मधेशका किसानलाई सधै मलकै चिन्ता

गढी न्यूज
गढी न्यूज पाठक संख्या - 1.4k
3 मि. पढ्न लाग्ने समय

बारा–किसान अहिलेको परिपेक्ष्यमा समेत चौतर्फी मारमा परेका छन् । नत उनीहरु समयमा मल विउ पाउँछन नत कुनै सुविधा नै । हरेक वर्ष कृषिको लागि विभिन्न अनुदान तथा लोभलाग्दा छुट र रणनितिहरु सरकारले निर्माण गर्दै आएको छ ।

तर त्यो प्रविधिहरु धरातलमा लागू हुन सकेको देखिदैन । किसानहरु समयमा मल, विउ खाद्यको अभाव झेलेर भए पनि खेतीपातीलाई निरन्तरता दिदै आएका छन् । उनीहरुको लागि राहतका प्याकेजहरु सरकारले घोषणा त गर्छ तर उनीहरुसम्म कहिले पनि पुग्दैन् ।

यो वर्ष पनि उनीहरुले दुःखै दुखमा अभावै अभावमा खेती गर्न बाध्य भएका छन् । एकातिर मल र विऊको अभावले थेचिएर किसानहरु दुखित भएका थिए भने अर्को तर्फ दैवी प्रकोपले समेत उनीहरुलाई छाडेनन । विभिन्न आरोह अवरोह पार गर्दै बल्ल तल्ला लगाईएको बालीमा मल हाल्न नपाएर लगाइएको बाली पनि बर्बाद हुने अवस्था छ ।

किसानको लागि आएको राहत प्याकेजमा समेत हुने खानेहरुको रजाइँ छ । दश प्रतिशत किसानसम्म राहत पुग्छ भने ९० प्रतिशत राहत विचौलियाको हातमा पुग्छ । राहत लिन समेत उनीहरुले महिनौ अफिसमा धाउनु पर्ने बाध्यता छ ।

राहत पाउनु भन्दा अगाडी विचौलियाको हालीमुहाली गर्नु पर्ने उनीहरुको लागि भोज भतेरको व्यवस्था गर्नु पर्ने अवस्थाको विद्यमानता रहेको छ । अनुदानमा आएका कृषि सामग्रीहरु पाउनको लागि समेत घुस चढाउनु पर्ने बाध्यता रहेको किसानहरुको गुनासो छ ।

देशमा कम्तीमा १३ लाख मेट्रिक टन खाद्यको माँग रहेकोमा ३ लाख मेट्रिक टन मल मात्र सरकारले आयात गर्न सकेको छ । आखिरमा अभावै अभावमा उनीहरुले चर्को मूल्यमा भएपनि भारतबाट आएका मल खरीद गरेर खेतीपाती गरे । तर गरिएको खेती पनि दैवको प्रकोपले लगि दिएपछि कतिपय किसानको उठिवास समेत भएको छ ।

हाम्रो देश कृषि प्रधान देश हो । तर कृषि कार्यको लागि चाहिने सामग्री समयमा उपलब्ध नहुँदा दुख पाउनु स्वभाविक हो । किसानहरुले उत्पादन गरेको खाद्यवस्तुहरुको समेत सरकारले मूल्य निर्धारण गर्न सकेको छैन । जसको कारण विचौलिया मोटाउने र किसान दुब्लाउँदै गएका छन् ।

कृषि बजारको व्यवस्थापन समेत तीनै तहका सरकारले गर्न सकेको छैन । कृषि बजारको व्यवस्थापन गरिदिने हो भने किसानहरुले समेत थोक मूल्यमा खुदरा व्यापारीहरुलाई समान बेच्न पाउँछन यसबाट किसान र सेवाग्राहीहरु दुबैलाई फाइदा हुने थियो ।

तर यसको लागि हरेक वर्ष ठूलठुला भाषण गरिन्छ । निति निर्माण गरिने आश्वासन दिइन्छ अन्त्यमा केही लागू हुँदैन । जस्तो पहिला त्यस्तै अवस्था आज पनि रहेको छ । विचौलियाहरुले सस्तोमा तरकारी, फलफूल लगायतका सामग्रीहरु किसानबाट किनेर चर्को भाउँमा बजारमा बेच्छन् ।

यसरी किसानहरुले पाउने रकम विचौलियाको हातमा पर्ने गरेको छ । बजारमा समेत सिण्डीकेट छ एकले जे बोल्छ अर्कोले पनि त्यही बोल्छ । किसानबाट किनिएको तरकारी र फलफुलको भाउ दुई सय प्रतिशत फरक हुन्छ ।

ट्याग्स : , , , , ,
यो लेख शेयर गर्नुहोस