बारा–नेपाल पत्रकार महासङ्घको ६८औँ स्थापना दिवसका अवसरमा पत्रकार महासंघ बारा शाखाले एक कार्यक्रमको आयोजना गरी दिप प्रज्वलन गरी स्थापना दिवस मनाएको छ ।
नेपाल प्रेस युनियन मधेश प्रदेशका अध्यक्ष सत्य प्रसाद श्रेष्ठको प्रमुख आतिथ्तामा बाराको सदरमुकाम कलैया स्थित भरतचौकमा मैनबत्ती बालेर विहिवार स्थापना दिवस मनाइएको हो ।
स्थापना दिवसलाई सम्बोधन गर्दै प्रेस युनियन मधेश प्रदेशका अध्यक्ष श्रेष्ठले पत्रकार महासंघ सबै पत्रकारहरुको छाता संगठन भएको र यसले सबै पत्रकारको हकहितको लागि आवाज उठाउँदै आएको जानकारी दिए ।
वर्तमान समयमा पत्रकारितामा देखिएको बेतिथिलाई नेपाल पत्रकार महासंघले नियमन गर्नु पर्ने आवश्यकता रहेको उनले बताए । यसैगरी कार्यक्रमलाई सम्बोधन गर्दै पत्रकार महासंघ बारा शाखाका पूर्व उपाध्यक्ष राकेश पाण्डेयले वर्तमान कार्य समिति प्रति असन्तुष्टी जाहेर गरेका थिए । पत्रकार महासंघ जस्तो गरिमामय संगठनको स्थापना दिवसको अवसरमा पनि सबै पत्रकारहरलाई भेला गरी मनाउनु पर्नेमा कसैलाई थाहा जानकारी नै नरहेको उनले बताए ।
पत्रकार पत्रकार बीचको अहिले दुरी बढदै गएको छ, उनले भने,‘यस्ता प्रवृति बढनुमा वर्तमान कार्य समिति नै दोषी देखिएको छ । सबैलाई एक सूत्रमा बाध्न नसक्नु वर्तमान कार्य समितिको असफलताको प्रतिक रहेको उनले बताए। आउँदा दिनमा आफना कमी कमजोरीहरुलाई आत्मसात गर्दै बाराली पत्रकारहरुलाई छाता संगठनको आत्मबोध गराउने गरी काम गर्न सल्लाह दिदै उनले पत्रकार महासंघको स्थापना दिवसको शुभकामना दिएका थिए ।’
यसै गरि नेपाल प्रेस युनियन बाराका अध्यक्ष श्यामबाबु यादव, नेपाल पत्रकार महासंघका सदस्य निमेश तिमल्सिना लगायतकाले पत्रकार महासंघको ६८ औ स्थापना दिवसको अवसरमा शुभकामना मन्तव्य राखेका थिए ।
नेपाल पत्रकार महासंघ बारा शाखाको उपाध्यक्ष रामबाबु मेहताको अध्यक्षतामा सम्पन्न कार्यक्रममा बाराका बरिष्ठ पत्रकार सुजित कुमार अर्याल, पन्नालाल दास, धिरेन्द्र तिवारी, भोलानाथ पौडेल लगायतको सहभागिता रहेको थियो । कार्यक्रमको संचालन पत्रकार महासंघ बारा शाखाका सचिव अनिल कुमार गौरवले गरेका थिए ।