कलैया–पिलुवा खण्डको कलैयामा अवरुद्ध सडक ७ घण्टापछि खुल्यो

गढी न्यूज
गढी न्यूज पाठक संख्या - 1.3k
4 मि. पढ्न लाग्ने समय

बारा– बाराको कलैया–पिलुवा खण्ड अन्र्तगत कलैया १ तिनकुने चोकमा ७ घण्टा देखी अवरुद्ध सडक अपरान्ह अढाई बजे देखी सुचारु भएको छ ।

कलैया उपमहानगरपालिकाका मेयर विनोद साह, बाराका प्रमुख जिल्ला अधिकारी नवराज सापकोटा, जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख प्रहरी उपरिक्षक होविन्द्र बोगटी, हुलाकी सडक योजना कार्यालय बीरगंजका दरोगा प्रसाद साह, जनता समाजवादी पार्टीका मधेश प्रदेश अध्यक्ष रामबाबु कुमार यादव लगायतको विशेष उपस्थितीमा अवरुद्ध स्थलमा भएको छलफलमा अवरुद्ध सडक सुचारु गर्ने सहमति भएको हो ।

ठेकेदार र बदमास कर्मचारीलाई कानुनी दायरामा ल्याउन आजै अपरान्ह ४ बजे जिल्ला प्रशासन कार्यालय बाराको सभाहलमा छलफल गर्ने सहमति पश्चात करीब ७ घण्टापछि अवरुद्ध सडक सुचारु भएको स्थानीय राजेश कुशवाहाले जानकारी दिए ।

सडक सुचारु गराउन ठुलो संख्यामा तिनकुने चोकमा नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन भएको थियो । लामो समय देखी अलपत्र परेको कलैया स्थित सहायक हुलाकी राजमार्गलाई कालोपत्रे गर्नु पर्ने माग गर्दै स्थानीय बासिन्दाले आईतवार बिहान करीब साढे ७ बजे देखी कलैया तीनकुने चोकमा अनिश्चितकालका लागी सडक अवरुद्ध गरेका थिए ।

२४ सै घण्टा सडकमा उडेको बाक्लो धुलोले आजित स्थानीयहरुले सडकमै टेन्ट राखेर, आगो बालेर, ढाठ लगाएर आवतजावत रोकेका थिए ।
उनीहरुले सडकमै धर्नामा बसेर आवतजावत अवरुद्ध गर्दै समस्या समाधान गर्न सरोकारवाला निकायलाई आग्रह गरेका थिए ।

कलैया उपमहानगरपालिका मेयर, बाराका प्रमुख जिल्ला अधिकारी, हुलाकी सडक योजना कार्यालय बीरगंजका प्रमुख समेतलाई डाकेका थिए ।

सडकको निर्माण कार्य सुरु नभएसम्म आफुहरु चुप लागेर आनन्दसंग बस्न नसक्ने आन्दोलनको नेतृत्व गरीरहेका जोगिन्द्र कुशवाहाले जानकारी दिए ।

उनीहरुसंगै आन्दोलनमा होमिएका अर्का स्थानीय उत्कलऋषी उपाध्यायले माग सम्बोधन नभए आत्मदाहा गर्ने चेतावनी सार्वजनिक रुपमै दिएपछि प्रहरी प्रशासनले सडक निर्माणमा संलग्नलाई खोजबीन गर्न र स्थिती साम्य पार्न चासो देखाएको छ ।

करीब ६० वर्षिय उपाध्यायले सडकको धुलोकै कारण आफु बिरामी परेको र अस्पताल धाउदा धाउदै आजित भएको बताएका छन । आत्मदाहा गर्ने अभिव्यक्ती राम्रो नभएको र यसले गलत सन्देश प्रवाह गरेको भन्दै प्रहरी उपरिक्षक होबिन्द्र बोगटीले उपाध्यायलाई सम्झाएका थिए ।

ठुलो संख्यामा स्थानीय युवा तथा समाजका अगुवाहरु सडकमै टेंन्ट राखेर धर्नामा बसेका थिए । सडक खुलाउन आएको प्रहरी टोलीसंग आन्दोलनकारीको केही बेर विवाद नै चलेको स्थानीय हरेराम कुशवाहाले बताए । ‘आन्दोलनकारीको माग जायज छ मेयर साहेबले पनि स्वीकार्नु भएको छ,’ उनले भने, ‘मेयरले पनि चाडो भन्दा चाडो सडक बनोस चाहनु भएको छ ।’ तर राज्यको संयन्त्रको कमजोरीले सडक अधुरै रह्न गएको उनको भनाई छ ।

तिब्र गतिमा गुडेको टिपर, बस, मालवाहक ट्रक, स्कार्पियो लगायतका सवारीले उडाएको धुलोले व्यवसाय चलाउन पनि मुश्किल परेको स्थानीय पसलेले गुनासो गरेका छन ।

स्थानीयको आन्दोलन स्थलमा पुगेका कलैया उपमहानगरपालिकाका मेयर विनोद साहले यो सडक बनाउने काम आफ्नो क्षमता भन्दा बाहिरको कुरा भएको बताए । तर पनि यसलाई छिटोभन्दा छिटो कालोपत्रे गराउन आफु प्रयासरत रहेको उनले बताए ।

‘करीब २२ करोडमा ठेक्का भईसकेको सडक ठेकेदार कम्पनीले समयमा निर्माण नगरीदिएको हो,’ उनले भने, ‘यसको काम छिटोभन्दा छिटो सुरु गरीदिन हुलाकीलाई बारम्वार ताकेदा गर्दा र मन्त्रालय धाउदा पनि सुनुवाई हुन सकेको छैंन ।’

स्थानीयबाट भएको आन्दोलन जायज भएको उनले बताए । सडकमा उडेको धुलो कम गर्न आफु पानी हाल्दाहाल्दै हैरान भएको र ठुलो धनराशी पानीमै हाल्न वाध्य भएको मेयर साहले बताए ।

 

ट्याग्स : , , , ,
यो लेख शेयर गर्नुहोस