बारा–आगामी वैशाख १० गते हुने उपनिर्वाचनका लागि बिहिवार उम्मेदवारको अन्तिम नामावली प्रकाशित गरी चुनाव चिह्न वितरण गरिंदै छ ।
निर्वाचन आयोगका अनुसार बिहिवार बिहान ९ बजे देखि १ बजेसम्मका लागि उम्मेदवारी फिर्ता लिन इच्छुकका लागि समय तोकिएको छ । त्यसपछि उम्मेदवारको अन्तिम नामावली प्रकाशित हुनेछ । उम्मेदवारको अन्तिम नामावली प्रकाशित भएपछि आजै चुनाव चिह्न दिइने आयोगले जनाएको छ ।
आज उम्मेदवारले चुनाव चिह्न पाएपछि उपनिर्वाचनको प्रसार प्रसार औपचारिक रुपमा सुरु हुनेछ । २०८० वैशाख १० गते बिहान ७ बजे देखि साँझ ५ बजेसम्म मतदान हुने निर्वाचन तालिका छ ।
तनहुँ–१, बारा–२ र चितवन –२ मा आगामी वैशाख १० गते प्रतिनिधिसभा सदस्यका लागि हुने उपनिर्वाचनका लागि गत सोमबार उम्मेदवारी दर्ता भएको हो ।
गत मंसिर ४ को चुनावमा तनहुँ–१ बाट निर्वाचित रामचन्द्र पौडेल राष्ट्रपति र बारा–२ बाट निर्वाचित रामसहाय प्रसाद यादव उपराष्ट्रपति निर्वाचित भएकोले र चितवन–२ बाट निर्वाचित रवि लामिछाने नागरिकता विवादमा दोषी ठहर हुँदा पदमुक्त भएकाले उपनिर्वाचन गर्न लागिएको हो।