सर्लाहीमा सशस्त्र प्रहरीद्वारा रक्षके पोशाकमा भक्षके करनामा

गढी न्यूज
गढी न्यूज पाठक संख्या - 418
3 मि. पढ्न लाग्ने समय

सर्लाही– रक्षकको पोशाकमा भक्षके करनामा भएको कमै सुनिन्छ । यदी यस्तो घटनाबारे सुन्दा हेर्दा हतपति कसैलाई पत्यार लाग्दैन ।

तर सर्लाहीमा कार्यरत सशस्त्र प्रहरी निरिक्षक अंगद खडकालाई चोरीको मोटरसाईकल सहित स्थानीयले मंगलवार पक्राउ गरेपछि रक्षकको राक्षसी प्रवृति उजागर भएको हो ।

सर्लाही बाटै केही दिन अगाडी चोरी भएको टिभिएस अपाची मोटरसाइकल सहित स्थानीयले खुटौना बेस क्याम्पका प्रमुख सशस्त्र प्रहरी निरिक्षक खडकालाई रंगेहात नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय सर्लाहीको जिम्मा लगाएका छन ।

फर्जी सेतो नम्बर प्लेल चोरीको मोटरसाइकलमा राखेर प्रयोग गर्दै आएका सप्रनि खडकाले पेट्रोल लिन स्थानीय मलंगवा नगरपालिका ४ शिवसागर चोकमा रहेका नुतन आयल स्टोर्समा पुगेका थिए ।

सोही पेट्रोल पम्पमा कार्यरत एक कर्मचारीले आफ्नो मोटरसाईकल केही दिन अगाडी चोरी भएको बताए । सशस्त्र प्रहरी निरिक्षक चढेको सेतो प्लेटको मोटरसाईकल आफ्नो भएको दाबी गर्दै मोटरसाईकल सहित सप्रनी खडका र सोही मोटरसाईकल सवार अर्का सशस्त्र प्रहरी जवानलाई स्थानीयले नियन्त्रणमा लिएका थिए ।

पटेल नुतन आयल स्टोर्समा कार्यरत मोटसाईकल धनी मलंगवा नगरपालिका ९ का राकेश राउत पटेलले आफनो मोटरसाईकल चिनेर सशस्त्र प्रहरी निरिक्षक खडकासंग सोधपुछ गर्दै नेपाल प्रहरीलाई खबर गरेका थिए ।

प्रहरीलाई खवर गर्दा दुबै जनालाई नियन्त्रणमा लिईएको बताइएको छ । गत फागनु १२ गते प्रदेश–२–०२–००३ प ७७२९ नम्बरको मोटरसाइकल चोरी भएको थियो ।

जिल्ला प्रहरी कार्यालय मलंगवामा उक्त नम्वरको मोटरसाइकल चोरी भएको भन्दै खोज तलाश गर्न लिखित निवेदन पीडितले दिएका थिए ।

सशस्त्र प्रहरीले सर्लाहीको व्यस्त बजारबाट चोरी भएको मोटरसाइकललाई सवारी धनीलाई फिर्ता दिनुको साटो गैरकानुनी कार्य गरी उक्त मोटरसाइकलमा बा–२ ब ९७२६ नम्बरको सेतो सरकारी नम्बर प्लेट राखेर निर्वाध रुपमा चढदै आएका थिए ।

आफ्नो मोटरसाइकल देखेपछि पटेल सबारी साधनको कागजपत्र सित मिलाउँदा इन्जिन र चेचिस नम्बर समेत मिलेपछि आफ्नो चोरी भएको गाडीमा सरकारी नम्बर प्लेट राखिएको उनले मेसो पाएका थिए ।

पटेलले मेरो निजी मोटरसाइकलमा सरकारी नम्बर प्लेट किन राखेको प्रश्न गरेपछि सशस्त्र प्रहरी निरिक्षक खडका मोटरसाइकल छाडेर भाग्ने प्रयास गर्दा स्थानीयहरुले निजलाई घेरा हाली नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय मलंगवाको जिम्मा लगाएका थिए ।

पक्राउ परेका सप्रनि खडकालाई भित्रभित्रै मिलाउने खेल भईरहेको पीडितले आरोप लगाएका छन् ।

मोटरसाइकल चोरीको आरोपमा पक्राउ परेका सशस्त्र प्रहरी निरिक्षक खड्काको सम्बन्धमा अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रमुख प्रहरी उपरिक्षक नरेशराज सुवेदीले बताए ।

स्थानीय बासिन्दाहरुद्धारा पक्राउ गरेर सप्रनि खडकालाई प्रहरीको जिम्मा लगाएको प्रहरी प्रमुख सुवेदीले स्वीकार गरेका छन ।

 

ट्याग्स : , , , ,
यो लेख शेयर गर्नुहोस