बाराको कलैयामा सडक जाम, पीडित उपाध्यायद्वारा आत्मदाहा गर्ने चेतावनी

पवन यादव
पवन यादव पाठक संख्या - 2.2k
3 मि. पढ्न लाग्ने समय

बारा– लामो समय देखी अलपत्र परेको कलैया स्थित सहायक हुलाकी सडकलाई कालोपत्रे बनाउन माग गर्दै स्थानीय बासिन्दाले आईतवार कलैया तीनकुने चोकमा अनिश्चितकालका लागी सडक अवरुद्ध गरेका छन ।

२४ सै घण्टा सडकमा उडेको बाक्लो धुलोले आजित स्थानीयहरुले बिहान साढे ७ बजे देखी सडकमै टेन्ट राखेर, आगो बालेर, ढाठ लगाएर आवतजावत रोकेका छन । उनीहरुले सडकमै धर्नामा बसेर आवतजावत अवरुद्ध गर्दै समस्या समाधान गर्न कलैया उपमहानगरपालिका मेयर, बाराका प्रमुख जिल्ला अधिकारी, हुलाकी सडक योजना कार्यालय बीरगंजका प्रमुख समेतलाई डाकेका छन ।

‘धर्नास्थलमै पुगेर उहाहरुले सडक बनाउन स्थानीयलाई विश्वास दिलाउनु पर्यो,’ आन्दोलनको अगुवाई गरीरहेकम स्थानीय जोगिन्द्र कुशवाहाले भने, ‘उहाहरु नआएसम्म आन्दोलन जारी रहने छ ।’ सडकको निर्माण कार्य सुरु नभएसम्म आफुहरु चुप लागेर आनन्दसंग बस्न नसक्ने उनले बताए ।

उनीहरुसंगै आन्दोलनमा होमिएका अर्का स्थानीय उत्कल ऋषी उपाध्यायले माग सम्बोधन नभए आत्मदाहा गर्ने चेतावनी सार्वजनिक रुपमै दिएका छन ।

करीब ६० वर्षिय उपाध्यायले सडकको धुलोकै कारण आफु बिरामी परेको र अस्पताल धाउदा धाउदै आजित भएको बताए ।
ठुलो संख्यामा स्थानीय युवा तथा समाजका अगुवाहरु सडकमै टेंन्ट राखेर धर्नामा बसेको स्थानीय धिरेन्द्र कुशवाहाले जानकारी दिए ।

सडक खुलाउन आएको प्रहरी टोलीसंग आन्दोलनकारीको केही बेर विवाद नै चलेको स्थानी हरेराम कुशवाहाले बताए । ‘आन्दोलन कारीको माग जायज छ मेयर साहेबले पनि स्वीकार्नु भएको छ,’ उनले भने, ‘मेयरले पनि चाडो भन्दा चाडो सडक बनोस चाहनु भएको छ ।’ तर राज्यको संयन्त्रको कमजोरीले सडक अधुरै रह्न गएको उनको भनाई छ ।

तिब्र गतिमा गुडेको टिपर, बस, मालवाहक ट्रक, स्कार्पियो लगायतका सवारीले उडाएको धुलोले व्यवसाय चलाउन नै मुश्किल परेको स्थानीय पसलेले गुनासो गरेका छन ।

स्थानीयको आन्दोलन स्थलमा पुगेका कलैया उपमहानगरपालिकाका मेयर विनोद साहले यो सडक बनाउने काम आफ्नो क्षमता भन्दा बाहिरको कुरा भएको बताए । तर पनि यसलाई छिटोभन्दा छिटो कालोपत्रे गराउन आफु प्रयासरत रहेको उनले बताए ।

‘करीब २२ करोडमा ठेक्का भईसकेको सडक ठेकेदार कम्पनीले समयमा निर्माण नगरीदिएको हो,’ उनले भने, ‘यसको काम छिटोभन्दा छिटो सुरु गरीदिन हुलाकीलाई बारम्वार ताकेदा गर्दा र मन्त्रालय धाउदा पनि सुनुवाई हुन सकेको छैंन ।’ स्थानीबाट भएको आन्दोलन जायज भएको उनले बताए ।

सडकमा उडेको धुलो कम गर्न आफु पानी हाल्दाहाल्दै हैरान भएको र ठुलो धनराशी पानीमै हाल्न वाध्य भएको मेयर शाहले बताए । सडककै लागी आफुलाई कसैले दाहा दिनु पर्दैन । उनको माग पुरा गराउन र उनको जिवधनको रक्षा गर्न आफु प्रतिवद्ध रहेको मेयर साहले बताए । समाचार तयार पार्दासम्म आन्दोलन जारी रहेको स्थानीयले बताएका छन ।

यो लेख शेयर गर्नुहोस