काठमाण्डौं– नेपाल आयल निगमले घटाएको इन्धनको नयाँ मूल्य मंगलवार देखी लागू भएको छ । आयल निगम सञ्चालक समितिको सोमवार बसेको बैठकले डिजेल, मट्टीतेल र हवाई इन्धनको मूल्य प्रतिलिटर १०/१० रुपैयाँको दरले घटाएको थियो ।
यसैगरी पेट्रोलको मूल्य प्रतिलिटर ३ रुपैयाँले घटाइएको छ । खाना पकाउने ग्याँसको मूल्य भने हाललाई यथावत् राखिएको छ । मूल्य समायोजन पछि अब डिजेल र मट्टीतेलको नयाँ खुद्रा मूल्य प्रतिलिटर १ सय ६५ रुपैयाँ कायम भएको छ । यसअघि डिजेल र मट्टीतेलको खुद्रा मूल्य १ सय ७५ रुपैयाँ प्रतिलिटर थियो ।
यस्तै पेट्रोलको मूल्य लिटरमा ३ रुपैयाँले घटेपछि नयाँ मूल्य १ सय ७५ रुपैयाँ प्रतिलिटर कायम भएको छ । हवाई इन्धन आन्तरिक तर्फ १ सय ६० रुपैयाँ प्रतिलिटर र बाह्यतर्फ डलर १ दशमलव ३५० प्रतिकिलोलिटर कायम भएको आयल निगमले जनाएको छ । खाना पकाउने ग्याँसको मूल्य भने प्रति सिलिण्डर १ हजार ८ सय रुपैयाँमै यथावत् राखिएको छ ।