बारा–आफूलाई मधेशका मसीहा भन्नेहरुले मधेशलाई ठग्ने काम मात्र गरेको नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले आरोप लगाएका छन ।
बाराको महागढीमाई नगरपालिका १ स्थित गढीमाई मन्दिर नजिकै बुधवार आयोजना गरिएको पार्टीको क्षेत्रिय भेलालाई सम्बोधन गर्दै उनले आफूलाई मधेशको मसीहा भन्ने उपेन्द्र यादवले मधेश र मधेशी जनतालाई ठग्ने काम मात्र गरेको बताए ।
पटक पटक सरकारमा गए पनि मधेश र मधेशीको लागि केही नगरेको र अहिले पनि मधेशमा आएर चुनाव जित्ने खोक्रो मधेशवादको नारा लिएर मधेशीहरुलाई झुक्याउन आएको उनले जानकारी दिए ।
विगत लामो समय देखि मोरंग, सुनसरी, सप्तरी लगायतको ठाउँबाट निर्वाचित भएका यादव मधेश र मधेशी जनताको लागि केही गरेका छैनन्,उनले भने,‘जसको कारण मोरंग, सुनसरी, सप्तरीका जनताहरुले उनलाई लखेटे । फेरि पनि मधेशी जनताहरुलाई झुक्याउन, उनी दलिय ठगबन्धनको सहारा लिएर बारा जिल्ला आइपुगेका छन् ।
तर अब मधेशी जनताले उनको भनाई र गराईको बारेमा बुझिसकेका छन् । यसपालीको उपचुनावमा बाराली जनताहरुले समेत उनलाई बाराबाट लखेटनेमा आफू विश्वस्त रहेको उनले जानकारी दिए ।
जातिय राजनितिले देश अगाडी बढन नसक्ने एमाले अध्यक्ष ओलीको भनाई छ । नेकपा एमाले राष्ट्रिय शक्ति निर्माण गर्ने अभियानमा लागेको उनले भने‘ देश बलियो बनाउने पार्टी एमाले मात्र भएको जानकारी दिए ।’ लडाकुको नाममा अर्वौ भ्रष्टाचार गरेको प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले अहिले राहतको नाममा माओवादी कार्यकर्तालाई पैसा बाँडेर देशको ढुकुटी रित्याउने काममा लागेको उनले आरोप लगाए ।
द्वन्द पिडितलाई राहत दिने निर्णय सरकारले गरेको छ,उनले भने,‘जुन विशुद्ध वास्तविक पिडित जनताको लागि नभई माओवादी कार्यकर्तालाई रकम दिने षडयन्त्र हो ।’ सतारुढ दलहरु लोकतन्त्र सिध्याउने षडयन्त्रमा लागेकोका छन् । न्यायालयलाई समेत अनावश्यक मुद्दामा अल्झाएर काम गर्न नदिएको आरोप ओलीले लगाए ।’