बारा, २५ भदौं– पुर्व–पश्चिम राजमार्ग अन्र्तगत बाराको जितपुर सिमरा उपमहानगरपालिका १ आधाभार जंगलमा बिहिवार बिहान भएको बस दुर्घटनामा परी ९ जना यात्रु घाईते भएका छन ।
काकडभिट्टाबाट नारायणगढ तर्फ जादै गरेको ना ६ ख ५०६ नम्बरको बसले सडकको लेन बढी च्याप्दा विपरित दिशा काठमाण्डौंबाट सिम्रौनगढ तर्फ आउदै गरेको ना ८ ख ४४०६ नम्बरको बस अनियन्त्रित भई सडक छेउमै पल्टिदा बसमा सवार ३२ जना मध्ये ९ जना घाईते भएका हुन ।
घाईते हुनेमा बसयात्रीहरु बारा पचरौता नगरपालिका ९ का ६० वर्षिय जगदीश मुखिया, ३० वर्षिया पुनम मुखिया, १८ वर्षिय विकास कुमार यादव, सिम्रौनगढ नगरपालिका ४ का ३० वर्षिय देवालाल प्रसाद यादव, ३० वर्षिय अजय यादव, सोही नगरपालिका ८ का ३० वर्षिय संजित प्रसाद यादव, ४० वर्षिया मैरुन नेशा, कलैया उपमहानगरपालिका १५ बकुलहरका ५० वर्षिय हरेन्द्र सहनी, महागढीमाई नगरपालिका ६ पत्तरहट्टीका ४२ वर्षिय जलेश्वर सहनी रहेको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता डिएसपी गौतम मिश्रले जानकारी दिए ।
घाईते मध्ये ४ जनाको अवस्था गम्भिर रहेको र ५ जना सामान्य रहेको उनले बताए । घाईते मध्ये अधिकांशको टाउको, हात, खुट्टा, ढाड, अनुहार लगायतमा घाउचोट लागेको र उनीहरु सबैको नारायणी उपक्षेत्रिय अस्पताल बीरगंजमा उपचार भईरहेको डिएसपी मिश्रले बताए ।