बारा– व्यक्तीगत स्वार्थ पुर्ति नहुनेहरुको उक्साहटमा जगदम्बा स्टील उद्योग सिमरामा तोडफोड भएको सरोकारवालाले बताएका छन । प्रदुषण फैलाएको भन्दै स्थानीय बासिन्दाले जगदम्बा स्टील उद्योगमा तोडफोड गर्दै ठुलो क्षति पुर्याएपछि गृह मन्त्रालयले गठन गरेको टोली समक्ष सरोकारवाहरुले आफनो धारणा राख्ने क्रममा तोडफोड हुनुको प्रमुख कारण व्यक्तीगत स्वार्थ भएको स्पष्ट पारेका छन ।
गृह मन्त्रालयका सह सचिव टेकराज निरौलाको नेतृत्वमा सत्यतथ्य बुझ्न बाराको सिमरामा आईपुगेको छानबीन टोलीले विगत ३ दिन देखी घटनाबारे जाचपडताल जारी राखेको छ । टोलीले छानबीनको क्रममा स्थानीय बासिन्दा, विभिन्न राजनीतिक दलका प्रतिनिधी, निर्वाचित जनप्रतिनिधी, उद्योगमा कार्यरत मजदुर, कर्मचारी, सुरक्षाधिकारी, संचारकर्मी लगायतसंग छलफल गर्दै उनीहरुको रायसुझाव संकलन गरेको हो ।
टोलीलाई सुझाव दिने क्रममा जगदम्बाले मात्र होईन । बीरगंज पथलैया औद्योगिक करीडोरमा रहेका अधिकांश उद्योगले प्रदुषण फैलाएको जानकारी दिए । उद्योगबाट निस्केको प्रदुषण विरुद्ध आवाज उठाउनेलाई दबाउन उद्योग प्रशासनले तुन्द्रेमुन्द्रेलाई पैसा खर्च गर्दै आएको उनीहरुले टोलीलाई जानकारी दिए ।
सिमरामा जगदम्ब स्टील, हुलास स्टील, हामा स्टील, अशोक स्टील सहितका उद्योगले व्यापक रुपमा प्रदुषण फैलाएको र बस्तीलाई असर पुर्याउने काम गर्दै आएको सरोकारवालाले आरोप लगाए । सरकारी निकायले प्रदुषण फैलाउने उद्योगको अनुगमन गरी कारवाही नगर्दा उनीहरुको मनोवल बढदै गएको गुनासो सरोकारवालाले गरेका छन । बदमासी गर्ने उद्योगलाई कारवाही नगरिदा सरकारको ध्यानाकर्षण गराउन स्थानीयले जगदम्बामा तोडफोड गरेको सिमराका अविनाश आचार्यले दाबी गरे ।
‘आफु बस्ने घर नजिकै हामा स्टील उद्योग छ,’ उनले भने, ‘त्यसले पनि रातको समयमा फलामको रड झार्दा घरै थर्किन्छ ।’ सुतेको मान्छे त्यसको आवाजले झसंग पर्ने गर्छन । उद्योगको रवैयाले आफु सहितका स्थानीय वासिन्दा पीडामा रहेको उनले बताए ।
जगदम्बासंगै प्रदुषण फैलाउने र बस्तीलाई प्रताडित पार्ने उद्योगलाई कानुनी कारवाहीको दायरामा ल्याउनु पर्ने माग उनले गरे । करौडौंको लागतमा प्रदषण नियन्त्रणमा गर्न जगदम्बाले जडान गरेको उपकरण संचालन नगर्दा समस्या उत्पन्न भएको पथलैया निवासी प्रकाश लम्सालले बताए ।
सरकार तथा उद्योगले प्रदुषण नियन्त्रण गर्न चासो नदेखाए स्थिती अझ भयावह हुने भन्दै उनले टोलीलाई ध्यानाकर्षण गराए । प्रदुषण फैलाउने उद्योगलाई कसरी वातावरणीय प्रभाव मुल्यांकन प्रतिवेदन (ईआईए रिपोर्ट) सरकारी निकायले उलब्ध गराउने गरेको जितपुरका अनिल तिवारीले प्रतिप्रश्न गरे ।
सरोकारवालाले उद्योगले दिएको आर्थिक प्रलोभनमा नफस्न र घटनाको निष्पक्ष छानबीन गर्न उनले टोलीलाई आग्रह समेत गरे । टोली नेतृत्वकर्ता गृह मन्त्रालयका सह सचिव टेकराज निरौलाले संकलित सुझावकै आधारमा निष्पक्ष रुपमा प्रतिवेदन तयार गरिने विश्वास व्यक्त गरे ।
सोधपुछ तथा अनुगमनको क्रममा खटिएको छोलीले जगदम्बा स्टीलमा राखिएको केही कच्चा पदार्थको नमुना समेत संकलन गरिएको निरौलाले जानकारी दिए । छानबीनको क्रममा फेला पारिएको तथ्य सहितको प्रतिवेदन सरकारलाई बुझाउने र त्यसपछि मात्र प्रतिवेदन सार्वजनिक हुने उनले बताए । अहिले नै यस सम्बन्धमा केही भन्न नमिल्ने टोली प्रमुख निरौलाले बताए ।
छानबीन टोलीमा सदस्य रहेका प्रहरी प्रधान कार्यालयका डिएसपी दिपेन्द्र जिसी, सशस्त्र प्रहरी बल पर्साका प्रमुख सशस्त्र प्रहरी उपरिक्षक राजेन्द्र खडका, राष्ट्रिय अनुसन्धान कार्यालय पर्साका प्रमुख उप अनुसन्धान निर्देशक टिका प्रसाद पोखरेल, उद्योग वाणिज्य तथा आपुर्ति मन्त्रालयका सिनियर डिभिजन मेकानिकल ईन्जिनियर प्रशान्त बोहरा, स्वास्थ्य तथा वातावरण मन्त्रालयका मेडीकल सुपरीटेण्डेन डा. बिरेन्द्र बहादुर प्रधान, वातावरण विभागका वातावरण निरिक्षक भुपेन्द्र शर्मा, बारा उद्योग वाणिज्य संघका अध्यक्ष राजकुमार साह, जितपुर सिमरा उपमहानगरपालिकाकी वातावरण ईन्जिनियर पुष्पा सिंह लगायतको सहभागिता रहेको छ ।