बारा, २५ भदौं– नगर क्षेत्रको सुख, शान्ती तथा सम्वृद्धीको कामना गर्दै बाराको उत्तर झिटकैयामा बिहिवार देखी गणेश पुजा सुरु भएको छ । स्थानीय वासिन्दा तथा चन्दादाताको सहयोगमा सुरु भएको गणेश पुजाको ७ जना अतिथीले सात वटा रिबन काटेर उदघाटन गरेका थिए ।
कलैया उपमहानगरपालिका १६ का वडाध्यक्ष शेषनाथ प्रसाद साह, वडासदस्य ओमप्रकाश यादव, समाजसेवी हृदयनारायण प्रसाद यादव, शिवदत्त राउत कुर्मी, बोबम पटेल, प्रेम राम लगायतले संयुक्त रुपमा ७ वटा रिबन काटेर पुजाको उद्घाटन गरेका हुन ।
पुजाको उदघाटन हुनु पुर्व जलयात्रा समेत निकालिएको थियो । स्थानीय रामजानकी मठ परिसरबाट सुरु भएको जलयात्रा मझौलिया, विद्यानगर, श्रीपुर चिनीमिल लगायतको परिक्रमा गर्दै किरकिचहा नदीमा पुगेको थियो ।
धार्मिक विधी अनुसार नदीको पुजाआजा गरी सोही नदीबाट जलभरेर जलयात्रा टोली चिनीमिल, विद्यानगर हुदै पुनः मन्दिर परिसरमा आईपुगेको थियो । जलयात्रामा ५ सय भन्दा बढी महिला, अविवाहित कन्या लगायतको सहभागिता रहेको आयोजक गणेश युवा क्लबका अध्यक्ष विश्राम ठाुकरले बताए । जलयात्रामा सहभागी भएकाहरुलाई सर्वत समेत वितरण गरिएको र दिनभरी उपवास बसेकाहरुको लागी सबुदाना प्रसादको रुपमा वितरण गरिएको उनले बताए ।
नदी सरोवरबाट भरिएको पवित्र जल पुजा स्थलमा राखेर वैदिक विधी अनुसार पुजा सुरु गरिएको गाउका पुरोहित धिरेन्द्र मिश्रले जानकारी दिए । ‘गणेश पुजा गर्दा सुख, शान्ति र सम्वृद्धिसंगै ग्रह शान्ती हुन्छ,’ उनले भने, ‘कर्म गर्दा मानिसबाट जानी अन्जानीमा दोष, पाप हुने गर्दछ ।’ त्यसैको निराकरण र दोषबाट मुक्ती पाउन पुजा अनुष्ठानको आयोजना हुने गरेको उनले बताए ।
विगत पाच वर्ष देखी गाउमा गणेश पुजाको आयोजना हुदै आएको आएको क्लबका उपाध्यक्ष सुदिप पटेलले जानकारी दिए । कोरोना संक्रमणको कारण रोकिएको पुजा यसपाली देखी सुरु गरिएको उनले बताए । पुजा सम्पन्न गर्दा एक पटकमा कम्तीमा डेढ लाख रुपैयाँ सम्म खर्च हुने गरेको उनले बताए ।
पुजाको लागी आर्थिक श्रोत जुटाउन एकै पटक ७ जना अतिथीहरुबाट ७ वटा फित्ता काट्न लगाईएको आयोजक क्लबका बिहारी पटेलले जानकारी दिए । मंगलवार सम्म चल्ने पुजा स्थलमा साझ साँगितिक कार्यक्रमको व्यस्था समेत गरिएको पटेलले जानकारी दिए ।