जनकपुरमा बारा विजयी

गढी न्यूज
गढी न्यूज पाठक संख्या - 1.6k
2 मि. पढ्न लाग्ने समय

बारा– जनकपुरधाममा जारी ‘जनकपुरधाम मेयर कप टी–२० क्रिकेट प्रतियोगिता २०७९’ अन्तर्गत आईतवार चौथो दिनको पहिलो खेलमा बारा जिल्ला क्रिकेट टिम ५३ रनले विजयी भएको छ ।

पहिलो खेलमा बाराले रौतहटलाई ५३ रनले पराजित गरेको हो । जनकपुरधाम उपमहानगरपालिकाको आयोजना तथा जिल्ला क्रिकेट संघको संयोजनमा जनकपुरधामको वडा नम्बर–१४ रजौलस्थित निर्माणाधीन अवस्थामा रहेको रामजानकी अन्तर्राष्ट्रिय रंगशालामा बाराले रौतहटलाई पराजित गर्दै सेमिफाइनलको यात्रा तय गरेको हो ।

यस अघि जनकपुरधामको टिम पनि सेमिफाइनलमा पुगी सकेको छ । टस जितेर रौतहटले ब्याटिङका लागि आमन्त्रण गरेका बाराले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर एक सय ३७ रनको योगफल तयार पारेको थियो ।

जबाफी ब्याटिङ्गमा उत्रेको रौतहटले १३ दशमलव ४ ओभरमै सबै विकेट गुमाएर ८४ रनमा अल आउट भयो ।

बाराको तर्फबाट तीर्थराज दासले ३७ रन बनाएका थिए भने निखिल सिंहले अविजित २८, पवन सर्राफले २६ र अरनिको यादवले १६ रन बनाएका थिए । अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेका थिएन ।

बलिङतर्फ रौतहटका धर्मेन्द्र साहले २ विकेट लिए भने विनोद सहनी, रञ्जित मुखिया, सन्नी साह र आंशिक साहले १/१ विकेट लिएका थिए ।

एक सय ३८ रनको लक्ष्य पाएको रौतहटले सबै विकेट गुमाउँदै ८४ रनमै सिमित भएको आयोजकले जनाएको छ ।

रौतहटको तर्फबाट अरविन्द चौधरीले अविजित १७ रनको, शैलेन्द्र कुशवाहा १३, नितेश यादव १२ र विपिन सहनीले १२ रनको योगदान गरे । बाँकी खेलाडीले भने दोहोरो अंकमा रन जोड्न सकेनन् ।

बलिङमा बाराका कुमार थापाले ४ ओभरमा १८ रन खर्च गर्दै ४ विकेट लिए भने अरनिको यादवले ३, पवन सर्राफले २ र अनिल कुमार साहले एक विकेट लिएका थिए ।

पहिलो खेलमा सेमिफाइनलको यात्रा तय गरेका बारा टिमका कुमार थापा म्यान अफ दि म्याच घोषित भएका थिए ।

प्रतियोगिताका विजेता टिमलले २ लाख ५१ हजार सहित शिल्ड र उपविजेता टिमलाई एक लाख ५१ हजार शिल्ड हात पार्ने जनाईएको छ ।

 

ट्याग्स : , ,
यो लेख शेयर गर्नुहोस