बारा–२ मा सिकेको उम्मेदवार शिवचन्द्रलाई पछार्दै जसपा अध्यक्ष उपेन्द्र यादव विजयी

गढी न्यूज
गढी न्यूज पाठक संख्या - 1.3k
2 मि. पढ्न लाग्ने समय

बारा — बारा निर्वाचन क्षेत्र नम्बर २ मा सिके राउतको उम्मेदवार शिवचन्द्र कुशवाहालाई ५ हजार ८१ मतको फराकिलो अन्तरले पछार्दै जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव प्रतिनिधिसभा सदस्यमा निर्वााचित भएका छन ।

पाच दलिय गठबन्धनका साझा उम्मेदवार यादव जनमतका उम्मेदवार कुशवाहलाई उपनिर्वाचनमा पाखा लगाउदै निर्वाचित भएका हुन ।
अध्यक्ष यादवले २८ हजार ४ सय १५ मत पाउँदा कुशवाहाले २३ हजार ३ सय ३४ मतमा खुम्चीन पुगेको जिल्ला निर्वाचन कार्यालय बाराका प्रमुख सरोजकुमार चौधरीले जानकारी दिए ।

उनका अनुसार तेस्रो स्थानमा रहेका एमालेका पुरुषोत्तम पौडेलले १० हजार २ सय १६ मत प्राप्त गरे । पूर्वडीआईजीसमेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका रमेश खरेल भने प्रतिस्पर्धामा पछि रहे ।

उनले २ हजार ८ सय २९ मत मात्र प्राप्त गरेका छन् । उनीपछि रहेका आम जनता पार्टीका उम्मेदवार अरुणकुमार ज्ञवालीले २ हजार ७ सय ३८ मत प्राप्त गरेका छन् ।

त्यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार सोनालाल साहले १ सय १९ मत प्राप्त गरे । नागरिक उन्मुक्ति पार्टीका कमरुल्लाह अन्सारीले १ सय ९ मत पाउँदा नेपाल मजदुर किसान पार्टीका उम्मेदवार मुक्ति यादवको पोल्टामा ६० मात्रै मत पर्‍यो ।

बारा-२ मा कुल ६९ हजार १ सय ७ मत खसेको थियो । बारा-२ मा मुख्य प्रतिस्पर्धामा रहेका ५ उम्मेदवारमध्ये ४ जना यसअघि मंसिर ४ मा पराजित उम्मेदवार हुन् । उपेन्द्र यादव सप्तरी-२ मा जनमत पार्टीका अध्यक्ष सीके राउतसँग पराजित भएका थिए ।

शिवचन्द्र प्रसाद कुशवाहा र अरुणकुमार ज्ञवाली बारा-२ बाट पराजित उम्मेदवार हुन् भने रमेश खरेल भने काठमाडौं-१ मा पराजित भएका थिए ।

कुशवाहा मंसिर ४ मा माओवादी केन्द्र र ज्ञवाली स्वतन्त्र उम्मेदवार बनेका थिए । खरेल भने नेपाल सुशासन पार्टीबाट उठेका थिए । उनी अहिले पनि उक्त पार्टीका अध्यक्ष हुन् ।

यसअघि बारा-२ का प्रतिनिधिसभा सदस्य रामसहायप्रसाद यादव उपराष्ट्रपति निर्वाचित भएपछि यस क्षेत्रमा उपनिर्वाचन भएका थिए । मंसिर ४ को निर्वाचनमा यादवले कुशवाहालाई ३ सय ५४ मतले हराएका थिए । यादव १३ हजार ८ सय २२ मत ल्याएर विजयी भएका थिए ।

ट्याग्स : , , , ,
यो लेख शेयर गर्नुहोस