दाईजोको दलदलमा फस्दै मधेश प्रदेश, छोरीका बाबु–आमा पीडामा

गढी न्यूज
गढी न्यूज पाठक संख्या - 565
5 मि. पढ्न लाग्ने समय

बारा– नेपाल सरकारले बनाएको समाज तथा संस्कृति विरोधी कानुनले तराई मधेशमा छोरीका बाबु–आमा झन्न पिडित बनेका छन । त्यती मात्र होईन । दाईजोकै कारण तराई मधेशमा महिला हिंसाको घटनामा अत्याधिक वृद्धी भएको सरकारी तथ्यांकले देखाएको छ ।

कानुनले नैं सामाजिक सदभाव बिथोल्ने क्रियाकलापलाई प्रशय दिईरहेको कानुन विद तथा नागरिक समाजका अगुवाहरुले दाबी गरेका छन ।

पश्चिमी सभ्यताका मानिसको लागी बनाईएको कानुनलाई हामी जस्ता गरीब मुलुकमा लागु गरेर धार्मिक संस्कार तथा संस्कृति माथी प्रहार भईरहेको अगुवाहरुले बताएका छन ।

अव्यवहारिक कानुनले संरक्षण गरेकै कारण सामाजिक सदभाव विथोल्ने घटनाहरु बढेको बारा नागरिक समाजका अध्यक्ष उमेशलाल दासले बताए ।

कानुनले यी मध्येका सामाजिक कुप्रथा दाईजोलाई नियन्त्रण गर्न कडा सजायको व्यवस्था गरेको छ । तर कानुन कार्यान्वयन फितलो भएकै कारण दाईजो लेनदेन रोकिनु त परै जाओस । पहिलाको तुलनामा अहिले दाईजो लेनदेन झन्नझन्न बढदै गएको दासले बताए ।

छोरीलाई शिक्षित बनाउने अभिभावक त झन्न पीडित बनेका छन । छोरी होस वा छोरा सबैलाई एक नासले शिक्षादिक्षा हासिल गराउन पनि अभिभावकले ठुलो रकम खर्च गर्नु परेको छ ।

अहिलेको शिक्षा पनि धेरै महंगो छ । तर पनि जेनतेन गरेर छोरीलाई उच्च शिक्षा हासिल गराउद पनि अभिभावकले सुःख पाउन सकेका छैनन् । अभिभावकले आफ्नो कर्तव्य भुलेका छैनन् । छोरालाई बढी पढाउदा दाईजो बढी पाउने अभिलाशा राखेर तराई मधेशका अभिभावकले शिक्षामा लगानी गर्न जोड दिन्छन ।

तर छोरीलाई जति धेरै पढाईयो त्यति धेरै दाईजो दिनु पर्ने बाध्यात्मक स्थिती तराई मधेशमा सुरु भएको छ । बिहे गर्ने बेला छोरीको पढाई अनुसार नै पढेलेखेको ज्वाई खोज्नु पर्ने मान्यता छ । त्यसलाई पुरा गर्न अभिभावकले घरखेत बेचेरै भएपनि ठुलो रकमको जोहो गरेर दाईजोको डिमाण्ड पुरा गर्नु पर्ने बाध्यता छ ।

छोराजस्तै छोरीलाई पढाएर योग्य बनाएका अभिभावकहरु अहिले आएर पछुतो गर्नु पर्ने अवस्था दाईजो डिमाण्डकै कारण आएको अभिभावकहरु बताउछन ।

दाईजो मधेशको लागी खतरनाक रोग सावित भएको छ । जिवनभरको कमाई खर्चेर छोरीलाई पढाउनु पर्ने र बिहे गर्ने बेला घरखेत बेचेर दाईजो दिनु पर्ने बाध्यता रहेको कलैया उपमहानगरपालिका वडा नं. १ की मिना चौधरीले बताईन ।

दाईजोबाट तराई मधेशका कोही अभिभावक अछुतो छैन । ठुलठुला पदमा बसेकाहरु पनि आफ्नो हैसियत अनुसार छोरीको बाबुसंग दाईजो माग्ने गर्छन । छोरीका अभिभावकले कहाबाट दाईजोको जोहो गर्छन त्यसको कुनै प्रवाह छोराका अभिभावकलाई हुदैन । दाईजोको व्यवस्था नगरिए छोरीको विवाह नै हुन नसक्ने कलैया उपमहानगरपालिका वडा नं. ५ का मोतिलाल साहले बताए ।

दाईजो छोरीको लागी अभिश्राप बनेको उनले बताए । दाईजो माग गर्ने विरुद्ध प्रहरीमा उजुरी दिदा छोरीको बिहे नहुने त्रासले नदिएको साहको भनाई छ ।

छोरीका अभिभावकले आफ्नो चाहना र क्षमता अनुसार दिदा खासै फरक पर्दैन । तर दाईजोको डिमाण्डले छोरीका बुवालाई बढी प्रताडित बनाउने गरेको छ । कतिपय अभिभावक केटीलाई महत्व दिन्छन । तर धेरै अभिभावक केटी भन्दा पनि दाईजोलाई प्राथमिक्ता दिने गरेका छन ।

५१ रुपैयाँ दाईजो लिएर बिहे गरेका ८२ वर्षिय चिरकुट साहले अहिले दाईजोको माग अत्याधिक बढेको बताउछन । छोरीको बिहे गर्दा अहिले कम्तीमा ४/५ लाख दाईजो दिनै पर्ने अवस्था रहेको उनको भनाई छ ।

दाईजोकै निहुका कारण बारा, पर्सामा छोरी बुहारी मारिने, ससुरालमा सासु–ससुरा, नन्द लगायतबाट शारिरिक तथा मान्सिक यातना सह्न बाध्य छन ।

दाईजो अशिक्षा, बालविवाहका कारण पर्सा, बारा लगायत प्रदेश नं. २ भरी नै महिला हिंसाका घटना पछिलो समय बढेको छ । प्रहरीमा दिनहु महिलाहिंसाका घटनाका उजुरी आउने गरेको छ । तर दाईजो लिएको वा लिने विरुद्धमा अहिले सम्म प्रहरी प्रशासन कार्यालयमा उजुरी नपरेको बाराका प्रमुख जिल्ला अधिकारी नवराज सापकाटाले जानकारी दिए । उजुरी आए कानुन बमोजिम कारवाही हुन्छ । तर अहिले सम्म उजुरी नआएको उनले बताए ।

दाईजो/दाईजो सबैले भन्छन तर दाईजोको विरुद्ध कसैले आवाज उठाउदैन्न । दाईजो विरुद्ध गैरसरकारी संघसंस्था चलाएकाहरु पनि आफ्नो छोराछोरीको बिहे गर्दा सुरुमै दाईजोको शर्त राख्छन । आफ्नो जागिर जोगाउन चेतनामुलक कार्यक्रम गरेर बजेट सक्याउछन । तर प्रहरीमा उजुरी दिदैन्न । दाईजो लिने विरुद्ध अहिले सम्म कारवाही भएको देखीदैन । दाईजो लिएदिएको विषयमा अहिले सम्म बारामा कुनै उजुरी नपरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । दाईजोको उजुरी नआएपनि दाईजोकै कारण घरेलु हिंसा उब्जिएको प्रहरी अधिकारीहरुको भनाई छ ।

 

ट्याग्स : , , , ,
यो लेख शेयर गर्नुहोस