अधिकारको दुरुपयोग गर्दैै कलैयामा सडकको धुलो हटाउन, वारुण यन्त्रद्वारा सडकमा पानी

गढी न्यूज
गढी न्यूज पाठक संख्या - 1.6k
4 मि. पढ्न लाग्ने समय

बारा– जाडो महिना सकिएर अहिले गर्मी सुरु भईसकेको छ । प्रचण्ड घाम र सुख्खा हावाले हरियो घासपात, घरको छानो सबै सुख्खा भएको छ । सुख्खा मौसमकै कारण तराई मधेशको अधिंकाश जिल्लामा दिनहु जताततै आगलागीका घटना सुरु भईसकेको छ । आगलागीका कारण दिनहु घर गोठ सहित अन्नपात, भाडाकुडा, लताकपडा जलेर नष्ठ भईरहेका छन ।

आगलागीमा परेर बालबालिका, वृद्धवृद्धा, चौपाया जलेर घाईते हुने र ज्यान गुमाउने घटना क्रम समेत बढेको प्रहरी तथ्यांकले देखाएको छ । समयमा आगलागी नियन्त्रण गर्न वारुणयन्त्र पुग्न नसक्दा धनजनको क्षति बढ्ने गरेको स्थानीयले गुनासो गरेका छन ।

आगलागी नियन्त्रण २४ सै घण्टा वारुणयन्त्र तयारी अवस्थामा बस्नु पर्छ । आगलागी भएको खबर आउने बित्तिकै एक छिन पनि विलम्ब नगरी तुरुन्तै आगलागी स्थल तर्फ दुरुस्त वारुणयन्त्र सहित आगलागी नियन्त्रक कर्मचारी कुद्नु पर्छ । ईमर्जेन्सी सेवाको रुपमा संचालित वारुणयन्त्रलाई कुनै पनि बहानामा दुरुपयोग गर्न नहुने तर्क बारा नागरिक समाजका अध्यक्ष उमेशलाल दासको छ ।

‘वारुण यन्त्रलाई सडकमा पानी छर्न टेंकर, एम्बुलेन्सलाई यात्रु ओसारपोसार गर्ने कार्यमा दुरुपयोग गर्नु हुदैन,’ उनले भने, ‘यो ईमर्जेन्सी सेवा हो र यसलाई ईमर्जेन्सी सेवाकै रुपमा प्रयोग हुनु पर्दछ ।’ तर अहिले लोकतन्त्रको नाममा अधिकार दुरुपयोग गर्दै ईमर्जेन्सी सेवाका साधनलाई विकास निर्माणको काम र भिआईपीलाई खुश पार्न परिचालन गर्न थालिएको उनले आरोप लगाए ।

कलैया उपमहानगरपालिकाले आगो निभाउन प्रयोग हुने वारुणयन्त्रलाई अधुरो सडकको धुलो हटाउन सडकमा पानी छर्ने काममा प्रयोग गरिएको उनले जानकारी दिए ।

कलैया उपमहानगरपालिकासंग सडकमा पानी हाल्न २/२ वटा ट्यांकर उपलब्ध भएपनि त्यस कामको लागी वारुणयन्त्रको दुरुपयोग भएको उनको भनाई छ ।

राजनीतिक खिचातानीका कारण अधुरो रह्न गएको मटिअर्वा–मानमत सडक खण्ड अन्र्तगत कलैया उपमहानगरपालिका भित्रको करीब ३ किलोमिटर सडक अझै कच्ची नै छ । ठेकेदारले अधुरै छाडेर हिडेपछि अहिले सम्म उक्त सडकलाई कालोपत्रे गर्न सकिएको छैन । सडक कालोपत्रे नहुदा उक्त सडक वरीपरीका घर परिवार, सडकमा यात्रा गर्ने यात्रु सबैले धुलोको कारण सास्ती खेप्नु परेको कलैया उपमहानगरपालिका १ निवासी हरेराम कुशवाहाले गुनासो गरे ।

‘सडकमा उडेको धुलो व्यवस्थापन गर्ने मुख्य जिम्मेवारी कलैया उपमहानगरपालिकाकै हो,’ उनले भने, ‘सडकको धुलो हटाउन पानी छर्नु पर्छ ।’ यसले स्थानीयलाई धुलोबाट राहत मिलेको छ । तर सडकको धुलो हटाउन पानी छर्ने टेंङ्करको प्रयोग गर्नु पर्छ । वारुण यन्त्रलाई पानी छर्ने कार्यमा लगाउनु गलत भएको उनले बताए ।

पानी हाली रहेकै बेला पालिका भित्र कही आगलागी भयो भने त्यसलाई नियन्त्रण गर्न वारुणयन्त्र समयमा पुग्न ढिलो हुने र धनजनको क्षति बढ्न सक्ने सम्भावना बढी रहेको कलैया उपमहानगरपालिका ३ का जोगिन्द्र कुशवाहाले बताए ।

यस उपरान्त सडकमा पानी हाल्ने काममा वारुणयन्त्रलाई प्रयोग नगर्न पालिकाका कर्मचारी तथा निर्वाचित जनप्रतिनिधीलाई समयमै सचिन उनले आग्रह गरे ।

सडकमा पानी छर्ने काममा खटिएकै कारण गत साता महेशपुरमा लागेको आगो नियन्त्रण गर्न वारुणयन्त्र समयमा पुग्न नसकेको स्थानीयले गुनासो गरेका छन ।

सडकमा उडेको धुलो कम गर्न जनगुनासो बढेपछि आफुले वाध्य भई दमकलबाटै पानी हाल्न आदेश दिएको कलैया उपमहानगरपालिकाका नगर प्रमुख विनोद साहले प्रतिक्रिया दिए ।

‘सानो दुईवटा ट्यांकी पानी छर्ने काममा प्रयोग गरीरहेका छौं।, तर त्यसले पुरै सडकमा पानी पुर्याउन सकिरहेको छैन,’ उनले भने, ‘सडकमा पानी हाल्न कठिनाई भएको बेला वाध्य भएर दमकलको प्रयोग गर्नु परेको छ ।’ भिआईपीको सवारी नगरमा हुदा सडकको धुलो कम गर्न दमकलको प्रयोग गरिएको नगर प्रमुख साहको भनाई छ ।

सडकमा उडेको धुलोमा पानी छर्न एउटा नयाँ ट्यांङ्कर खरीद गर्ने प्रक्रिया थालीसकिएको र अब पानी छर्ने काममा दमकलको प्रयोग नगरिने उनले आश्वासन समेत दिएका छन ।

 

ट्याग्स : , , ,
यो लेख शेयर गर्नुहोस