कहिले सम्म सुध्रिन्छ कलैया बजार ?

गढी न्यूज
गढी न्यूज पाठक संख्या - 1.3k
3 मि. पढ्न लाग्ने समय

बारा–कलैया बजार व्यवस्थापन गर्न सम्बन्धित निकायले ध्यान नदिदा पुरै बजार अस्त व्यस्त बनेको छ । बजारलाई अव्यवस्थित र कुरुप बनाउनेमा जति जिम्मेवार व्यापारीहरु छन् त्यतिकै जिम्मेवार स्थानीय तहका जनप्रतिनिधिहरु समेत छन् ।

बजारको अवस्थाको बारेमा घडियाली आँसु बगाउनेहरु थुप्रै छन् तर व्यवस्थापन गर्ने तिर कसैले पहल गरेको देखिदैन । जिल्लाको सदरमुकाम र सबैभन्दा पुरानो बजारको नामले चिनिने कलैया बजारको बारेमा हरेक दिन चिया पसलमा गफगाफ गर्नेहरुको कमी छैन । तर व्यवस्थापन गर्ने बेलामा कोही अगाडी बढदैनन् । जिम्मेवारी मेरो होइन जनप्रतिनिधिहरुको हो भनि आवाज उठाउनेहरुले कम से कम चिया पसलमा गफ नगरेर सम्बन्धित निकायलाई घचघच्याउनु पर्ने हो ।

तर त्यसो भएको देखिदैन । जसको कारण यसको विकास हुन नसकेको हो । जसरी कलैया मानमत मटिअर्वा सडक खण्डको ३ किलोमीटर सडक खिचातानीको कारण अहिलेसम्म बन्न सकेको छैन । यही अवस्था बजारको पनि देखिन्छ ।

आफूले काम नगर्ने अरुले गर्न खोजे खुट्टा तान्ने क्रम बढेकै कारण हुनु पर्ने विकास पनि रोकिएका छन् । जति तामझामका साथ विकास निर्माणका काम रोकिन्छ त्यतिकै तामझामका साथ सम्बन्धित निकायलाई काम गर्न दबाब दिन सक्नु पर्दछ । फलानोले काम गर्यो भने जस उसले नै लिने र आउँदो चुनावमा आफनो मत कम हुने डरले विकास निर्माणको काममा अडंगा लगाउनु जनताले पाउने सेवा सुविधाबाट बन्चित गराउनु हो ।

हो काम गुणस्तरीय हनु पर्दछ । अनि के काम रोक्दैमा गुणस्तरीय हुने हो त ? कि काम भइरहेको ठाउँमा निगरानी बढाउनु हो ? यदि गुणस्तरहीन काम भइरहेको छ भने रोक्नु पर्छ तर काम शुरु नहुँदै रोकिन्न दुःखद कुरा हो । भोटको राजनिति गरेर जनताको लागि हुने विकासलाई रोक्नु भनेको जनताले पाउने सेवा सुविधाबाट बञ्चित गर्नु नै होे ।

राजनितिक खिचातानीको कारण मानमत मटिअर्वा सडक खण्डको करीब साढे ३ किलोमीटर सडक अहिले पनि अधुरो छ । कलैया बजारमा निर्माणाधीन रहेको सडकको अवस्था पनि त्यस्तै छ । त्यसको जिम्मेवारी कसले लिने ? एकले काम गर्न जादा १० जनाले विरोध गर्छ । बजारको अवस्था विग्रनुको मूल कारण यही हो । बजारका व्यापारीहरुको मनोबल नेताहरुले नै बढाएका हुन ।

भोटको लागि बजारको व्यवस्थापन हुन सकेको छैन । भने चुनाव जितेर आएका जनप्रतिनिधिहरु पनि त्यस्तै लापरवाह देखिएका छन् । बाटो छेकेर मालसमान राख्दा समेत उनीहरुले ध्यान दिएका छैनन् । भने बजारको कहिले पनि अनुगमन हुन सकेको देखिदैन । जनताहरुले किन्ने र खाने गुणस्तरीय हो वा गुणस्तरहीन त्यसको जवाफ कसैले दिन नसकेको अवस्था छ ।

त्यसैले बजारकोे अनुगमन आवश्यक छ । बजारको अनुगमन गरी नाला थुन्ने जथाभावी क्रेट र पसल अगाडी समान राखेर आवागमन ठप्प पार्ने व्यापारीहरुलाई कारवाही हुन आवश्यक छ । भोटकोे लागि डरै डरमा व्यवस्थापन नगर्दा बजारको अवस्था विग्रिदै गएको हो । कहिले सम्म यसरी बजार अस्पव्यस्त रहने हो ? किन सध्रेन कलैया बजार सबैको मनमा प्रश्न उब्जिएको छ । यसको समाधान सम्बन्धित निकायले नै गर्नु पर्दछ । बजार तथा नगर व्यवस्थापन गर्न र सफासुग्घर राख्न कलैया उपमहानगरपालिकाले कडा ऐन कानुन बनाएर कार्यान्वयनमा ल्याउनु पर्नेमा सरोकारवालाहरुको जोड छ ।

 

यो लेख शेयर गर्नुहोस