रौतहट– रौतहट जिल्लाको विभिन्न पालिकाहरुमा आईतवार भएको आगलागीमा परी २७ घर आगलागीमा जलेर स्वाहा भएको छ ।
आगोको लप्काले स्थानिय २७ परिवारको ओत लाग्ने सहारा खोस्नुका साथै अन्नपात, भाडाकुडा, लताकपडा, सुनचाँदीको गरगहना, नगद सहितका मालसामान जलेर खरानी बनाएको छ ।
दिउसो करीब २ बजे माधवनारायण नगरपालिकाको वडा नम्वर ४ विसुनपुर्वा मानपुर गाउँका ती परिवार घरवार विहिन भएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता डिएसपी उमाशंकर यादवले जानकारी दिए ।
स्थानीय जिउत मुखिया बीनको घरबाट सल्किएको आगोले बस्तीका २१ परिवारको घर खरानी बनाएको बताए । आगलागीमा परेका अधिकांश घर फुस, खपडाको रहेको प्रहरीले जनाएको छ । आगलागीमा मानवीय क्षति नभएपनि आर्थिक तथा भौतिक क्षति धेरै भएको स्थानीयले बताएका छन ।
स्थानीय बासिन्दा, सुरक्षाकर्मीको सहयोगमा आगलागी नियन्त्रणमा लिईएको प्रहरीले जनाएको छ । गौर तथा चन्द्रपुर नगरपालिकाबाट बारुण यन्त्र समयमा आगलागी स्थलमा पुग्न नसक्दा क्षति बढेको स्थानीयको गुनासो छ । प्रचण्ड घाम लागेको बेला घटनास्थलमा वारुण यन्त्र नपुग्दा आगलागी नियन्त्रण गर्न निकै कठिनाई भएको स्थानीयको भनाई छ ।
निरन्तर रुपमा चलिरहेको पश्चिमा हावाको कारण आगो नियन्त्रण गर्न झण्डै २ घण्टा बढी समय लागेको स्थानीयले बताए । आगलागिबाट भएको क्षतिको यकिन विवरण आउन नसकेको र आगालागीको कारण पता लगाउन अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।
यस्तै आजै भएको आगलागीमा परेर रौतहटको परोहा नगरपालिकाको तेजापाकड टोलमा पाँच घर र इशनाथ नगरपालिकामा एक घर जलेर समेत जलेर खरानी भएको प्रहरीले जनाएको छ ।