागत सिचाई सुविधालाई त्यागेका किसानहरु खडेरीको मार खेप्न थालेपछि पुरानै शैलीमा फर्किन थालेका छन ।
कृषि बाली धान, उखु लगायतका बाली सुक्न थालेपछि बारामा स्थानीय तह तथा किसान बाँध पईन संचालन गर्ने, खेतमा नयाँ बोरिङ्ग गा्ने कामलाई तिब्र पारेका छन ।
भत्केको पुरानो संरचनालाई मर्मत सम्भार गरी पुनः संचालनमा ल्याउन प्रयास थालेको स्थानीयले बताएका छन । लामो समय देखि वर्षा नभएर खडेरी परेपछि पानीको अभावमा खेतहरुमा धाजा फाटने र विउका ब्याडहरु समेत सुकेको कारण किसानहरु खेती कसरी गर्ने भन्ने चिन्तामा डुबेका छन ।
एकातिर आकाशे पानी नपर्दा समस्या भएको छ भने ठाउँ ठाउँमा भएको कुलोहरु अतिक्रमण भएका कारण बाँध बाँधेर गरिने सिचाई पनि अहिले हुन सकेको छैन ।
खडेरीको पिडाबाट छटपटिएका किसानलाई केही हदसम्म भएपनि तियर खोलाको पानी गाउँ–गाउँसम्म पुर्याएर सिचाई गर्ने व्यवस्था तिर करैयामाई गाउँपालिकाका अध्यक्ष शम्भु प्रसाद यादव आफै सक्रिय भएका छन ।
लामो समय देखी बन्द रहेको टिकुलवा–पोखरिया–पायट कुलोलाई पुनः संचालनमा ल्याउन अध्यक्ष यादव सहितका करैयामाई गाउपालिकाका जनप्रतिनिधी अहिले सक्रिय भएका हुन ।
‘उक्त बाँधबाट हजारौ विघा जग्गामा पानी पुग्ने गरेको थियो,’ करैयामाई गाउँपालिकाका अध्यक्ष यादवले भने, ‘तर लगभग १०÷१२ वर्ष देखि तियर खोलामा बाँध बाध्ने काम रोखिएको कारण यो खोलाको अधिकाँश भाग स्थानीयहरुले अतिक्रमण गरी घर निर्माण गरेका छन् भने कतिपयले खोलालाई खेतमा विलय गरेका छन् ।’ ५ किलोमीटर भन्दा लामो रहेको यो कुलोबाट हजारौ विघा जमिन सिचाई हुँदै आएको थियो ।
२० वर्षसम्म स्थानीय निकायको निर्वाचन हुन सकेको थिएन । त्यही समयमा स्थानीयहरुले कुलो मिचेर घर बनाए कतिपयले कुलो खनेर आफनो खेतमा मिसाएको उनले जानकारी दिए ।
कुलोको अस्तित्व नै समाप्त हुने गरी अतिक्रमण गरिएको थियो । अहिले आएर खडेरी पर्दा किसानहरु दुःखी भएका छन् । पानी अभावमा सिचाईको काम रोकिएको छ ।
पटक पटक प्रयास गरेर बोधवन स्थित तियर खोलामा बाँध बाध्न सफल भएका छौ । बाँध बाँधियो तर पानी ल्याउने कसरी ? अर्को समस्या खडा भयो । त्यसैले टिकुलवा खोलालाई फेरि खनेर यसलाई संचालनमा ल्याउन लागिएको अध्यक्ष यादवले बताए ।
टिकुलवा कुलोको पानीबाट करैयामाई गाउँपालिकाको १, ५, ६ र कोल्हवी नगरपालिकाको ८ नम्बर वडाहरुमा सिचाई हुँदै आएको थियो ।
यो कुलो पुनः संचालनमा ल्याइयो भने यसले किसानहरुलाई राहत पुग्ने भएकोले कुलोको खोजी गर्दै अतिक्रमण हटाउने काम शुरु गरिएको उनले जानकारी दिए ।
कुलो संचालनमा आउने वितिकै हजारौ विघा जग्गामा सिचाई गर्न सजिलो हुने भएकोले यसलाई पुनः संचालनमा ल्याउन लागिएको उनले जानकारी दिए ।
स्थानीय किसानको समस्यालाई समाधान गर्न बाँध पईन संचालन गर्न सक्रिय भएको करैयामाई गाउपालिका वडा नं. १ का वडाध्यक्ष सोनालाल साहले जानकारी दिए ।
‘बाँध पईन संचालन भएपछि यहाका सबै किसानलाई राहत हुन्छ,’ उनले भने, ‘पुनः समयमा खेती सुरु हुने र खडेरीको चिन्ता हटने छ ।’ चरवन्तको नामले परिचित करैयामाई गाउपालिकाका किसान बाँध पईन संचालन हुने भएपछि धेरै खुशी भएको उनले बताए ।