आफुसंग अनुहार नमिलेको भन्दै बारामा आफ्नै बाबुद्वारा २० दिने छोराको हत्या

पवन यादव
पवन यादव पाठक संख्या - 521
3 मि. पढ्न लाग्ने समय

बारा– आफ्नै बाबुले कलिलो छोराको हत्या गरेको सुन्दा जो कोहीलाई पनि पत्यार नलाग्न सक्छ । किन भने बाबु–आमाले नै सन्तानलाई सबै भन्दा बढी माया स्नेह गर्छन । हरेक परिस्थतीको सामना गरेर आफ्ना सन्तानका हरेक ईच्छा चाहना पुरा गर्छन ।

सन्तानको मागलाई पुरा गर्न चाहिने आर्थिक श्रोत बलियो बनाउन रोजगारीको लागी देशको कुनाकाप्चा देखी लिएर विदेशको खाडी मुलुक सम्म पुग्छन । आफ्नो ज्यानलाई जोखिममा राखेर भएपनि बालबच्चाको खुशीको लागी मिहिनेत गर्छन ।

त्यही बाबुले आफ्नै सन्तानको घाटी निमोठेर हत्या गर्न सक्छन ? हतपती यस्ता घटना भएको सुन्दा पत्याउन मुश्कील पर्छ । तर बारामा आफ्नै बाबुले २० दिनको छोरालाई घाटी निमोठेर निर्मम हत्या गरेर बाबुको छोराप्रतिको माया स्नेहमा ? प्रश्न चिन्ह खडा गरेका छन ।

बाराको देवताल गाउपालिका वडा नं. ४ पिप्राढीमा २४ वर्षिय बाबु नुर आलम अंसारीले २० दिन उमेर पुगेको आफ्नै छोराको घरमै सुतेको बेला जेठ १४ गते आईतवार नाक मुख थुनेर, घाटीनिमोठेर हत्या गरेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख प्रहरी उपरिक्षक होबिन्द्र बोगटीले आफ्नै कार्यकक्षमा बिहिवार पत्रकार सम्मेलन गरी आफ्नै बाबुले २० दिनको छोरा मारेको घटना सर्वाजनिक गरेका हुन ।

छोराको अनुहार आफुसंग नमिलेको भन्दै नुर आलमले श्रीमतिसंग झै झगडा गर्दै आएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरी उपरिक्षक बोगटीले जानकारी दिए ।

‘अर्कै पुरुषसंग लागेको आरोप लगाउदै आलमले श्रीमतिलाई विगत केही दिन देखी दिनहु गालीगलौज र मारपिट गर्दै आईरहेका थिए,’ प्रउ बोगटीले भने, ‘श्रीमतिको कोखबाट जन्मेको सन्तान अर्कैको हो भन्दै क्रुरतापुर्वक हत्या गरिदिए ।’ यही बैशाख २६ गते कलैया अस्पतालमा जन्मेको शिशुलाई हासीखुशी घर फर्काएका थिए । पछि आशंका बढदै गएपछि रिसको झोकमा नवजात छोराको आलमले निर्मम हत्या गरिदिएको प्रहरी उपरिक्षक बोगटीले पत्रकार सम्मेलनमा जानकारी दिए ।

घरायशी कामले करेसाबारीमा गएकी श्रीमतिको आँखा छलेर आशंकाको दलदलमा फसेका आलमले मौका छोपी जेठ २४ गते नवजात छोराको हत्या गरिदिएको प्रभारम्भिक अनुसन्धानबाट खुलेको उनले जानकारी दिए ।

घर नजिकैको करेसाबारीमा रहेकी आमा कलमा खातुनले कोखबाट जन्मेको पहिलो सन्तान छोरा चिच्याएको आवाज सुनेर दौडेर घरमा फर्किएकी थिईन ।

त्यस बखत श्रीमान हतार गर्दै घर बाहिर निस्केको उनले देखेको थिईन । घर भित्र पस्दा नाक र मुखबाट रगत बगीरहेको अवस्थामा छोरा अचेत बनेको कलमालाई उदृत गर्दै प्रहरी उपरिक्षक बोगटीले जानकारी दिए ।

त्यपछि कलमाले रुदै कराउदै छोराको उपचारको लागी परिवारमा गुहार गरेकी थिईन । तर उपचारको लागी अस्पताल लैजाने क्रममै शिशुको मृत्यु भएको प्रहरीले जनाएको छ ।

कलैया उपमहानगरपालिका वडा नं. ३ भवानीपुर माईती भएकी कलमाले आफन्तको सहयोगमा प्रहरीमा उजुरी दिएपछि शिशुवको शव चिहानबाट निकालेर परिक्षण गरिएको उनले जानकारी दिए ।

घटनाको अनुसन्धानको लागी आरोपित बाबु नुर आलमलाई नियन्त्रणमा लिई घटनाबारे थप अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।

बिहिवार मात्रै अदालतले थप ७ दिनको म्याद थपी आलमलाई प्रहरी हिरासतमा राखी अनुसन्धान गर्न आदेश दिएको प्रहरीले जनाएको छ ।

ट्याग्स : , , , , ,
यो लेख शेयर गर्नुहोस