आम जनताको चुनावी मुद्दा मुख्यमन्त्रीको साईकल

गढी न्यूज
गढी न्यूज पाठक संख्या - 157
3 मि. पढ्न लाग्ने समय

बारा– मंसिर ४ को निर्वाचन पछि उदय भएको आम जनता पार्टीले पहिलो पटक उप निर्वाचनमा भाग लिएको छ । बारा– २ मा बैशाख १० गते हुन लागेको उप निर्वाचनलाई लक्षित गरी आम जनता पार्टीले मुख्यमन्त्री बेटी पढाउ, बेटी बचाउँ अभियान अन्र्तगत भएको साईकल वितरण कार्यक्रममा अनियमितता भएको दाबी गरेको छ ।

चुनावी प्रचार प्रसारको क्रममा सोमवार बारागढीमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै आम जनता पार्टीका अध्यक्ष प्रभु साहले मुख्यमन्त्री कार्यक्रमबाट खरीद गरिएको प्रति साईकललमा साढे तीन हजार रुपैयाँ अनियमितता भएको आरोप लगाएका छन ।

जनता समाजवादी पार्टीका उम्मेदवार उपेन्द्र यादवलाई विफल बनाउन साईकलमा भएको अनियमिततालाई चुनावी एजेण्डा बनाएको हो । मधेशमा सबै भन्दा बढी भ्रष्टाचार गर्ने पार्टी नै जसपा रहेको उनको भनाई रहेको छ ।

रौतहटको तुलनामा बारा जिल्लामा बढी विकास हुनु पर्नेमा बारा जिल्ला, रौतहट जिल्लाको विकासमा पछाडी परेको साहको जिकिर छ ।

बाराको चार वटै निर्वाचन क्षेत्र मध्ये सबै भन्दा बढी २ नम्बर क्षेत्रका जनता सोझासाझा रहेकाले पटक पटक यस निर्वाचन क्षेत्रबाट अन्य ठाउँको नेताहरु चुनाव जित्दै आएको र यस क्षेत्रको जनतालाई मूर्ख बनाउदै आएको नेता साहको भनाई छ ।

धर्ती पुत्र, अर्थात यसै क्षेत्रका छोरालाई अगाडी बढाउनु पर्ने तथा २ नम्बर क्षेत्रमा विकासको फड्को मार्न एक पटकको लागि आम जनता पार्टीका उम्मेदवार कानून व्यवसायी अरुण कुमार ज्ञवालीलाई बिजयी बनाउन उनले आग्रह गरेका छन ।

किसानको लागि, महिलाको लागि, बिद्यार्थीको लागि, यूवाहरुको लागि, दलित तथा बिपन्न परिवारको लागि चाहिने आवश्यक समान, रोजगार, व्यवसाय, सिप, मलखाद्द, बिउ, बिजन, सहुलियत दरमा ऋण उपलब्ध गराउने जस्ता कुराहरु काजगमै सिमित राखेर केन्द्रिय नेताहरु चुनावको समय मात्र गर्ने गरेकाले उनीहरुबाट यसको जवाफ माग्न सबैसँग नेता साहले आग्रह गरेका छन ।

जसरी किसानले धानको खेतबाट घाँसपात उखेल्लेर फालेपछि धानको उत्पादन राम्रो हुन्छ, त्यसैगरी यस क्षेत्रमा विकास गर्नको लागि अन्य क्षेत्रबाट आएको नेताहरुलाई खाली हात फिर्ता पठाउन निर्वाचन क्षेत्र नम्बर २ का मतदाताहरुलाई प्रभु साहले आग्रह गरेका छन ।

स्थानीय बिनोद साहको सभापतित्वमा भएको चुनावी सभाको प्रमुख अतिथि प्रभु साह, अरुण कुमार ज्ञवाली, कुन्दन कुशवाहा, बसन्त चौधरी, सागर चौधरी, तिलक थापा, बद्री न्योपाने, शिवशंकर प्रसाद साह र टिकटक स्टार प्रिती पासवान लगायतकाले मन्तब्य व्यक्त गरेका थिए ।

यसैगरी सोमबार आम जनता पार्टीले बाराको निर्वाचन क्षेत्र नम्बर २ का गंजभवानीपुर, बारा बजार, उमजन बजार, तेतरिया, पिप्रा बजार, ढोढिया, गालोपट्टी बजनी लगायतको ठाउँमा चुनावी सभा गरेको थियो ।

 

ट्याग्स : , , , ,
यो लेख शेयर गर्नुहोस